छिन्नमस्ता भगवती
Advertise Here Book Now

देवस्थलकै नाममा रहेको छिन्नमस्ता गाविसमा अवस्थित सखडेश्वरी भगवतीलाई छिन्नमस्ता भगवती भनेर पनि पूजाआजा गर्ने गरिन्छ। मन्दिरमा स्थापित भगवतीको मस्तक अर्थात् शिर नभएकै कारण छिन्नमस्ता तथा छिन्नमस्तीका भगवती भनेर सम्बोधन गर्ने गरेको भन्ने मान्यता छ। सखडेश्वरी भगवती मन्दिर स्थापनाको तिथिको ठोस आधार
भेटिएको छैन। यद्यपि मन्दिर निर्माण पुनर्निर्माण हुँदै आएको देखिन्छ। ऐतिहासिक स्रोत एवं प्रमाणका आधारमा सखडेश्वरी छिन्नमस्ता भगवतीको स्थापना सिम्रौनगढका कर्णाटवंशी राजा शक्रसिंहले गरेको इतिहासकार प्रा. हरिकान्तलाल
दासको कृति 'सप्तरीको राजनीतिक इतिहास तथा प्रमुख धार्मिकस्थलहरू'मा उल्लेख छ। राजा शक्रसिंह आफ्ना छोरा कुमार
हरिसिंहदेवलाई राजकाजको सम्पूर्ण जिम्मा दिएर शेष जीवन बिताउन सप्तरीको सखडा क्षेत्र आए। त्यही समयमा राजा शक्रसिंहलाई भगवतीले सपनामा दर्शन दिएकी थिइन्। 'तिमी जहाँ बसिरहेका छौ, त्रिशूल गाडिएको भेटिने छ र त्यसैको छेउछाउमा मूर्ति पाउनेछौ। मूर्तिको पूजा गरेर बस्, तिमीलाई राम्रो हुनेछ', भगवतीले राजालाई सपना भनिन्। भगवतीको निर्देशनअनुसार राजा शक्रसिंहले हालको जलकुण्डको किनारमा मूर्तिहरू भेटेको किंवदन्ती सुन्न पाइन्छ। शक्र सिंहले
यस क्षेत्रमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थाले। उनले आफ्नो बाँकी जीवन भक्तिभावमै बिताएका थिए।
एघारौंशताब्दीको अन्त्यतिर भारतमा मुसलमानहरूको प्रवेश भइसकेको थियो। दिल्ली कब्जा गरेपछि हिन्दु
राज्यको अन्त्य र मुसलमानी शासनको बोलवाला बढ्दै गएको थियो। नेपाल पनि मुसलमानी आक्रमणबाट अछूतो रहन
सकेन। दिल्लीका गयासुद्दिन तुगलक र बंगालको नवाव सम्सुदिनले नेपालमा आक्रमण गरेका थिए। गयासुद्दिन
आक्रमणका क्रममा सप्तकोसी नदीको किनारको बाटो हुँदै सखडा क्षेत्र (वर्तमान छिन्नमस्ता गाविस) शक्रसिंहमाथि आक्रमण गरेका थिए। मन्दिर ध्वस्त गर्ने क्रममा मूर्तिसमेत तोडफोड गरेर मन्दिरअगाडिको जलाशयमा फालिदिए। मन्दिरको मूर्ति तोडफोड गरेर मुसलमानी आक्रमणकारी दल अगाडि बढे। सोही क्रममा वर्तमानमा मानराजा गाविसमा रहेका मूर्तिहरू तोडफोड गर्दै सिम्रौनगढ पुगेका थिए भन्ने सो पुस्तकमा उल्लेख गरिएको छ। त्यहाँ पुगेर मन्दिर तथा मूर्तिहरू तोडफोड गरेर आतंक मच्चाएका थिए। यसको प्रमाण वर्तमानमा समेत सिम्रौनगढमा देख्न सकिन्छ। यद्यपि उक्त स्थानलाई सरकारी निकायले
