जबर्जस्त स्वतन्त्र मधेसको कुरा लाद्ने भनेको होइन
Advertise Here Book Now

जबर्जस्त स्वतन्त्र मधेसको कुरा लाद्ने भनेको होइन

डा. सिके राउत

संयोजक, स्वतन्त्र मधेस गठबन्धन


बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट इन्फर्मेसन इन्जिनियरिङमा पीएचडी गरेका डा. सिके राउत स्वतन्त्र मधेस गठबन्धनका संयोजक छन् । ‘नेपाली औपनिवेशिक’ स्थिति कायम रहे अलग मधेस देश बनाउने विचार प्रवाह गरेका कारण गिरफ्तारी र रिहाइको शृंखलामा उनिएका उनीसँग भोगीराज चाम्लिङले गरेको कुराकानी प्रस्तुत छः

तपाईं इन्जिनियरिङबाट कसरी राजनीतिमा आउनुभयो ?
समाजको अध्ययनबारे ममा पहिलेदेखि नै अभिरुचि थियो । घरमा मधेससम्बन्धी पुस्तकहरुको संकलन पनि थियो । पुस्तक अध्ययनले समाजमा विद्यमान विभेदबारे थाहा पाएँ र राजनीतितिर आकर्षित हुन पुगें ।
कुनै पार्टीको सदस्यता पनि लिनुभएको थियो कि ?
थिएन ।
अब नयाँ पार्टी निर्माण गर्नुहुने होला नि ?
नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा हामी छँदै छैनौं । साढे दुई वर्षअगाडि स्थापना गरिएको स्वतन्त्र मधेस गठबन्धनमार्फत् पहिले पनि हामीले जनचेतना अभियान नै सञ्चालन गरेका थियौं । त्यही क्रममा मान्छेहरु अलि बढी आकर्षित हुन थालेपछि सरकारले गिरफ्तार गर्यो । मोरङमा सन्थाल जातिको कार्यक्रममा सम्बोधन गरेर फर्किने क्रममा म गिरफ्तार भएको थिएँ । 
स्वतन्त्र मधेस आन्दोलनलाई मधेसी र पहाडियाबीचको द्वन्द्वको रुपमा चित्रण गर्ने गरिएको छ । यसमा कति पनि सत्यता छैन ।
तपाईंले राजनीतिक रुपमा स्वतन्त्र मधेसको मुद्दा उठाइरहनुभएको छ । के के कारणले गर्दा मधेस स्वतन्त्र राज्य हुनुपर्ने हो ?
मधेसमा ‘नेपालीहरु’को पूर्ण औपनिवेशिक शासन चलिरहेको छ । यो पनि अति नै क्रुर र भयावह छ । उदाहरणको रुपमा सेनालाई लिने हो भने मधेसमा ९५ प्रतिशतभन्दा बढी सेना मधेसबाहिरबाट आएका छन् । जबकि भारतमा पनि बेलायतको औपनिवेशिक सेना मुस्किलले ३ देखि १० प्रतिशतमात्र थियो ।
आर्थिक हिसाबले पनि मधेसलाई त्यसरी नै शोषण गरिएको छ । मधेसबाट ७५ प्रतिशतभन्दा बढी राजस्व संकलन हुन्छ । तर, मधेसमा मुस्किलले १० प्रतिशत लगानी हुन्छ । यसप्रकारको औपनिवेशिक शासनबाट मुक्तिको उपाय स्वतन्त्र मधेस मात्र हुनसक्छ । अब अधिकारले मात्र पुग्दैन, स्वतन्त्र मधेसै चाहिन्छ । ck-raut-post
यी कुरा सम्बोधन गर्नकै लागि त संघीयतामा जाँदैछ नि देश ?
