सिके राउत भेटघाट :- आठ राजदूतको स्पष्टीकरण
Advertise Here Book Now


काठमाडौं १३ माघ । राज्य विप्लव अभियानमा सक्रिय सीके राउतलाई दुई युरोपेली राजदूतहरूले भेटेको उनीहरूले नै स्वीकार गरेका छन् ।

राजनीतिक र सरकारी तह तथा सञ्चारमाध्यममा राजदूतहरूका यससम्बन्धी गतिविधिलाई लिएर आलोचनात्मक टीकाटिप्पणी हुन थालेपछि जर्मनीबाहेक युरोपेली संघका सबै राजदूतले सोमबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई भेटी स्वेच्छिक स्पष्टीकरण दिएका थिए । भेटमा बेलायत, फ्रान्स, स्विट्जरल्यान्ड, डेनमार्क, फिनल्यान्ड, युरोपेली युनियनका प्रमुखलगायत आठ राजदूत सहभागी थिए ।

मुलुकको नाम नखुलाई दुई युरोपेली राजदूतहरूले राउतलाई भेटेको स्वीकार गर्दै टोलीले कूटनीतिक उन्मुक्ति को प्रयोग गर्दै उनीसँग भेटेको तर्क प्रस्तुत गर्‍यो। राउतविरुद्ध कुनै पनि अभियोग साबित नभएकाले वर्तमान सन्दर्भमा उनी अपराधी नभएको र उनले आफ्ना राजनीतिक मान्यता राख्न चाहेकाले भेटघाट भएको तर्क पनि राजदूतहरूले गरे।

‘मलाई कुनै पनि मुद्दा छैन, मानवअधिकार उल्लंघन पनि गरेको छैन, मेरो अपिल सुनिदिनुस्’ भनेर राउतले अनुरोध गरेकाले उनलाई भेट्नुपरेको स्पष्टीकरण राजदूत टोलीले मन्त्री पाण्डेलाई दिएको थियो।

मन्त्री पाण्डेले भने राउतले मुलुक टुक्र्याउने पक्षमा वकालत गरेको तथ्य बेवास्ता नगर्न र त्यस्ता गतिविधिलाई समर्थन नजनाउन राजदूतहरूसँग आग्रह गर्दै नेपालको विकास र समृद्धिमा उनीहरूको योगदान अपेक्षा राखेको बताए। राजदूतहरूले ‘यहाँ के गर्नुहुन्छ र के गर्नुहुन्न’ भन्ने सरकारी मान्यताबारे मन्त्रीसँग जिज्ञासा राखेपछि कूटनीतिक उन्मुक्तिसम्बन्धी जेनेभा अभिसन्धिको पालनाबारे छलफल भएको थियो।

सम्बन्धित मुलुकका लागि राम्रो हुने कामको सन्दर्भमा कूटनीतिक उन्मुक्तिको पालना हुनुपर्नेमा देश नै छुट्ट्याउनुपर्ने धारणा राखेर देशद्रोहको अभियोगमा छानबिन भएकासँगको भेट मान्यताभित्र नपर्ने सरकारले स्पष्ट पारेको थियो । अपराह्न दुई बजेदेखि एक घन्टासम्म चलेको भेटबारे परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव ताराप्रसाद पोखरेलले भने, ‘विद्यमान अवस्थामा उनीहरू ९राजदूतहरू०का व्यवहार र उनीहरूबाट गरिने अपेक्षाबारे छलफल भएको हो ।’

स्रोतका अनुसार राजदूतहरूले राउतसँगको भेटले कूटनीतिक मर्यादा उल्लंघन नभएकामा जोड दिएका थिए । दुई राजदूतले मात्र राउतलाई भेटे पनि उनीहरूप्रति ऐक्यबद्धता जनाउन आठ राजदूतले मन्त्रीलाई भेटेर स्पष्टीकरण दिनुले युरोपेली एकताको सन्देश सरकारलाई दिन खोजेको देखिन्छ ।

यसअघि माघ ८ गते होटेल र्‍याडिसनमा नेपालमा रहेका राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूलाई बोलाई परराष्ट्रमन्त्री पाण्डे र अर्थमन्त्री डा।रामशरण महतले विखण्डनको एजेन्डा बोक्नेहरूलाई नभेट्न आग्रह गरेका थिए।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्