मधेशबारे भारतीय प्रधानमन्त्री मोदीलाई लिखित रिपोर्टिङ
Advertise Here Book Now
काठमाडौं, फागुन १४ – भारतीय लोकसभाका सांसद पप्पु यादव (राजेश रञ्जन) ले मधेशको समस्या तथा मधेशमा आन्दोलन गर्दै आएका मातृका यादव नेतृ्त्वको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिखित जानकारी गराएका छन् ।
नेपालमा मधेशी उत्पीडनको सम्बन्धमा आजै प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रमा पहाडी शासकद्वारा मधेश र मधेशी शोषित भएको उल्लेख गर्दै त्यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्री मोदीलाई आग्रह गरिएको छ ।
सांसद यादवले मधेशमा आत्मनिर्णयको अधिकारसहित एक मधेश एक स्वायत्त प्रदेश हुनुपर्ने उल्लेख गर्दै नेपाल राज्यको हरेक निकायमा मधेशीको समानुपातिक समावेशी प्रतिनिधत्वको माग समेत गरेका छन् ।
मधेश हरेक प्रकारले सम्पन्न र आत्मनिर्भर थियो तर आज त्यही पहाडी शासकद्वारा गरिएको बर्बर, उपेक्षा, उत्पीडन, विभेद र दमनका कारण मधेश बर्बाद भइरहेको पत्रमा भनिएको छ ।
‘मधेशी विभेदमा पर्नुको एउटै कारण हो, मधेशीहरु भारतीय जस्तो देखिनु,’ सांसद पप्पु यादवले आफ्नो पत्रमा मधेशीको रहन सहन, भाषा, सँस्कृति, अनुहार भारतीय जस्तो भएका कारण उनीहरु पहाडि शासकबाट शोषित भएको उल्लेख गरेका छन् । मधेशको समस्या मधेशको मात्र नभएर राष्ट्रको समस्या भएको उल्लेख गर्दै नेपालमा बन्न लागेको सविधानमा पनि मधेशीको अधिकार सुनिश्चित नहुने दावी उनले सविधानमा मधेशीको अधिकार सुनिश्चित नभए देशमा द्वन्द्व कायम रहने समेत सचेत गराएका छन् । उनले मधेशी र पहाडिबीचको विभेद समाप्त भए यसले भारतलाई पनि फाइदा हुने जिकिर गरेका छन् ।
मधेशको समस्याबाट प्रधानमन्त्री मोदी अनभिज्ञ नरहेको कुरा पनि उनले आफ्नो पत्रमा उल्लेख गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीलाई बुझाएको पत्रको साथमा मातृका यादव संयोजक रहेको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिको अपिल पनि पेस गरेका छन् ।
भारतीय जनता दलका सांसद यादव भारत विहार मधेपुराबाट लगातार ५ वर्षदेखि लोकसभामा जित्दै आएका छन् । उनले यसपटक शरद यादवलाई हराएका छन् ।
-Ratopati