सिमरा तनावग्रस्त, प्रहरी बिटमा आगजनी
Advertise Here Book Now

simara movmentकलैयामा रहेका केही सरकारी कार्यालय बाराको सिमरामा सार्ने निर्णयको बिराधेमा कलैयाबासीले बिरोध र तोडफोडपछि सरकारले फिर्ता लिएपछि ती कार्यालय सिमरामा ल्याउनुपर्ने माग गर्द सिमराबासी आन्दोलित भैरहेका छन् ।
आन्दोलनकै क्रममा आइतबार वीरगन्ज पथलैया सडक खण्डअन्तर्गत बाराको सिमरा क्षेत्र तनावग्रस्त भएको छ । मालपोत र नापी कार्यालय स्थापना गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका स्थानीयवासीले आइतबार बिहानैदेखि सडक अवरुद्ध बनाएपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।
झडपका कारण सिमरा बिहानैदेखि तनावग्रस्त बनेको छ । स्थानीयले बिहान निकालेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र स्थानीय प्रदर्शनकारीबीच झडप भएको हो ।
मध्याह्नसम्म भएको झडपमा प्रहरीले १०० राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै दुई दर्जन राउण्ड रबरको गोली पनि चलाएको छ । झडपमा परी नसिम हुसेन, ईश्वर थपलियालगायत २० जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् ।
घाइते नसिमको वीरगन्जमा र अरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कुमारविक्रम थापासहित पाँचजना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले छजना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले सुमन भट्टराई, मीनप्रसाद चापागाईं, जगरनाथ घिमिरे, दिवाकर न्यौपाने, गङ्गा बस्नेत र रमेश चौहानलाई नियन्त्रणमा लिएको हो । आन्दोलनकारीले सिमरा बजारमा रहेको प्रहरी बिटमा आगजनी गर्नुका साथै एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।
आन्दोलनकारीले रौतहटबाट बिरामी लिएर वीरगन्ज आउँदै गरेको एम्बुलेन्समा पनि तोडफोड गरेका छन् । एम्बुलेन्समा भएको तोडफोडबाट रौतहट खतरैया–८ का विन्दाराम राय यादव र उनका छोरा राजकुमार यादव घाइते भएका छन् ।
स्थानीयवासीको प्रदर्शनका कारण सिमरामा आज पनि बिहानैदेखि सार्वजनिक यातायातका सवारी साधन चलेका छैनन् भने बजार, पसल र शिक्षण संस्थासमेत बन्द रहेका छन् । सिमरामा मालपोत र नापी कार्यालय स्थापना गर्ने सरकारको निर्णयविरुद्ध सदरमुकाम कलैयामा चर्को आन्दोलन भएपछि सरकारले निर्णय फिर्ता लिएसँगै सिमरा आसपासका १२ वटा गाविसका बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।
उता सिन्धुपाल्चोकमा काममा खटिइरहेका बेला अचानक बिरामी भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । रौतहट जिल्लाको सरुआट गाविस–३ स्थायी घर भएका प्रहरी जवान ३४ वर्षीय राजकुमार राय यादवको आज बिहान मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो ।
उच्च रक्तचापको रोगी रहेका यादव शनिबार बेलुकी कारागार शाखामा काममा रहेका बेला अचानक बिरामी भएपछि जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ ठीक नभएपछि थप उपचारका लागि राजधानी लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्