मधेसीसँग लागेर प्रचण्ड–बाबुरामले धोका खाँदैछन्
Advertise Here Book Now

baburam-prachandaआखिर हजार बाचा गरे पनि सम्पूर्ण परिवर्तनकारी आन्दोलनकारी शक्तिहरुले माघ ८ गते संविधान दिन्छौं भनेको त्यो बाचा निरर्थक सावित हुने नै भयो । यस्तो बाचा गत निर्वाचनको बेलामा मात्र हैन, त्यस भन्दा चार वर्ष अघि पनि गरिएको थियो । दुई वर्षमा हैन, अर्को दुई वर्षमा हैन अर्को एक वर्षमा पनि पूरा हुन सकेन । यसो गर्दा नेपालको राजनीति ढॉटको निम्तो जस्तै रहेछ भन्ने कुरा लाटा सोझाले पनि बुझे । नेपालको राजनीति पहिले देखि नै ढॉटढुट र छलछाममा चलेको जस्तो लाग्छ । २००७ सालको क्रान्तिमा गरिएका बाचा कवुल खोजेर पढ्न सकिन्छ । जनताले चुनेका प्रतिनिधिले संविधान बनाउने छन् भनेर लेखिएकै हो । १५ सालमा चुनाव त भयो तर संविधानसभाको हैन संसदको भयो । आखिर संविधान आयो– राजाका खल्तीबाट । त्यो खल्तीबाट आएको संविधान पनि खल्ती मै १७ सालमा खोसेर राखियो र निर्दलीय संविधान फेरि राजा कै गोजीबाट आयो ।
२०४५ सालसम्म त्यो संविधान टिक्यो । ४६ सालको आन्दोलन पछि फेरि बहुदलीय संविधान आयो । त्यसलाई पनि राजाप्रदत्त नै भनियो । ०६२–०६३ सालको जनआन्दोलनले त्यो संविधानलाई मात्र बढारेन राजतन्त्रलाई नै बढारिदियो । यसको पृष्ठभूमिमा १० वर्षे जनयुद्ध थियो । राजा ज्ञानेन्द्रले सम्पूर्ण राजनीतिक दलहरुलाई निषेध नगरेको भए यो अवस्था पनि आउने थिएन । अहिले नौ–नौ वर्षसम्म पनि समावेशी लोक गणतान्त्रिक संघीय संविधान दिन सकिएको छैन ।
नेपालका आन्दोलकारी शक्तिहरु किन यति कमजोर भन्ने प्रश्न उठ्छ । सैद्धान्तिक, बैचारिक र अँन्दोलनकारी दृष्टिले नेपालका राजनीतिक शक्तिहरु मिलेर पुरानो व्यवस्था उल्टाउन सक्ने तर नयॉ व्यवस्था किन संस्थागत गर्न सकेनन् ? यो साह्रै महत्वपूर्ण खोजको विषय भएको छ । नेपालमा मुख्यतः दुई राजनीतिक शक्ति छन्– एक प्रजातान्त्रिक शक्ति, त्यसको प्रतिनिधित्व नेपाली कांग्रेस । दोस्रो कम्युनिष्ट शक्ति जसलाई वामपन्थी शक्ति भनिन्छ । प्रजातान्त्रिक शक्ति संसदीय शक्तिमा पूरै रुपान्तरित छ वा विकसित छ । दोस्रो वामपन्थी शक्ति पहिले जनवादी क्रान्तिको कुरा गर्छ पछि सम्झौतामा टुङ्गिन्छ र सम्झौता पूरा गराउन सक्दैन ।
बामपन्थ द्रूत पन्थ हो । यो सर्टकट शैलीबाट शोषितहरुको लक्ष पूरा हुन विलम्ब हुँदैन । यो शनैशनैः वाद जस्तो सुधारवादी बाटो हैन । सुधारवाद मस्तै ढिलो वाद हो । यो हुने खाने हरुले मन पराएको बाटो । यसबाट गरिवलाई थाङ्नामा सुताउन सकिन्छ र अल्मलाउन सकिन्छ । यो लोलोपोतो गरेर आफूले मस्ती गर्ने ठूलाबडाको रक्षा कवच हो । यसैको बिरुद्ध बामपन्थ उभिएको छ । यस द्वीपमा पुरानो भाषामा यसलाई वाममार्ग भनिन्थ्यो । पुरानो धार्मिक विचार अनुसार सनातन धर्ममा तीनवटा ईश्वर छन्– ब्रह्मा, विष्णु, महेश्वर । महेश्वरको (शिव) को अर्को नाम बामदेव पनि हो । राजनीतिमा बामपन्थ यतैबाट सापटी लिइएको हो । बामदेव (शिवलाई) आसुतोष भनिन्छ । यिनी चॉडो खुशी हुन्छन् र चॉडो रिसाउ‘छन् । खुशी भए तुरुन्तै वरदान दिन्छन् रिसाए भने छिटो श्राप दिन्छन् । अर्को शब्दमा छिटो नाश गर्छन् ।
