अध्यक्ष चौधरीलाई गोली हान्ने धम्की
Advertise Here Book Now
ब्रहमान गोर्छारी स्थित माध्यमिक विद्यालय हनुमाननगरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीलाई प्राथमिक विद्यालय लहान गोठका प्रधानाध्यापक करुण यादवले गोली हान्ने धम्की दिएका छन् । उता, प्रधानाध्यापक यादव लहान गोठ स्थित रहेको आप्mना विद्यालय लहान गोठ प्राथमिक विद्यालयमा समेत अनियमिता गर्दै आएको स्थानीय केदार मल्ल बताउंछन् ।
यता, प्रअ यादबले एनटिसीको ९८५२८३२८८३ नम्बरबाट फोन गरी मंसिर २३ गते साँझ धम्की दिएको अध्यक्ष चौधरीले बताए । पत्रकार सम्मेलन गरी धम्कीबारे जानकारी गराउँदै सुरक्षाको लागि पहल गरिदिन सञ्चारकर्मी र अधिकारकर्मीहरुसँग अध्यक्ष चौधरीले आग्रह गरे । उनले धम्की दिएको अडियो रेकर्ड समेत सुनाए । उक्त रेकर्डमा प्रअ यादबले जिल्ला शिक्षा अधिकारीलाई बेटा (छोरा) भनिएको छ भने अध्यक्ष चौधरीलाई गोली हान्ने धम्की दिएको प्रष्ट आवाज छ ।
धम्की दिनेलाई कारबाही गर्नको लागि इलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्र फुयालले धम्की दिएको अडियो रेकर्ड सिडिमा राखेर उजुरी लिएर आउन भन्नुभयो ।
स्रोतका अनुसार धम्की दिने प्रअ यादबलाई बचाउन शिक्षक संघका अध्यक्ष मनोज यादबले ईप्रका लहानका डिएसपी ज्ञानेन्द्र फुयाँललाई पटक पटक फोन गरी दबाब दिईरहेका छन् । अन्य काँग्रेसका नेताहरुसँग पनि दबाब दिलाउन सक्रिय छन् । सोही कारण उजुरी दर्ता हुन नसकेको स्रोतको दावी छ । अध्यक्ष गणेश चौधरी भदौंमा चुनावबाट निर्वाचित भएका हुन् । अध्यक्ष चौधरी भन्छन् ‘मलाई असफल पार्न शिक्षकहरु नै लागेका छन् । शिक्षाक्षेत्रलाई गुणस्तर बनाउंन लाग्दा यस्तो धम्की दिनु कति उचित हो ?’
विद्यालयमा नियमित पठन–पाठन हुनुपर्ने र हरहिसाव सार्वजनिक गर्न विद्यालयका निमित्त प्रअ नारायणप्रसाद साहलाई पटक पटक आग्रह गरे । तर अहिलेसम्म हरहिसाव सार्वजनिक गरेका छैन् । त्यहाँ कार्यरत शिक्षकहरु विद्यालयमा पढाउन छाडेर लहानस्थि निजी क्याम्पसहरुमा काम गर्छन् । अन्य निजी विद्यालय र क्याम्पसमा काम गर्ने शिक्षकहरु काँग्रेसका भातृ संगठन शिक्षक संघबाट संरक्षण पाइरहेका छन् ।
अध्यक्ष चौधरीका अनुसार यस विद्यालयका शिक्षक फुलेश्वर महतो सुखिपुर क्याम्पस र लहानस्थित सलहेस क्याम्पसमा, शिक्षक रामु यादब लहानस्थित लिट्टिल स्टार हायर सेकेन्ड्री ईंगलिस स्कूलमा, शिक्षक हेमशंकर साह एलएमसी कलेज लहानमा पढाउँछन् भने रामविनय यादब लहानस्थित आफ्नै लोकसेवा आयोगको तयारीका लागि कोचिङ सेन्टर खोलेका छन् ।
उनले विद्यालयमा भवन निर्माण र छात्रबृति वितरणमा व्यापक भ्रष्टाचार गरेको बताए । उनले भने, ‘म अध्यक्षमा निर्वाचित हुंदा यहाँका प्रअ रामऔतार यादब हुनुहुथ्यो । तर उहाँसँग हिसाब माग्दा चोरबाटो भएर शिक्षा कार्यालयमा गई एक महिना अगाडी राजीनामा दिनुभयो ।’
अवकास प्राप्त हुँदा पनि निरन्तर १७ महिनासम्म राज्यको तलब सुविधा प्रअ यादबले लिएको र हिसाव माग्दा राजीनामा दिएको अध्यक्ष चौधरीले बताए । ‘उनले राजीनामा दिएपछि मलाई जानकारी समेत नगराई शिक्षक नारायणप्रसाद साहलाई निमित्तको जिम्मा दिनुभयो’, अध्यक्ष चौधरीले भने, ‘अहिलेका निमित्त प्रअ साह समेत वास्तै नगरी आफ्नै मनपरी गर्ने गरेको र धम्की दिन लगाउनुभयो ।’
यसैबीच, लहान ९ स्थित रहेको लहानगोठ प्राथमिक विद्यालयमा शौचालय निर्माणको लागि शिक्षा कार्यालयबाट आएको २ लाख रुपैयां प्रअ करुण यादवले खल्तीमा हालेर पूरानो चर्पीको मर्मत गरेको स्थानीयवासीको गुनासो रहेको छ । सो रकम २ बर्ष आगाडि नै आएको थियो ।
लहानगोठ प्रथमिक विद्यालयकै वाउण्ड्री वालको लागि ८ लाख लहान नगरपालिका र १ लाख ६० हजार उपभोक्ताले लगाउनुपर्नेमा प्रअ यादवले त्यसबाट ६० हजार आफ्नो खल्ती तताएको खुलासा भएको छ । सो वाउन्ड्री वाल एक बर्षमै भत्किएको छ । सोही विद्यालय मर्मतको लागि आएको २ लाख ५० हजर रुपैयां समान्य काम गरेको देखाएर अनियमिता गरेको स्थानीय देवेन्द्र साह बताउंछन् । प्रअ यादवले हालसम्म समाजिक लेखा परीक्षण गराउंन नसकेको अवस्था रहेको छ भने ३ बर्षदेखि व्यवस्थापन समिति गठन नगरि मनपरी गरिरहेको स्थानीय अभिभावकहरुको गुनासो रहेको छ । प्रअ यादवले पोखरीको ठेक्काको रकममा समेत अनियमिता गरेको छ ।
प्रअ करुण यादव विरुद्ध नागरिक समाज तथा अभिभावकहरुले कारवाहीको लागि शिक्षा कार्यालय सिरहा, अख्तियार आयोग, शिक्षा मन्त्रालय, क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटटा र जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएपनि प्रअ यादव हालसम्म खुल्ला रुपमा गोली मार्ने धम्की दिंदै हिडेका छन् ।