संघीयताले केही कुराको आंशिक समाधान देला तर औपनिवेशिक शासकको मूलभूत समस्याको समाधान संघीयताले पनि दिनसक्दैन । संघीयता आउँदैमा सेना त फर्किएर जाँदैन । त्यो शक्ति केन्द्रकै अधीनमा हुन्छ । पहाडबाट मधेसमा आप्रवासन उस्तै चर्को छ । सन् १९५१ मा केवल ६ प्रतिशत पहाडीहरु मधेसमा थिए । सन् २००१ मा आएर त्यो ३३ प्रतिशत पुगेको छ । तीव्र गतिमा हाम्रो भूमि खोसिने यो प्रक्रिया संघीयता हुँदैमा रोकिने होइन । रोजगारकै सवालमा पनि मधेस प्रान्त बन्दैमा मधेसबासीहरुलाई नै जागिर दिइन्छ भन्ने कुनै ग्यारेन्टी हुने होइन । स्रोतसाधनमा पनि मधेसमा खानी फेला पर्यो भने त्यसको नियन्त्रण कसले गर्ने, त्यो पनि मधेसीकै हातमा हुन्छ भन्ने छैन । संघीयता आउँदैमा नागरिकताको समस्या समाधान हुन्छ भन्ने छैन । शासक र शासितको कुरा संघीयताले हल गर्दैन । औपनिवेशिकताको कुरा संघीयताले समाधान गर्दैन ।
स्वतन्त्र मधेसको विचारमात्रै प्रवाह गर्दा त राज्य दमनमा उत्रिन खोज्दैछ भने साँच्चै आन्दोलन उठ्ने स्थिति भयो भने राज्य त चर्को दमनमा उत्रिनेछ । त्यस्तो अवस्थामा हुने क्षति सामना गर्न अथवा त्यस्तो अवस्थाको आँकलन गर्नुभएको छ ?
हामीले अहिंसात्मक मार्ग अनुशरण गरेका छौं । हामीले भन्ने गरेका छौं कि आफ्नो अधिकार माग गर्दा अरुको हनन नहोस् । हाम्रो आन्दोलनमा हिंसाको कुनै गुञ्जायस छैन ।
मैले सोचेको पनि थिइनँ कि म जेलबाट निस्केपछि दशौं हजार मान्छे उत्रिनेछन् । विभिन्न पार्टीमा आबद्ध मान्छेहरु मेरो कुरा सुन्न लालायित हुनेछन्, मलाई यस्तो पनि लागेको थिएन । जनस्तरबाट मलाई निकै सकारात्मक रुपमा लिइएको छ ।
त्यो भनेको स्वतन्त्र मधेसप्रतिको आकर्षण हो कि मधेसमा निर्माण हुँदै गरेको सम्भावित नेतृत्वदायी व्यक्तित्वप्रति आशाको नजरले हेरेको हो ?
व्यक्तिको रुपमा त पहिले पनि थिएँ म । तर, अहिले त म विचार पनि हुँ । त्यसकारण, यो मेरो विचारप्रति नै जनताको आकर्षण हो ।
मधेसकै बौद्धिकहरुले नै स्वतन्त्र मधेसभन्दा पनि सिके राउतको व्यक्तित्वप्रतिको आकर्षण हो भनिरहेका छन् नि ?
काठमाडौं–केन्द्रित बुद्धिजीवीहरुले यस्तो भनेको हुनसक्छ । जनस्तरमा सम्बन्ध नहुने, पत्रपत्रिका पढेर धारणा बनाउने समस्याका कारण उनीहरुले यसो भनेका हुन् । गाउँका मान्छेलाई त पीएचडी भनेको के हो ? क्याम्ब्रिज भनेको के हो ? केही पनि थाहा हुँदैन । अनि कसरी मेरो बौद्धिक व्यक्तित्व देखेर आकर्षित भयो भन्नु ? स्वतन्त्र मधेसको मेरो विचारप्रतिकै जनताको आकर्षण हो । किनभने, आजादी भन्ने कुरा मजदुरलाई पनि थाहा हुन्छ, किसानलाई पनि थाहा हुन्छ । 
मधेसका सशस्त्र समूहसँग हाम्रो सहकार्य हुने प्रश्नै आउँदैन । अरु समूहले स्वतन्त्र मधेस नभनेर संघीयता, स्वशासनका कुरा उठाइरहेका छन् । उनीहरु हाम्रा तीन कुरामा सहमत भए भने सहकार्य हुन सक्छ ।
तर मधेस–केन्द्रित दलहरु नै तपाईंप्रति सकारात्मक देखिएजस्तो लाग्दैन अथवा उनीहरु मौन छन् । किन यस्तो ?