क्रान्तिकारीहरुको भाषामा यिनी क्रान्तिकारी देउता हुन् । पुरानो धार्मिक मान्यता अनुसार ब्रह्माले सृष्टि गर्छन् । विष्णुले पालन गर्छन् । शिवले संहार गर्छन् । उता व्रिटेनको पार्लियामेण्टमा प्रतिपक्षीहरु लेफ्ट (बायॉतिर) साइडमा बस्थे । तिनीहरुलाई लेफ्टिष्ट भनिन्थ्यो– नेपाली भाषामा बामपन्थी । पछि गएर यो शब्दको अलंकरण कम्युनिष्टहरुमा सिउरिन गयो ।
कम्युनिष्टहरु पुरातन विचार मान्दैनन् । पुरातन संस्कारका कडा आलोचक हुन्छन् । पुरानो आध्यात्मिक दर्शन मान्दैनन् । शोषकवर्गको राज्य सत्ता मान्दैनन् । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक यावत जीवनमा परिवर्तन चाहन्छन् । छिटो परिवर्तन चाहन्छन् । उनीहरुको चरित्र सर्वहारा चरित्र हो । सबै तिरबाट हराइएकाले क्रान्तिकारी छलाङ लगाउन खोज्ने र विजेता बन्ने सपना बुन्ने ।
Narayan-Prasad-Sharma
लेखक : प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, जसलाई प्रचण्ड बाबुरामले निकै आदर गर्छन्
मेरो स्वाभावले, मेरो वर्गीय स्थितिले वातावरणले, चेतनाले, संगतले मैले पत्तै नपाई मलाई बामपन्थी बनाएछ । हिंड्दा हिंड्दै त्यही प्यारो लागेछ । त्यतै लहसिएछु । मलाई धार्मिक कट्टरता मन परेन, जातीय संकीर्णता मन परेन । सामन्ती व्यवस्था मन परेन । पूँजीवाद साम्राज्यवाद निको लागेन ।
अध्ययनको क्रममा समाज विकासको क ख पढ्दै गएपछि थाहा पाएँ । आदिम युग जांगलिक जुग रहेछ । हाम्रो भाषामा त्यस युगलाई कुन्दमूल फलाहारी, बल्कल धारी महर्षि मुनिहरुको जुग रहेछ । माक्र्सको भाषामा आदिम साम्यवादी युग । त्यसबेला आजको जस्तो तेरो मेरो भन्ने थिएन । आजका जस्ता गाउ‘ शहर कहॉ पाइनु । शिकार, पशुपालन, खेती धेरै पछिका कुरा हुन् । सुरक्षा, आवास, भोजन सबै दृष्टिले जीवन स्वभावतः सामूहिक थियो । आवश्यकताले अनुभवले सिक्दै जाने क्रममा प्राकृतिक नियम अनुसार जीवन चल्थ्यो । राजा, राज्य, नियम कानून धेरै पछिका कुरा हुन् । जंगली जुग पार हुन हजारौं वर्ष लाग्यो भन्ने अनुमान छ ।
धनुर्धारी, जंगली जाति, छाप्रामा बस्न थाले पछि, पशु पालन र खेतीपाती सिक्न थाले । यसले संग्रह बृत्ति बन्यो । समूह–समूहबीच स्वार्थ बाझ्न थाले । हार्नेहरु दास बनाइए, जित्नेहरु मालिक भए । हार्नेहरु माथि शासन गर्न नियम बन्न लागे । यसरी शासकहरु जन्मे, जेल बने, अड्डा अदालत बने । दासहरु श्रम गर्थे, मालिकहरु रजाइ‘ गर्थे । काम गर्नेहरुमा स्वतः स्फूर्ति घट्दै गयो । ठाउ‘–ठाउ‘मा दास विद्रोह भए । अन्ततः दासहरु मुक्त गरिए । स्वतन्त्र भए । तर आर्थिक दृष्टिले साधनहीन थिए । मालिकहरुमा जमिनमा काम गर्ने यी पुरानाहरु कृषक (किसान) मा फेरिए त्यसैलाई सामन्त युग भनियो । नेपालमा यो परिवर्तनमा पहिलो विद्रोही लखन थापा हुन् । छलाङ लगाउनेहरुलाई पनि वाममार्गी, विद्रोही, क्रान्ति कारी विविध नाम दिइयो । युरोपमा थुप्रै किसान विद्रोह भएका छन् । नेपालमा पनि ७ सालपछि पनि थुप्रै विद्रोहरु भएका छन् । भीमदत्त पन्तको नाम यसमा पहिलो छ । दाङमा पनि यस्तै थुप्रै बिद्रोह भएका छन् । पाल्पा रौतहट आदि जिल्लामा यस्ता विद्रोह भए । जग्गाका मालिक विर्तावार, जमिनदार, मुखिया ठूला–ठूला जग्गाका मालिक, राणा शासक र अन्य अन्यका पोषक बने । सात सालको क्रान्तिपछि नै किसानहरु संघर्षमा खुलेर लागे । त्यसको नेतृत्व वामपन्थी अर्थात् कम्युनिष्टहरुले गरे ।
