विद्यार्थीलाई आन्दोलन गर्न उकास्ने शिक्षकलाई प्रहरीको हप्की
Advertise Here Book Now

सिरहा, १ पुस । तीन शिक्षक विरुद्ध किटानी जाहेरी दर्ता भएपछि सिरहाको एक विद्यालयमा राजनीति सुरु भएको छ ।
गोली ठोक्ने धम्की दिएको प्रमाणसहित ब्रम्हान गोछारी–६ स्थित ब्रम्हान गोछारी माध्यमिक विद्यालयका अध्यक्ष गणेश चौधरीले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दर्ता गराएपछि त्यहाँ चर्को राजनीति सुरु भएको हो ।
अध्यक्ष चौधरीले लहान ९ स्थित प्राथमिक विद्यालयका प्रअ करुण यादब, ब्रम्हान गोछारी माविका प्रअ नारायण साह र सोही विद्यालयका एक शिक्षक विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । जाहेरी दर्ता भएपछि पक्राउ पर्ने डरले तीनै शिक्षक फरार छन् । अन्य शिक्षकहरु भने विद्यार्थीलाई उक्साएर राजनीति सुरु गरेका हुन् ।
उजुरी दर्ता भएको विरुद्धमा शिक्षकहरुले उक्त विद्यालय नै मंगलबारदेखि अनिश्चित कालका लागि बन्द गरेका छन् । यता उक्त विद्यालयका शिक्षकहरु विद्यार्थीहरुलाई लहान ल्याएर ईलाका प्रहरी कार्यालय लहान अगाडी जुलुस प्रदर्शन गर्न लगाएका छन् ।
शिक्षक माथिलगाएको मुद्दा फिर्ता लिनुपर्ने भन्दै चर्का नारा लगाएका विद्यार्थीहरुले भने आफूलाई कुट्ने धम्की दिएर नारा जुलुस लगाउन ल्याएको बताएका छन् । पढ्न लगेको पुस्तक र साइकल शिक्षकहरुले कोठामा राख्न लगाएर जर्वजस्ती जुलुसमा सहभागी गराएको ती विद्यार्थीले बताएका छन् ।
जुलुसमा सहभागी ब्रम्हान गोछारी मावि कक्षा ८ मा अध्ययनरत रोषण यादबले शिक्षक रामु यादबले धम्की दिएर जुलुसमा सहभागी गराएको बताए । उनले भने,‘मलाई रामु सरले जुलस लगाउदै लहान जानुपर्छ भन्नुभयो । म घर जान्छु भनेपछि लाठी देखाउँदै साइकल र पुस्तक खोसेर जर्वजस्ती लहान जुलुसमा ल्याउनुभयो ।’
अर्का विद्यार्थी कक्षा ९ मा अध्ययनरत देवेन्द्र यादबले पनि शिक्षक रामु यादबले नै जर्वजस्ती नारा जुलुसमा सहभागी गराएको बताए । उनले भने,‘हामीलाई पढाई चाहियो अरु केहि होइन् ।’
ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले विद्यार्थी लिएर नारा जुलुस लगाउन आएका शिक्षकहरुलाई विद्यार्थीबाट जुलुस निकालेर ठिक नगरेको बताएका छन् । ‘तपाईहरु राजनीति गर्न सुरु गर्नुभयो । यो ठिक होइन्,’ शिक्षकहरुलाई बोलाएर निरौलाले भने, ‘बालबालिकाहरुको भविष्यसँग खेलवाड नर्गुस् । अहिले जुलुस लगाउन छाडेर घर पठाउनुस् ।’
विद्यार्थीहरुलाई घर पठाउन भनेपछि शिक्षकहरु पहिले बार्ता गर्न अडान लिएका थिए । तर प्रहरीले केहि वेर वास्ता नगरेपछि आफै शिक्षकहरु विद्यार्थीहरुलाई घर पठाए । त्यसपछि शिक्षकहरु ईप्रका लहानका डिएसपी ज्ञानेन्द्र फुयाँलसँग छलफल गर्न कार्यकक्षतिर लागे । चन्देश्वर यादब, रेशमलाल साह, रामु यादब, हेमशंकर साह, रामविनय यादब लगायतका शिक्षकहरु विद्यार्थीलाई उक्साएर जुलुस गर्न लगाएका थिए ।
ब्रम्हान गोर्छारी माविका अध्यक्ष गणेश चौधरीले शिक्षकहरु विद्यालय बन्द गरी विद्यार्थीलाई हतियार बनाएको प्रति चिन्ता व्यक्त गरे । उनले भने ‘विद्यालय बन्द गरेर राजनीति गर्न सुरु गरेका शिक्षकहरुलाई पनि सम्बन्धित निकायले कारबाही गर्नुपर्छ । विद्यार्थीहरुलाई जुलुस गर्न लगाएर कानूनलाई शिक्षकहरुले हातमा लिएको छ ।’
धम्की घटनामा मुछिएका तीनै जना शिक्षक नेपाली काँग्रेसको भातृ संगठन शिक्षक संघसँग आवद्ध छन् । उनीहरु सुरुमा संघका अध्यक्ष मनोज यादबलाई लगाएर प्रहरीमा उजुरी दर्ता नगर्न दबाब दिन लगाए । तर उजुरी दर्ता भएपछि अब विद्यालय व्यवस्थापन समिति नै डिजोल्व गराउने प्रयासमा लागेका छन् ।
विद्यार्थीहरु यसरी सडकमा नारा जुलुस लगाई रहँदा शिक्षामन्त्री चित्रलेखा यादव लहानस्थित मारबाडी सेवा सद्नमा कार्यक्रममा व्यस्थ थिईन् । उनी लहानको कार्यक्रम सकेर सिरहा सदरमुकाम पुगेकी छन् । त्यहाँ शिक्षक संघसँग आवद्ध शिक्षकहरुसँग छलफल गर्ने पनि कार्यक्रम छ । बुधबारदेखि जिल्लाभरका विद्यालय बन्द गराउने शिक्षक संघले चेतावनी समेत दिएका छन् ।