त्यो उनीहरुको असुरक्षाबोध हो । सिके राउत पनि चुनावमा उत्रिएला, पार्टी दर्ता गर्ला भन्ने डर उनीहरुमा देखिएको छ । तर, हामीले उनीहरुलाई भन्ने गरेका छौं कि हामी यो चुनावी प्रक्रियामा सहभागी हुँदैनौं । स्वतन्त्र मधेसको एजेन्डा लिएपछि पार्टी दर्ता गर्ने कुरै छैन । हाम्रो नीति, गतिविधि र कुराबाट पनि यो कुरा प्रस्टै हुन्छ ।
त्यस्तो हो कि संघीय नेपालभित्रै मधेसको समस्या हल गर्न सकिन्छ भन्ने विश्वास हो उनीहरुको ?
होइन, हामीलाई त मधेसकेन्द्रित दलहरुको सांगठनिक र राजनीतिक असुरक्षाबोधकै कारणले हो भन्ने लाग्छ ।
जहाँसम्म संघीयताको कुरा छ, हामीले संघीयताको कतै विरोध गरेका छैनौं । संघीयताविरुद्ध कतै टायर बालेका छैनौं । संघीयता सम्भव गर्नुहुन्छ भने हाम्रो लागि त्यो खुसीकै कुरा हो । तपाईंहरु संघीयता ल्याउनुस् । संघीयता ल्याएपछि त मधेसी जनतालाई थाहा हुन्छ कि संघीयताले पनि समाधान दिनसक्दैन । यस्तो अनुभवले स्वतन्त्र मधेस हुनुपर्छ भन्ने आन्दोलनलाई नै सघाउ पुग्छ । हामी चाहन्छौं कि संघीयता अचुक समाधान होइन भन्ने कुरा आफैले भोगेर थाहा पाऊन् ।
माघ ८ अघि त संविधान जारी हुने स्थिति छैन तर मधेसका जनता सापेक्ष रुपमा अधिकारसम्पन्न हुने स्थिति आयो भने तपाईंहरु के गर्नुहुन्छ ? तपाईंहरुको स्वतन्त्र मधेसको नारा त असान्दर्भिक भएर जान्छ ।
हामीले जबर्जस्त रुपमा स्वतन्त्र मधेसको कुरा अरुमाथि लाद्ने होइन । ठीक छ, मधेसको समस्या समाधान भयो भने स्वतन्त्र मधेसको माग स्वतः असान्दर्भिक भएर जान्छ । यसमा आपत्ति मान्नुपर्ने कुरै छैन । समस्या सम्बोधन भएन भने हाम्रो स्वतन्त्र मधेसको माग झन् बढेर जान्छ ।
तपाईंहरुले स्वतन्त्र मधेस भनेर कति क्षेत्रलाई परिभाषित गर्नुभएको छ ?
मेचीदेखि महाकालीसम्मको चुरिया (चुरे) पर्वतशृंखलासहित दक्षिणको भूभाग मधेस स्वतन्त्र राज्य हुनुपर्छ ।
तपाईंले परिकल्पना गर्नुभएको भौगोलिक सीमाभित्र बस्ने पहाडका मान्छे पहाडतिरै फर्किनुपर्ने हो कि मधेसका अरु जनतासरह नै बाँच्ने हैसियत राख्छन् ?
पहाडीहरु मधेसमा झरेर बसिसकेका कारण मधेसी जनतासरह नै समान अधिकारका लागि योग्य हुनेछन् । यसमा दुईमत हुनुपर्ने कुनै कारण छैन । म यो कुरा पनि भन्न चाहन्छु कि स्वतन्त्र मधेस आन्दोलनलाई मधेसी र पहाडियाबीचको द्वन्द्वको रुपमा चित्रण गर्ने गरिएको छ । यसमा कति पनि सत्यता छैन । हामी पहाडीहरुको विरुद्धमा जाने भनेको होइन, हामीले भनेको त मधेसको भूमिलाई औपनिवेशिक उत्पीडनबाट मुक्त गर्ने हो ।
मधेस स्वतन्त्र हुनासाथ मधेसी जनताले न्याय पाउँछन् भन्ने ग्यारेन्टी के हो ?
मधेसका जनता सार्वभौसत्तासम्पन्न हुनेछन्, सम्पूर्ण अधिकार मधेसी जनताको आफ्नै हातमा हुनेछ, आफ्नो बारेमा आफै निर्णय गर्न सक्नेछन् । योभन्दा अर्को ग्यारेन्टी के हुनसक्छ ?
मधेसमा राजनीति गर्नेहरुले मधेसी दलित र भूमिहीनहरुको सवाल उठाउन चाहेको देखिँदैन । तपाईंहरु पनि त्यस्तै हो कि फरक ?
