‘प्रचण्डमाथि आफ्नैबाट सुरक्षा खतरा’
Advertise Here Book Now
गृहमन्त्री वामदेव गौतमले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि एमाओवादीकै कारण खतरा हुनसक्ने भएकाले उनका लागि सुरक्षाको कुनै कमी हुन नदिने बताएका छन्।
पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन एमाले केन्द्रीय कार्यालय बल्खु पुगेका गृहमन्त्री गौतमले सञ्चारकर्मीसँग भने, ‘केही समयपहिलेसम्म त उहाँहरूका मान्छे पनि सुरक्षाका निम्ति खटेका थिए। पछि फेरि तिनै सुरक्षामा खटेकाहरूबाट नै असुरक्षा छ भन्ने भएपछि हटे। अहिलेचाहिँ पूरै राज्यले सुरक्षा दिएको छ। भविष्यमा पनि त्यस्तो व्यवस्था गरिन्छ।’
दाहालले आफूमाथि कसको ‘थ्रेट छ भन्ने अहिलेसम्म नबताएको जानकारी गराउँदै गृहमन्त्री गौतमले भने, ‘उहाँलाई थ्रेट छ। यसअघि नै उहाँलाई जे महसुस भएको छ, त्यो थ्रेट साँचो हो। त्यसैले सुरक्षा प्रबन्ध गर्यौं।’ दाहाल विपक्षी दलको नेता पनि भएको बताउँदै गौतमले भने, ‘उहाँलाई जहाँ जानुहुन्छ त्यहाँ विशेष सुरक्षा व्यवस्था हुन्छ। पहिले पनि गरेका छौं, अहिले पनि गरिन्छ। उहाँलाई सुरक्षा घेराभित्र पूरै नेपाल सरकारले राखेको छ।’
सरकारले दाहाललाई असुरक्षित राख्न नचाहेको बताउँदै उनले पूराका पूरा सुरक्षा दिने स्पष्ट पारे। ’अहिले हामीले जुन सुरक्षा व्यवस्था गरेका छौं, सुरक्षा व्यवस्थामा कुनै कमी छैन’, गौतमले भने, ‘त्यसका साथै हामीले विशेष सुरक्षा व्यवस्था गरेका छौं। आजदेखि नै हामीले विशेष सुरक्षा व्यवस्था गरेका छौं।’
यो समाचार अन्नपुर्ण पोष्टको छ |