प्रधानमन्त्रीको गुनासो, धर्मनिरपेक्ष भएको मलाई पत्तै भएन
Advertise Here Book Now

sushil koirala
  • मुलुकमा धर्मनिरपेक्षता कायम भएको विषयमा मलाई पत्तै थिएन, गिरिजाबाबुलाई समेत विस्तृत जानकारी थिएन
  • धार्मिक स्वतन्त्रताका पक्षमा हामी थियौँ, धर्मनिरपेक्षताले कसरी प्रवेश पायो, हामीले पनि बुझ्न सकेनौँ

काठमाडौं, २९ मंसिर
प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा धर्मनिरपेक्षता कायम भएको विषयमा आफूलाई पत्तै नभएको बताएका छन् । उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत धर्मनिरपेक्षताका विषयमा विस्तृत जानकारी नभएको दाबी गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डल नेपाललाई धर्मनिरपेक्ष होइन, हिन्दू राष्ट्र कायम गर्न माग गर्दै आइतबार बालुवाटार पुगेको थियो । प्रतिनिधिमण्डलका सदस्य तथा राप्रपा नेपालका नेता मोहन श्रेष्ठका अनुसार प्रधानमन्त्रीले भने, ‘हामी धार्मिक स्वतन्त्रताका पक्षपाति थियौँ र छौँ, गिरिजाबाबुको पनि कुरा त्यही थियो, धार्मिक स्वतन्त्रताका पक्षमा हामी थियौँ, धर्मनिरपेक्षताले कसरी प्रवेश पायो, हामीले पनि बुझ्न सकेनौँ ।’
प्रधानमन्त्री कोइरालाले धर्म परिवर्तनका पक्षमा बेलायती राजदूत एन्ड्रयु स्पार्कले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारले उनीसँग स्पष्टीकरण लिने जानकारी दिए । श्रेष्ठका अनुसार प्रधानमन्त्रीको भनाइ थियो, ‘मुलुकलाई धार्मिक, जातीय, साम्प्रदायिक द्वन्द्वमा पारेर अफगानिस्तान बनाउनबाट हामी सबैले रोक्नुपर्छ । सरकार यसमा प्रतिबद्ध छ ।’
प्रधानमन्त्री कोइरालाले २७ पुसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वीजयन्ती मनाउन र सार्वजनिक बिदा दिन सरकारलाई कुनै अप्ठेरो नभएको बताए । तर, सत्ता गठबन्धन एमालेसँग छलफल गरेर आवश्यक निर्णय दिने उनको भनाइ थियो । नेता श्रेष्ठका अनुसार प्रधानमन्त्रीले भने, ‘यहाँ अनेकथरी दिवस मनाइएको छ, बिदा दिइएको छ । राष्ट्र एकीकरण भएको उपलक्ष्यमा सरकारी बिदा दिन कुनै अप्ठेरो छैन । म पनि पृथ्वीजयन्तीमा बिदा दिनुपर्छ भन्ने पक्षमा छु ।’
प्रधानमन्त्री कोइरालाले मुलुकै गम्भीर मोडमा रहेकाले सकेसम्म सहमतिबाटै संविधान निर्माण गर्ने, सहमतिका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने, नभए विधि र प्रक्रियाबाट भए पनि ८ माघभित्र संविधान जारी गर्न आफू प्रतिबद्ध रहेको बताए ।
राप्रपा नेपालले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन, सो दिन सार्वजनिक बिदा दिन र नेपाली नोटमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीको तस्बिरअंकित गर्ने व्यवस्थाको माग राख्दै ज्ञापनपत्र बुझाएको हो । प्रतिनिधिमण्डलमा राप्रपा नेपालका अध्यक्ष थापा, उपाध्यक्षद्वय टंक ढकाल, निरञ्जन थापा, महामन्त्री चन्द्रबहादुर गुरुङ र सहप्रवक्ता मोहन श्रेष्ठ सहभागी थिए ।
-नयाँ पत्रिका

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्