संग्रहालयका रूपमा राखेको छ। शक्रसिंहबाट अपभ्रंश भएर शक्र, सकरा र त्यसपछि सखडा भएको स्थानीयवासीको अनुमान छ। मुसलमानी आक्रमणपछि पुन: सखडा क्षेत्र जंगलमा परिणत भएको अनुमान गरिएको छ। अहिले पनि मन्दिरदेखि पूर्वतिर
घना जंगलको अस्तित्व देखिन्छ। जंगलबाट पञ्चमुखी सर्प निस्किने गरेको स्थानीयवासी बताउँछन्। त्यसैगरी मन्दिरपरिसरमा एक दशकअघिसम्म आँपसहित विभिन्न जातका पुराना तथा जंगली रूखहरू थिए। सखडा क्षेत्रमा मानवबस्ती विस्तारका क्रममा घना जंगल सफा गर्ने क्रममा मन्दिरको अवशेष देखियो। अवशेषलाई स्थानीय बासिन्दाले
संरक्षण गर्न थाले। तत्कालीन सखडामा बिर्तावाल परिवारका च्याखुरी नानी नामकी विधवा बस्दै
आएकी थिइन्। ती विधवा धर्मप्रति अत्यधिक आस्था राख्ने गर्थिन्। भगवती मन्दिरको पोखरी जीर्णोद्धार गर्ने क्रममा पोखरीमा तोडफोड भएको मूर्ति भेटिएको हो। तत्कालीन सेनवंशी राजाहरूले भगवतीको पूजाआजा गर्नका लागि बिर्ता
प्रदान गरेका थिए। शाहवंशीय राजाको उदय भएपछि बिर्ता हरण भयो। १८५० सालमा तात्कलीन राजा राजेन्द्रविक्रम शाहको पालामा पुन: बिर्ता थमौती गरियो। कुल १२ बिघा बिर्ता मन्दिर संरक्षण, संवद्र्धन तथा पूजाआजाका लागि हेमकुमार,
वज्रनाथ र सुरेश तीनै उपाध्याय दाजुभाइलाई दिइएको थियो। भगवती मन्दिर पुनर्निर्माणका क्रममा २०४८ सालमा भारतका तत्कालीन भारतीय रेलमन्त्री ललितनारायण मिश्रले खडेश्वरी भगवतीको महिमाबाट प्रभावित भएर चारैतर्फ बरन्डा भएको शिखर शैलीको मन्दिर निर्माणकार्य सुरु गराए। तत्कालीन भारतीय रेलमन्त्री मिश्रको विषयमा यस्तो प्रसंग छ- उनी विमानबाट गइरहेका थिए। विमान चलिरहेको अवस्थामा चालकले दुर्घटनाको आशंका गरी प्यारासुट लिएर हामफाल्न संकेत गरे। आपत्कालीन अवस्थामा रेलमन्त्री मिश्रले सखडेश्वरी भगवतीको स्मरण गर्न थाले। यस्तो आपत्कालीन अवस्थामा सखडेश्वरी भगवतीको कृपाले विमान सकुशल अवतरण भयो र आफ्नो ज्यान जोगियो भन्ने विश्वास उनमा भयो। दुर्घटनाबाट सकुशल बाँच्न सफल भएलगत्तै उनी सखडा आएर भगवतीको पूजाआजा गरे। भगवतीको महिमाबाट प्रभावित भएर मन्दिर र धर्मशाला निर्माणको काम अगाडि बढाएका थिए। यद्यपि उनको हत्या भएपछि मन्दिर निर्माणले पूर्णता पाउन सकेन। २०४४ सालमा तात्कालीन राजा वीरेन्द्र पूर्वाञ्चल भ्रमणको समयमा सखडेश्वरी भगवती मन्दिर जीर्णोद्धारका लागि पाँच लाख रुपैयाँ प्रदान गरेका थिए। तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओलीको निर्देशनमा पैगोडा शैलीको मन्दिर
