माघ ८ मा सहमति, जेठ १५ मा संविधान
Advertise Here Book Now

माघ ८ मा सहमति, जेठ १५ मा संविधानकाठमाडौं । सभामुख सुवास नेम्वाङ असाधारण सक्रियता, युवा सभासद्हरूको दिनदिनैको दबाब र कांग्रेस र एमालेका नेताहरूको दुई तिहाइबाट संविधान ल्याउने जोड जति नै चर्को भए पनि दलहरूले आफैंले वाचा गरेको माघ ८ गतेभित्र संविधान आउने सम्भावना सकिएको छ ।
माघ ८ मा संविधान ल्याउन सकिँदैन भन्नेमा दलका नेताहरू सहमत भए पनि बहुप्रचारित त्यस मितिलाई कसरी कटाउने र मिडियासामु पुगेर के बोल्ने भन्ने कुराले उनीहरूलाई अप्ठेरोमा पारेको छ । त्यसका लागि केही न केही सहमति गर्ने योजनामा उनीहरू रहेका छन् । स्रोतका अनुसार, माघ ८ मा संविधानसभामा पहिलो मस्यौदा तयार गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीमा सभामुख नेम्वाङका साथै एमालेका नेताहरू छन् भने कांग्रेसका रामचन्द्र पौडेललगायतका नेताहरूको पनि त्यही धारणा छ । तर, एमाओवादी र मधेसी नेताहरू भने कुनै पनि हालतमा माघ ८ मा संविधान आउन नदिनेमा छन् । यसो गर्नुको उद्देश्य कुनै पनि हालतमा संविधान नै बनाउन नदिने भन्ने चाहिँ होइन । माघ ८ मा संविधान नबनेमा एमालेले कांग्रेस नेतृत्वको सरकार छोड्छ र चलखेल गर्ने मौका आउँछ भन्ने अपेक्षा उनीहरूको छ । शान्ति प्रक्रियामा आएयता खासै सत्ताबाहिर नबसेका एमाओवादी र मधेसी दलहरूलाई अहिले सत्ताको न्यास्रोले सताइरहेको छ । सरकार परिवर्तनपछि मात्रै संविधान बनाउने योजनामा ती दलहरू छन् ।
उता, एमालेलाई भने छिटो संविधान बनाउनुपरेको छ । माघ ८ मा संविधान बनेको भए ९ गते नै प्रधानमन्त्री भइहाल्ने थिएँ भन्नेझैं गरी अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा माघ ८ मै दुई तिहाइबाट भए पनि संविधान आउँछ, आउँछ भनिरहेका छन् । तर, आन्तरिक रूपमा भने त्यसको केही तयारी छैन । यतिसम्मकि, अध्यक्ष ओली तीन दलका निर्धारित बैठकमा नआउने, आए पनि ढिलो आउने र चाँडै जाने गर्नाले गलत सन्देश गएको विश्लेषण एमालेकै नेताहरूले गरेका छन् ।
स्रोतका अनुसार, मंगलबार बिहान, दिउँसो र साँझ बालुवाटारमा भएको बैठकमा पनि सहमतिका लागि पुरानै कुरा भए पनि माघ ८ सम्ममा कुनै न कुनै सहमतिमा पुग्नेबारेमा छलफल भइरहेको छ । बैठकमा सहभागी एक नेताले भने– ‘बढीमा माघ ८ मा मस्यौदामा सहमति र जेठ १५ मा गणतन्त्र दिवसमा संविधान घोषणा गर्न सकियो भने धन्य हुन्छ ।’ तर, माघ ८ मा मस्यौदा नै बन्नेमा संसद्का अधिकारीहरू विश्वस्त छैनन् । एक स्रोतले भन्यो– ‘बढीमा गत ०६९ जेठ २ गते दलहरूका बीचमा भए जस्तो कुनै राजनीतिक सहमतिमा हस्ताक्षर हुन सक्यो भने पनि उपलब्धि हुन्छ ।’ सभामुख नेम्वाङले राजनीतिक
रूपमा मोटामोटी सहमति भएमा त्यसपछि प्रक्रियाका बारेमा आफूले संविधानसभा ड्राइभ गर्ने जानकारी नेताहरूलाई दिइसक्नुभएको छ ।
सभामुख नेम्वाङले आग्रह गरेको सोमबारको समयसीमामा कुनै प्रगति हुन नसके पनि मंगलबार बिहान संविधानसभासम्बन्धी मन्त्री नरहरि आचार्यले उहाँकै कार्यालयमा गएर दलहरूकै बीचमा सहमति हुने जानकारी दिएका थिए । ‘छलफल चलिरहेको छ, सहमति हुन्छ’– आचार्यको भनाइ थियो– ‘आजको छलफल बढी सकारात्मक छ ।’

Source:Budhabar

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्