निर्णय गर्ने अधिकार हामीमा नआएसम्म यस्ता थुप्रै समस्याको समाधान हुँदैन । मधेसमा ठूलो संख्यामा भूमिहीन छन् । पहाडे दलित १५ प्रतिशत मात्र भूमिहीन छन् तर मधेसी दलित ४५ प्रतिशत भूमिहीन छन् । तर भूमि बाँड्ने अधिकार हामी मधेसीससँग छैन, नेपाली शासक वर्गसँग छ जसले गर्दा यो समस्या दिनका दिन झन्झन् भयावह बन्दै गएको छ । निर्णय गर्ने अधिकार हामीसँगै भएको भए यस्तो हुने थिएन । 
त्यो मधेसी दलहरुको असुरक्षाबोध हो । सिके राउत पनि चुनावमा उत्रिएला, पार्टी दर्ता गर्ला भन्ने डर उनीहरुमा देखिएको छ । तर, हामीले उनीहरुलाई भन्ने गरेका छौं कि हामी यो चुनावी प्रक्रियामा सहभागी हुँदैनौं ।
अहिले भूमिहीन मधेसीलाई भूमि देऊ भनेर माग नगर्नुको अर्थ त उनीहरुको दुरवस्थालाई आफ्नो राजनीतिका लागि प्रयोग गरिरहने स्वार्थमात्रै भएन र ?
मधेसमा भूमिअधिकार आन्दोलन उहिलेदेखि चलेको हो । तर, कुरा के भने मधेसीले पाएको नागरिकता खोसिन्छ, मधेसीले पाएको जागिर खोसिन्छ । मधेसीले एक कठ्ठा जमिन पनि पाउला तर कहिले खोसिने हो, कुनै टुंगो हुँदैन । कहिलेसम्म यस्तो सहने ? मधेसमा यति धेरै संघर्ष भइसक्यो तर यी समस्या ज्यूकात्यूँ छन् । अब यसको पूर्ण समाधान गर्न अन्तिम संघर्ष गर्ने हो ।
कुलीनहरुको हातमा मधेसको राजनीति भएकोले भूमिहीनहरुको सवाल नउठाइएको हैन र ?
निश्चय नै हामी भूमिहीनले जमिन पाओस् भन्ने नै चाहन्छौं । उनीहरुले भूमि प्राप्त गर्नु हाम्रो लागि त खुसी कुरा हो । खाद्यान्न संकटको सवाल छ, किसानले बीउबिजन नपाउने समस्या छ । तर, यसको अस्थायी होइन स्थायी समाधान आवश्यक छ । त्यसकारण हामी मधेस स्वराज आन्दोलनमा केन्द्रित हुन चाहेका हौं । जहाँसम्म संसदीय राजनीति गरिरहेका मधेसी पार्टीहरुको कुरा छ, उनीहरुले भूमिहीनहरुको सवाल उठाउनुपर्छ । यसमा हामीबाट हुने मद्दत गर्न तयार छौं ।
मधेसमा सशस्त्र समूह पनि छ, संसदीय राजनीतिभन्दा अलग रहेर क्रियाशील अरु समूहहरु पनि छन् । उनीहरुसँग सहकार्यको छलफल चल्दैछ ?
हाम्रा तीन आधारस्तम्भ छन् । पहिलो, स्वतन्त्र मधेस । दोस्रो, लोकतान्त्रिक व्यवस्था । र तेस्रो हो, शान्तिपूर्ण एवं अहिंसात्मक मार्ग । यी तीन कुरामा सहमतमात्र होइन समर्पित नै हुनु आवश्यक छ । भनेपछि मधेसका सशस्त्र समूहसँग हाम्रो सहकार्य हुने प्रश्नै आउँदैन । अरु समूहले स्वतन्त्र मधेस नभनेर संघीयता, स्वशासनका कुरा उठाइरहेका छन् । उनीहरु हाम्रा तीन कुरामा सहमत भए भने सहकार्य हुन सक्छ ।
मधेस आन्दोलनमा लाग्नका लागि प्रेरक व्यक्तित्व को हुनुहुन्छ ?
