तयार हुँदैछ अर्को मधेस विद्रोहको परिस्थिति
Advertise Here Book Now

कुमार अमरेन्द्र,पुष २९ 

तयार हुँदैछ अर्को मधेस विद्रोहको परिस्थिति‘आज लहानमा बन्दकर्ता र प्रहरीबीच झडप भयो । तर बन्दकर्ताको अगाडि प्रहरी टिक्न सकेनन् । हुन त प्रहरीको लाठीबाट पूर्वमन्त्री राजलाल यादव घाइते भए । योभन्दा अलि बढी भएको भए आजदेखि पुनः लहानबाटै मधेस आन्दोलन सुरु हुन्थ्यो । जसरी मधेस आन्दोलनमा गाडी पास गराउन खोज्दा गोली चल्यो, रमेश महतो मारिए । आज पनि लहानको स्थितिको विश्लेषण गर्दा कैयौं रमेश महतो बन्नसक्थे ।’ सिरहाका स्थानीय पत्रकार सन्तोष यादवले सोमबार साँझ फेसबुकमा लेखेको प्रतिक्रिया हो यो ।
एकीकृत माओवादी, मधेसवादी पार्टीहरु र जनजाति शक्तिहरु ३० दलीय मोर्चा निर्माण गरी आन्दोलनका कार्यक्रम औपचारिक रुपमै घोषणा गरेर केही दिनदेखि आन्दोलनरत छन् । त्यही आन्दोलनको तालिकाअनुसार मोर्चाले पुस २८ गते सोमबार मधेस–थरुहट बन्द आह्वान गरेको थियो । पत्रकार यादवका अनुसार सोमबारको आमहडतालले मधेस आन्दोलनको उद्गमस्थल लहानमा २०६३ सालमा सम्पन्न मधेस जनविद्रोहको झझल्को दिएको थियो ।
सरकारी कार्यालय, विद्यालय, सडक, यातायात सबै बन्द थिए । लहानको बीच बजारबाटै गएको पूर्वपश्चिम राजमार्गमा थिए त केबल पार्टीका झण्डा र लाठी लिएका आन्दोलनकारी कार्यकर्ता र हातहतियारसहित तैनाथ सशस्त्र प्रहरी । पूर्वबाट आएका केही सवारी साधनलाई स्कर्टिङ गरेर पश्चिमतिर लान खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच नराम्ररी झडप भयो । पूर्वमन्त्री राजलाल यादवसहित ७ जना घाइते भए ।
सोमबारै मध्यानतिर जनकपुरमा एक जना आन्दोलनकारीको मृत्यु भएको खबर डढेलोको आगोझैं फैलियो । डा. बाबुराम भट्टराई नेतृत्वको संवाद समितिको बैठकमा जाने तयारी गरिरहेका ३० दलीय मोर्चाका नेताहरु समितिको बैठकमा त सहभागी भए । तर बीच बैठकबाटै हिँडेर उनीहरुले मोर्चाको आपतकालीन बैठक गरेर मृत्यु भएका आन्दोलनकारी राजाराम झालाई क्षतिपूर्तिका साथै सहिद घोषणा गर्न सरकारसँग माग गरे । बैठकले मधेस–थरुहट आमहडतालको क्रममा भएको प्रहरी दमनविरुद्ध आमहडताललाई एक दिन अरु निरन्तरता दिने निर्णय पनि गर्‍यो ।
३० दलीय मोर्चाको पूर्वनिर्धारित आन्दोलन तालिकाअनुसार राजधानी र त्यस आसपासका ताम्सालिङ्ग र नेवाः प्रदेशमा पनि मंगलबार सम्पूर्ण जनजीवन ठप्प रहयो ।
एकीकृत माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्मालाई मंगलबार बिहान फोन गर्दा बन्द सफल बनाउन उनी भीठ्ठामोड–जलेश्वर–जनकपुर सडक खण्डमा सक्रिय थिए । सोमबारको आन्दोलनमा जनकपुर क्षेत्रमा क्रियाशील रहेका शर्माले झाको सहादतले स्थानीय जनतालाई आक्रोशित बनाएको र आन्दोलनकर्मीमा थप उर्जा थपिएको बताए ।
केही सञ्चारमाध्यमले हर्टअट्याकबाट झाको मृत्यु भएको भन्ने अफवाह फैलाएको जिकिर गर्दै शर्माले प्रहरीसँगको झडपका क्रममा प्रहरीको बुटले संवेदनशील अंगमा गम्भीर चोट लागेर उनको मृत्यु भएको जानकारी दिए ।
Rajaram-Jha-Janakpur-feature
जनकपुरमा प्रहरीद्वारा हत्या गरिएका राजाराम झा