युरोपमा १६ औं शताब्दीदेखि औद्योगिक क्रान्ति भयो । त्यसले पूँजीवाद जन्मायो । पूँजी पूँजीपतितिर मात्रै पुग्दा त्यहॉ पनि समाजवादी र साम्यवादी चरित्र बोकेकाहरुले नेतृत्व गरे । त्यो पनि बामपन्थ नै थियो । उन्डाइसौं शताब्दीमा फ्रान्सको पेरिस शहरमा मजदुरहरुले केही दिन राज्य गरे । छिट्टै त्यो बामपन्थी विद्रोह असफल भयो । पछि विसौं शताब्दी १९१७ मा अक्टोवर क्रान्ति भयो । त्यसले विश्वमा ७५ वर्षसम्म हलचल ल्यायो । त्यो पनि आन्तरिक र बाह्य दुबै कारणले असफल भयो ।
नेपालमा पनि ४६ सालको जनआन्दोलन बामपन्थी जनबलमा र गणेशमान सिंहको राजनीतिक नेतृत्वमा भयो । तर त्यो सम्झौतामा टुंगियो । तर पनि त्यस बेला देखि अहिलेसम्म नेपालमा बामपन्थकै वर्चस्व छ । निर्वाचनमा देखापरेको मत गणनाले अहिले पनि टड्कारो वामवर्चश्व छ । तर दुःख साथ भन्नुपर्छ यहॉ कुकुरलाई घिउ नपचे जस्तै भएको छ । ठूला–ठूला कुरा गर्ने, सधै आपसमा फुट्ने कम्युनिष्टहरुको चरित्र देखियो ।
त्यस्तै दशवर्षे जनयुद्धको परिणाम पनि भोगिदैछ । समावेशी लोकतान्त्रिक गणतन्त्रले देश र जनताको मुहार हँसिलो पार्न सकेन नै उल्टो संविधान बन्न नसक्दा मुलुक अन्योलग्रस्त छ । माओवादीसहितको सात दलबीच र त्यसपछिका तमाम सम्झौता विपरीत गतिविधि बढिरहेका छन् । यसमा माओवादीहरु पनि केही दोषी छन् । जुटेर समस्या समाधान गर्नु भन्दा आरोप प्रत्यारोपसहित फुटपरस्त नीतिले गर्दा पार्टी विभाजित भए ५/६ टुक्रा बनेर आफैलाई आफै कमजोर पारे ।
प्रथमतः आजसम्मका सम्झौताहरु कति ठीक कति बेठीक भन्ने छँदैछ । दोस्रो सम्झौतामा हेलिइसके पछि यथासम्भव पार लगाउन सक्नुपथ्र्यो । माओवादीहरु फुटेर कसैले अहिलेसम्म केही हासिल गर्न सकेका छैनन् । बरु धेरै कुरा गुमाएका छन् ।
एक मधेश एक प्रदेशको क्षेत्रीयतावादी नारा लगाउनेहरुसँग हिमचिम गरेर प्रचण्ड–बाबुरामले खासै हासिल गर्न सक्ने छैनन् बरु अन्ततः धोखा नै पाउनेछन् । हिमाल र पहाडलाई चेपुवामा पार्ने गरी सोचिएको संघीयताले अन्ततः कसैको हित गर्ने छैन । बरु कम्तिमा पहाड हिमाल तराई सबैको साझा, सबैले समान अवसर पाउनेगरी संघीयताको अवधारणा कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्थ्यो । जनआन्दोलनका अन्य सहयात्रीहरुले पनि बाह्रबुँदे समझदारीदेखि सहयात्रा गर्दै आएको माओवादीलाई यसरी भट्किन दिने तर्फ भन्दा आफैतिर समेट्न बल गर्नुपर्थ्यो ।
जनताको सदाशयता त यस्तै छ । तर यस्तो सदाशयताको मर्म बुझ्ने नेतृत्व पंक्ति छैन । हुन पनि गाह्रो छ । मान्छे पनि एक प्रकारले जनावरै हो । जनावरहरुमा पनि केही स्वभाविक प्राकृतिक गुण हुन्छन् । मान्छेको वनावटी जीवनले त्यो स्वाभाविक गुण पनि हरॉउदै गएको छ । भर्तृ हरिको कविता छ– पीत्वा मोहमयीं प्रमाद मदिराम् उन्मत्त भूतं जगत्
सबैतिर मोहैमोह छ, अज्ञानता नै अज्ञानता छ । एक प्रकारको प्रमादको नसा छ । त्यसैले संसारमा उन्माद छाएको छ ।
(प्रेस काउन्सिलका पूर्वअध्यक्ष शर्मा, प्रचण्ड नेतृत्वको माओवादीको कोटावाट नै नियुक्त हुन पुगेका थिए, उमेरले निकै भए पनि उनी लेखनमा सद्यै सक्रिय छन् ।) साभारः युगबोध राष्ट्रिय दैनिक

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्