निर्माण गरियो। सखडेश्वरीभगवती मन्दिर निर्माण तथा विकासमा सखडा (छिन्नमस्ता) गाविसका तत्कालीन अध्यक्ष सत्यनारायण यादवको उल्लेखनीय योगदान छ। वर्तमानमा मन्दिर रेखदेख तथा संरक्षणका साथै साझा सञ्जाल बनाउन
पिठाधीश महाकान्त ठाकुर र मन्दिर समितिको महत्त्वपूर्ण भूमिका छ। भगवती मन्दिरको संरक्षण संवर्द्धनमा अविनाश प्याकुरेल तथा उनका परिवारजनले पुर्याएको योगदान प्रशंसनीय छ। सखडादेवी मूर्ति सखडेश्वरी मन्दिरमा भगवतीको कालो रङको मूर्ति स्थापित छ। मूल भगवतीको मूर्तिको खुट्टाको तल राँगाको शिर प्रस्ट रूपमा कुँदिएको देख्न सकिन्छ। मूल मूर्तिको दुवैतर्फ अन्य दुईवटा मूर्तिसमेत स्थापित छ। स्थापित मूर्ति भैरवी चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र महिषमर्दिनीका मूर्ति रहेको मन्दिरका महन्थ महाकान्त ठाकुर बताउँछन्। मूल मूर्ति शिरविहीन रहेका कारण पञ्चायतकालमा भगवतीको नाम सखडेश्वरीबाट छिन्नमस्ता नामकरण गरियो। यसैगरी तत्कालीन पञ्चायतका प्रधानपञ्च सत्यनारायण यादवको विशेष पहलमा पञ्चायतको नाम सखडा परिवर्तन गरी छिन्नमस्ता राखियो। मन्दिरमा स्थापित मूर्ति महिषासुर मर्दिनीको मूर्ति रहेको इतिहासकार प्रा. हरिकान्तलाल दासको दाबी छ। उनका अनुसार मिथिलाञ्चलमा माटोको मूर्ति बनाउने
परम्परा रहँदै आएको छ। खासगरी दशमीको समयमा बनाइएको मूर्तिहरूमध्ये भगवतीको मूर्तिको तलको भागमा राँगा (पाडा)
असुरको मूर्तिसमेत बनाइने परम्परा रहँदै आएको छ। सिंह सवार माता भगवती असुर संहार गरिरहेको दृश्यांकित मूर्ति देख्न सकिन्छ। यी तथ्यहरूबाट सखडेश्वरी छिन्नमस्ता भगवतीको स्वरूप महिषमर्दिनी रहेकोमा कुनै शंका छैन। प्रा. दासका अनुसार सप्तरीको तिलाठीनिवासी प्रसिद्ध ज्योतिषी यदुनन्दन मिश्रले १९८४ सालमा भगवती मन्दिरमा घन्ट चढाएका थिए। उक्ता घन्टमा यस प्रकारको श्लोक कुँदिएको छ : जिल्लै सप्तरी प्रगन्ना पकरी मौजे तिलाठी पंडीतजी यदुनन्दन मिश्र तस्य धर्म भार्या जगदम्वा शक्रेश्वरी भगवती महिष मर्दिनी श्री त्यव्रीत यं घंटा सार्पणाम् भैरवी चामरादात् महिष मर्दिनी प्रदाकाली जगदम्बा सरस्वती रक्षन्तु सर्व कालेषु प्रार्थिता यदुनन्द। यसैगरी पृथ्वीनारायण शाह राज्य एकीकरण
गरेपछि सखडेश्वरी छिन्नमस्ता भगवतीको दर्शन एवं पूजाआजा गर्न आएका थिए। बाइसी चौबीसी राज्य एकीकरण
गरेपछि माता भगवतीको महिमाबाट प्रभावित भएर चाँदीको मुकुट चढाएका थिए। त्यसो त तत्कालीन राजा पृथ्वीनारायण
भगवतीको अनन्य भक्त रहेको इतिहासमा उल्लेख गरिएको पाइन्छ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्