उपेन्द्र यादव भन्छन्- ओली नवधनाढ्यका प्रतिनिधि हुन् (भिडियोसहित)
Advertise Here Book Now

'हेर्नुभएन छविलालले एमाले कार्यालयमा आत्महत्या गरेको ?' 
१३ माघ, काठमाडौं । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओली नवधनाढ्य वर्गको प्रतिनिधि भएको बताएका छन् ।
केपी ओलीले मधेसी नेताहरुलाई जमिन्दार र सामन्तको प्रतिनिधि भनेकोप्रति टिप्पणी गर्दै यादवले  ‘टिट फर ट्याट’ शैलीमा भने- ‘एमालेलाई मानिसहरुले अहिले कम्युनिष्ट पनि भन्दैनन्, कमाउनिष्ट भन्छन् । मजदुर वर्ग, क्रान्तिकारी कम्युनिष्टहरु त विचरा एमाले कार्यालयमा हेर्नुभएन छविलाल राजबंशी झुण्डिएर मरेको ?’
फोरम अध्यक्ष यादवले ओलीका आरोपहरुको खण्डन यसरी गरे
Upendra yadav
केपी ओली के भन्छन् भने समथर भूभाग देख्नै हुँदैन मधेस बनाउनुपर्‍यो भन्छन्, त्यसलाई के जवाफ  दिनुहुन्छ ?
– समथर भूभाग मधेसमै छ नि । पहाडमा त छैन । पहाडको समथर भूभाग केपी ओलीलाई, मधेसको समथर भूभाग मधेसीलाई । उसको भूमी हो नि ।
मधेसमा उत्पीडित गरिब मानिसहरु छन् । एमाले त्यसको पक्षमा, तपाईहरु जमिन्दार रे, सामन्तको प्रतिनिधि …
- एमालेलाई मानिसहरुले अहिले कम्युनिष्ट पनि भन्दैनन्, कमाउनिष्ट भन्छन् । अहिले नवधनाढ्य वर्गका रुपमा कम्युनिष्ट आएका छन् । मजदुर वर्ग, क्रान्तिकारी कम्युनिष्टहरु त विचरा एमाले कार्यालयमा हेर्नुभएन छविलाल राजबंशी झुण्डिएर मरेको ? जसले एमालेका लागि १३ वर्ष जेल बसे । त्यहाँ भनेको सर्वहारा वर्गको सोच पनि सकिइसक्यो । अब नवधनाढ्य पार्टीको रुपमा एमाले छ ।
अर्काे कुरा के भने मधेस भनेको जब गोरखा साम्राज्य भयो, त्यसबेलादेखि उपनिवेश भएको ठाउँ हो । औपनिवेशीकरणबाट मुक्ति अघि बढ्ने हो । त्यससँग शोषित उत्पीडित जनताको मुक्ति पनि गाँसिएको छ र त्यो कार्य त्यहाँकै जनता गर्छन् ।
केपी ओलीजीहरु त झापामा राजबंशी, गनगाइँ सन्थाल, धिमालहरु कहाँ गए भनेर भन्नुभएको छ उहाँले ? जसलाई उहाँले विस्थापित गर्नुभएको छ । त्यही सुरुङ्गामा सन्थालहरु थिए । उनीहरु विस्थापित भएर कोही भारतको कोचविहारमा, कोही नागपुरमा पुर्‍याइएको छ । अब बाँकीहरुलाई विस्थापित गर्ने चाल कुनै सर्वहारा वर्गको नीति होइन ।
ओलीजीले अहिले त वर्गीय कुरा गर्न थाल्नुभएको छ त ?
- उहाँ कुन वर्गको प्रतिनिधित्व गर्नुहुन्छ ? पहिलो कुरा त्यो हो । उहाँले प्रतिनिधित्व गरेको वर्ग भनेको नवधनाढ्य हो । एमाले लामो समयसम्म सत्तामा रहृयो । एउटा यस्तो कार्यक्रम बताउनुस्, जो मजदुर, दलित वर्गको हितमा होस् । महिला, कर्णाली जस्ता दुर्गम क्षेत्रको हितमा होस् । कहिल्यै लागू गरेको छ ? छैन ।
उहाँहरुले बनाएको कार्यक्रमबाट तस्करहरु, माफियाहरु र नवधनाढ्य वर्गले फाइदा लिएको छ ।

अर्को आरोप के छ भने मधेसमा जनता शीतलहरबाट पीडित छन् । तपाईहरु जातको कुरा गर्नुहुन्छ । गरिबले खान पाएन भन्छन्, तपाईहरु जातको कुरा गर भन्नुहुन्छ ….
 
– ठीक भन्नुभो उहाँले । राज्यसत्ता उहाँहरुको हातमा छ । साधन स्रोत, शक्ति, संस्था सबै उहाँहरुको कब्जामा छ । उहाँहरु मधेसमा एक थान कम्बल लिएर पुगेको भए पनि हुन्थ्यो नि । राज्यले खै साधन स्रोत परिचालन गरेको ?
तपाईहरुले पनि गर्नु भएन नि ?
- हामीसँग साधन स्रोत केही छैन । हामीसँग विचार बाहेक के छ र ? विपक्षीले के लिएर जाने ? तर, पनि हामीले आफ्नो ठाउँबाट सक्दो प्रयास गरेका छौं । तर, राज्य विभेदकारी भएकाले शीतलहरमा होस् वा बाढीमा, मधेसमा राज्यको उपस्थिति हुँदैन ।
अँ, जब किसानहरु खेती गर्नका लागि अलिकति  मलखाद देशमा नपाएपछि पारि पटि्टबाट ल्याउँछन्, तिनीहरुमाथि गोली चलाउनचाहिँ राज्य उपस्थित हुन्छन् ।
अहिले सप्तरीमा एमालेलाई जिस्काइयो रे । राँटो नराखी तह लगाउँछु भन्नुभएको छ नि….
– हेर्नुस् । यस्ता तह लगाउनेहरु कति गए, कति आए । यस्ता बकवासकर्ता, उटपट्याङ मान्छेहरु कति आए, कति गए । सप्तरीलाई तह लगाउन सक्ने तागत नेपालसँग छैन ।
त्यहाँ के भएको ?
- सप्तरीका जनताले अधिकार खोजेको हो । केही लठैतहरुलाई प्रयोग गर्दा जनताले जवाफ दिएका हुन् ।
तपाईहरुले पनि विपक्षीलाई, एमालेलाई, पेल्न खोज्नुभो रे । एमालेको कार्यालयमा आगो त राम्रो होइन नि ?
- सत्ता पक्षलाई विपक्षीले पेल्न सक्छ ? जोसँग सेना छ, पुलिस छ, ठूलो धनराशी छ । विपक्षीले त अधिकार खोज्ने हो ।
एमालेको कार्यालय नै जलाउन त भएन नि ?
- एमालेको कार्यालय हामीले जलाएको होइन, जसले जलाए त्यो गलत कार्य भो ।
                                                                                                                      -Onlinekhabar

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्