ऑनलाइन सिरहा डटकम वैशाख २३ । बर्दिबास नगरपालिका–४
गौरीडाँडाका कृष्णबहादुर कार्की धेरै सपना र रहरहरूको चाङ बनाएर तीन
वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।
धेरै
रहर र सपनामध्ये एउटा अति नै उत्कट ईच्छा थियो कृष्णबहादुरसँग आमा हितमाया
कार्कीको बुढेसकाललाई सजिलो बनाउने । तर कृष्णबहादुर मलेसियामै रहेका बेला
आमा हितमायाको गत वैशाख २ गते निधन भयो । आमाकै निधन भएपछि मातृसेवा गर्ने
रहर पूरा नभए पनि परदेशबाट कमाएको धनले आमाको काजकिरिया गर्न वैशाख ११ गते
काठमाडौं आइपुगेका थिए ।
आमाको निधन भएको ९ दिनपछि काठमाडौं
आइपुगेपछि आमाको किरिया गर्ने उनको कर्तव्य पूरा हुन सकेन । उनी आफ्नो
जन्मथलो बर्दिवास पनि पुग्न पाएनन् । कृष्णबहादुरको वैशाख १२ गते आएको
भूकम्पमा परेर काठमाडौंमा नै ज्यान गयो । भूकम्पका कारण काठमाडौंमा ढलेको
धरहरामा परेर मर्ने डेढसय जना (अनुमानित)मा उनी पनि एक हुन् । आमा मरेपछि
आफू टुहुरो भएर नेपाल आईपुगेका कृष्णबहादुरलाई भुईचालाले लगेपछि उनका ११
वर्षका छोरा र ७ वर्षकी छोरी पनि टुहुरा भए । २८ वर्षीया कृष्णकी श्रीमती
प्रमिला विधुवा बने । कार्की परिवारमा एकपछि अर्को विपदको बज्रपात नै भयो ।
प्रमिलाले ३ वर्ष अघि मलेसिया पठाको श्रीमान संग ३ वर्ष पछि प्रत्यक्ष
रुपले बोल्न समेत नपाई लासको रुपमा हेर्नु पर्यो ।
वैदेशिक रोजगारीको लागि तीन वर्षअघि
मलेसिया गएका कृष्णबहादुर वैशाख ११ गते राति १० बजे काठमाडौं आइपुगेका थिए ।
उनलाई ल्याउन भनि उनको सालो विष्णु बस्नेत काठमाडौं पुगे । आमाको किरिया
गर्न आएका कृष्णबहादुर १२ गते बिहानै घर जाने तयारीमा थिए । तर घरबाट फोन
आयो ‘तुरुन्तै घर नआउनु, आमाको १२ औं दिनको काम सकिएपछि मात्र आउनु ।’
कृष्णबहादुरकी आमा हितमायाको किरिया काका नारायण कार्कीले गरिरहेको र
काकाले किरिया गरेका बेला छोराले हेर्न नहुने भन्दै उनलाई घर नआउन भनिएको
थियो । पण्डितले सुझाए अनुसार आमाको किरिया नसकिउन्जेल कृष्णबहादुरले
काठमाडौंमै अलमलिनु पर्ने भयो ।
भिनाजुलाई लिन काठमाडौंसम्म गएका विष्णुले
होटलमा बस्न अल्छी लागेपछि कृष्णबहादुरलाई घुम्न जाउँ, धरहरा चढौं भन्ने
प्रस्ताव गरे । सालोको आग्रह टार्न नसकेपछि कृष्णबहादुर पनि धरहरातिर लागे ।
कृष्णबहादुर र विष्णु धरहरामा रहेकै बेला भूकम्प जाँदा धरहरा ढल्यो ।
धरहरासँगै कृष्णबहादुर र विष्णु पनि ढले र दुवैको ज्यान गयो ।
अहिले कृष्णबहादुरसँगै भाई बिष्णुको पनि
ज्यान गएपछि प्रमिलालाई सबैभन्दा ठूलो बज्र परेको छ । छोराछोरीसँगै
प्रमिलाको पनि बिचल्ली भएको छ । ‘भूकम्पले श्रीमानलाई लग्यो, दाजुभाइको
नाममा त्यही एउटा भाइ थियो, त्यसलाई पनि लग्यो’ श्रीमानकोे किरियामा बसेकी
प्रमिलाले रुँदै भनिन् ‘घर माइत सबैतिर शुन्य भयो ।’ सम्पत्तिको नाममा एक
कठ्ठा जमिन र त्यसमा बनेको सानो घर मात्र भएकी प्रमिलालाई श्रीमानको
मृत्युपछि अब दुई छोराछोरीलाई कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ ।
प्रमिलाले भूकम्पमा ज्यान गुमाउनेहरूको
परिवारजनलाई सरकारबाट क्षतिपूर्ति राहत कहिले उपलब्ध हुन्छ भन्ने एउटा झिनो
आश भएपनि कसरी पाउने भन्ने ज्ञान नभएको बताउछिन् । हुनत सरकारले भूकम्पमा
मृत्यु भएकालाई तत्काल क्रियाखर्च भनेर ४० हजार उपलब्ध गराउने भने पनि त्यो
पनि नपाएको प्रमिलाले बताएकी छन् ।