‘मधेसका जनता आन्दोलनको मनस्थितिमा पुगिसकेका छन् । ओलीको बोलीले उनीहरुलाई झन् आक्रोशित बनाएको छ । माघ ८ मा सहमतिमा संविधान जारी नभएसम्म आमहड्ताललाई जारी राख्नुपर्छ र यस्तोे परिणाममुखी आन्दोलनलाई जनताले पनि साथ दिनेछन्,’ उनी भन्छन् ।
जनघनत्व, अर्थतन्त्र र सुगमताको दृष्टिकोणले मधेस ढाड र काठमाडौं उपत्यका मुलुकको टाउको भएकोले आन्दोलनलाई यी दुई ठाउँमा बढी केन्द्रित गर्नुपर्ने शर्माको जोड छ ।
आन्दोलनबारे जानकारी लिन फोन गर्दा फोरम नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद् जयराम यादव पूर्वको विराटनगरमा डटेर मोर्चा सम्हाल्दैथिए । स्थानीय नेता यादवका अनुसार विराटनगर उपमहानगरपालिकाभित्र पर्ने तीनवटा निर्वाचन क्षेत्रमा आफ्नो प्रभावअनुसार एमाओवादी, फोरम नेपाल र फोरम लोकतान्त्रिकले कमाण्ड सम्हालेकाले आन्दोलन अत्यन्तै सफल भएको छ ।
उनको आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने विराटनगर–जोगबनी सडक खण्डमै उभिएर मंगलबार कार्यकर्ता परिचालन गरिहेका यादवले फोनबाटै भने, ‘संविधान निर्माणको सन्दर्भमा कांग्रेस–एमालेको प्रतिगामी अडानका कारण यहाँका जनता आक्रोशित छन् । कुनै पनि बेला अर्को मधेस आन्दोलन भड्किनसक्ने परिस्थिति बन्दै गएको छ ।’
उनले भने, ‘यो पटकको आन्दोलन मधेसी, जनजाति, थारु, मुस्लिम र माओवादीले संयुक्त रुपमा सञ्चालन गर्ने खाँचो छ । र, पहिचान र अधिकारसम्पन्न संघीयताको सवालमा कांग्रेस र एमालेसँग सहमति नभएसम्म आन्दोलन जारी रहनुपर्दछ ।’
मधेसको आर्थिक राजधानी वीरगञ्जबाट लेख्ने पत्रकार तथा स्तम्भकार चन्द्रकिशोरले पनि सोमबार जनकपुरमा भएको एक आन्दोलनकारीको मृत्युले वीरगञ्जको जनता तातेको बताए । उनका अनुसार मधेसका मध्यमार्गी राजनीतिक पार्टीहरुका लागि आन्दोलनको विकल्प छैन ।
‘मधेसको मध्यमार्गी धारलाई अहिले कुहिरोले छेकेको छ । काठमाडौंले मधेसको न्यायोचित मागलाई भिजिबिलिटीको समस्याले पहिचान गर्न सकिरहेको छैन । अर्कोतिर, संविधानसभाभित्र र बाहिर रहेका मधेसका मध्यमार्गी शक्तिहरु स्वयं पनि अलमलमा परेका छन् । यस्तो विरोधाभासको स्थितिमा आममधेसीहरु घर र गोठका फोहोर थुपारेर घुर बाल्न तम्तयार छन् ।’
चन्द्रकिशोरले भनेझैं मधेसमा वास्तविक रुपमै कठ्यां्िग्रने चिसो छ । कुहिरो छ र सितलहर चलिरहेको छ । तर पनि जनता सडकमा उत्रिन तम्तयार देखिन्छन् । फलतः सोमबारमात्र होइन, २९ गते मंगलबार पनि पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म ३० दलीय मोर्चाको आह्वानमा तराई–मधेसका सम्पूर्ण बजार, यातायात, कलकारखाना, विद्यालय, चोकचौराहा बन्द रहे ।
इसमता डटकमसँग नेपालगञ्जबाट हिन्दीमा कुरा गर्दै अधिकारकर्मी आलम खानले आन्दोलनमा जनताको ‘अच्छा’ सहभागिता रहेको बताए ।
‘कांग्रेस र एमालेका स्थानीय नेताले बन्दको प्रतिकार गर्न उक्साए पनि जनता प्रतिकारमा नउत्रेकाले बन्द शान्तिपूर्ण सम्पन्न भएको छ ।’ खानले जानकारी गराए ।
थर्ड एलाइन्स नामक मानवअधिकारवादी संख्यामा आबद्ध खानका अनुसार नेपालगञ्जका सबै समुदायका जनताले नयाँ संविधानमा आफ्नो पहिचान र अधिकारको सुनिश्चितता खाजेकाले बन्द सफल भएको जिकिर गरे ।