धेरै हदसम्म गजेन्द्रबाबु नै हुनुहुन्छ । म उहाँकै क्षेत्रको हुँ । उहाँ मेरो घरमा पनि आउनुहुन्थ्यो । त्यसका अलावा म आमजनताबाट प्रेरित छु । म अमेरिकाबाट फर्किनुपर्ने कारण पनि यही हो । मेची–महाकाली अभियान गरेपछि मैले जे कुरा पाएँ त्यसले म अमेरिकाबाट तुरुन्त फर्किने निर्णयमा पुगें ।
गजेन्द्रनारायणलाई स्मरण गर्ने तर उनीभन्दा अघिका रघुनाथ ठाकुरलाई स्मरण नगर्ने । यो पनि मधेसको राजनीतिमा कुलीन घरानाहरुकै वर्चस्व कायम गर्ने राजनीति हो भन्ने भनाइ छ नि ।
गजेन्द्रबाबु राजनीतिको मैदानमा आउनुभएको कारण उहाँलाई बढी स्मरण गर्नु स्वाभाविकै भयो । तर, हामी रघुनाथजीले गर्नुभएको योगदानको पनि कदर गर्छौं, उहाँले गर्नुभएको अध्ययन–अनुसन्धानको कदर गर्छौं । उहाँले लेख्नुभएको ‘परतन्त्र मधेस और उसकी संस्कृति’ निकै नै प्रेरणादायी किताब हो । तर, उहाँले लेख्नुभएको किताब धेरैको हातमा पुग्न सकेन । अर्को कुरा, उहाँ राजनीतिमा आउनुभएन, धेरै हदसम्म भूमिगत बस्नुभयो । र, भारतमा उहाँको षड्यन्त्रपूर्वक हत्या गरियो भनिन्छ । उहाँको योगदान निश्चय नै ठूलो छ ।
स्वतन्त्र मधेस भनेको मधेसलाई नयाँ सिक्किम बनाउने योजना हो भन्नेहरु पनि छन् । के भन्नुहुन्छ ?
यो आरोपका बारेमा मलाई धेरै थाहा भएन । तर, यो आरोप सरकारले लगाएको हो भने म भन्न चाहन्छु– तपाईंहरुसँग यति ठूलो जासुसी संयन्त्र छ, अनुसन्धान गर्नका लागि अरु देशको पनि सहयोग लिन सक्ने हैसियतमा हुनुहुन्छ । कतैबाट हामीलाई सहयोग भइरहेको छ भने जनतासमक्ष ल्याइदिनुस् । र, मलाई के पूर्ण विश्वास छ भने त्यस्तो कुनै कुरा भएको भए अहिलेसम्म मूलधारको आमसञ्चारमा ब्यानर न्युज बनाइसकिन्थ्यो ।
तपाईं स्वतन्त्र मधेस प्राप्त गर्ने भन्नुहुन्छ, पार्टी पनि गठन नगर्ने भन्नुहुन्छ । यो कसरी मिल्छ ?
हाम्रो स्वतन्त्र मधेस आन्दोलन वामपन्थी अथवा दक्षिणपन्थी विचारका लागि होइन । हाम्रो एकमात्र माग स्वतन्त्र मधेस हो । पार्टी गठन गरेपछि त्यसको निश्चित विचारधारा हुनैपर्छ । तर हामी त सबै विचार भएका पार्टीहरु आउन सक्ने ठाउँ बनाउन चाहन्छौं । त्यसैले हामीले स्वतन्त्र मधेस गठबन्धन भनेका हौं ।
गठबन्धनको नेतृत्व सिके राउतले नै गरिरहने हो कि अरुले पनि गर्नसक्छ ?
यसमा जो पनि हुनसक्छ । अहिले म संयोजक छु । हाम्रो संगठनले व्यापक रुप लिएपछि लोकतान्त्रिक विधिबाट जो पनि अध्यक्ष हुनसक्छ ।
गठबन्धनमा अहिले कोको सहभागी छन् कि नाममात्र गठबन्धन हो ?
थुप्रै व्यक्तित्वहरु सहभागी छन् तर सुरक्षाको कारणले हामीले सार्वजनिक गरेका छैनौं । अरुहरुसँग पनि छलफल चल्दैछ, प्रस्तावहरु पनि आएका छन् । उहाँहरु पनि पर्ख र हेरकै अवस्थामा हुनुहुन्छ र हामी पनि त्यही ठाउँमा छौं । संविधान आउँदैछ । संविधान आएपछि केही वर्षमा निर्णायक बदलाव आउला भन्ने लागेको छ ।
साभार:ई-समता 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्