पत्रकारितामा समेत संलग्न खानका अनुसार पश्चिमी तराई क्षेत्रमा आमहडतालप्रति आमजनताको ऐक्यबद्धताका कारण बाँके जिल्लामा आमहडताल सफल भएको र नेपालगञ्जदेखि सुदूरपश्चिमसम्म एउटा पनि गाडी नचलेको स्थानीय आन्दोलनकारीहरुले उनलाई बताएका थिए ।
नेपालको इतिहासमा क्षेत्रीहरु राजा–महाराजा भए तर शासन पहाडे बाहुनहरुले गरे । विगत २०–२५ वर्षमा पहाडे बाहुनहरुले राज्यका सबै निकायमा कब्जा जमाए । ‘२०६२–६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र जनजाति आन्दोलनलगायतका आन्दोलनहरु त्यही ब्राह्मणवादविरुद्ध भएको थियो । ती आन्दोलनहरुले ब्राहमणवादभित्र दरार पारे पनि त्यो अझै परास्त हुन सकेको छैन ।’ राजनीतिक शास्त्रका प्राध्यापक विजयकान्त कर्णको विश्लेषण छ ।
नेपालको राज्य संरचनामा स्थापित एउटै जातिका कुलीनहरुको वर्चस्व अन्त्य गर्न अहिले जनजाति, मधेसी र माओवादीहरु फेरि एक पटक कम्मर कस्दैछन् ।
संविधानसभाभित्र वार्ता र बैठक बसेर मधेसी र जनजातिहरुले अब केही पनि पाउने सम्भावना छैन । पूर्वराजदूतसमेत रहेका कर्ण भन्छन्, ‘त्यसैले अबको आन्दोलन वार कि पार हुनुपर्दछ । आन्दोलनबाटै नेगोसिएसन भएर मात्र नयाँ संविधान निर्माण हुनुपर्दछ ।’
‘मधेसीलाई आन्दोलनको झनै आवश्यकता छ । सिम्रौनगढ र हालै जनकपुरमा भएको प्रहरीजस्तै गरी मधेसमा राज्यको बर्बर दमन जारी रहे जनता बाध्य भएर डा. सिके राउतको अभियानतर्फ आकर्षित हुनसक्छन् ।’ कर्ण थप्छन् ।
भदौ मसान्तमा बाराको सिम्रौनगढमा जीर्ण सडक निर्माणका लागि आन्दोलन गरिरहेका स्थानीय जनतामाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र अर्को एक जना गम्भीर घाइते भएका थिए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार कांग्रेस र एमालेले ७÷८ वर्षअघि सम्पन्न मधेस आन्दोलनलगायत सम्पूर्ण आन्दोलनलाई बिर्सिसकेका छन् । ‘दोस्रो संविधानसभा निर्वाचनको मतपरिणाम कांग्रेस र एमाले पक्षमा गएपछि उनीहरु २०४७ सालकै संविधान पुनरावृत गराउने कसरतमा लागेका छन् । त्यसैले अर्को आन्दोलनको विकल्प छैन ।’ महतो आफ्नो निष्कर्ष सुनाउँछन् । नेता महतोेसँग केही दिनअघि बालुवाटार वार्ताको क्रममा एमाले अध्यक्ष केपी ओलीले अभद्र भाषा प्रयोग गरेका थिए ।
‘अहिले हामी ३० दलीय मोर्चासम्बद्ध दलहरुले आन्दोलनको ट्रेलर देखाइरहेका छौं । यो प्रारम्भ हो । कांग्रेस र एमालेले संविधानसभाभित्र दुई तिहाइको संख्याबलमा पेल्न खाजे हामी घनघोर आन्दोलन खडा गर्छौं । त्यसका मधेसका जनता, पहाडका आदिवासी र क्रान्तिकारी माओवादीहरु तयार छन् ।’ महतोले दृढताका साथै आक्रोश पनि पोखे ।
तत्कालीन राजा, कांग्रेस र एमाले मिलेर बनाएको २०४७ सालको संविधान माओवादी, जनजाति र मधेसीले उहिल्यै खारेज गरिसके । अब पहिचानमा आधारित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी सिद्धान्तमा आधारित नयाँ संविधान चाहिएको छ, सडकमा उत्रिएका आन्दोलनकारीहरुको माग यस्तै रहेको छ ।
साभार:Esamata

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्