जनकपुरका स्कुले बालबालिकाहरुमाथि आक्रमण गर्ने यो राज्य कसको हो ?
Advertise Here Book Now
जनकपुरको पवित्र भूमिमा पुगेर जोशिला युवाहरुसँग संवाद गर्न पाउँदा आफुलाई गौरवान्वित ठानेको छु ।
स्मरण रहोस, नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनमा जनकपुरको नेतृत्वदायी भूमिका रहेको छ । पंचायतविरुद्धको आन्दोलनमा वीर दुर्गानन्द झाले राजा महेन्द्रमाथि बम प्रहार गरेर विद्रोहको विगुल फुकेका थिए । २०२६ सालताका नयाँ शिक्षा प्रणालीको विरोधमा भएको आन्दोलनमा धनुषाका कामेश्वर-कुशेश्वर शहिद भएका थिए । २०४६ को आन्दोलनमा यदुकुहाका ६ जना साहसी महिलाहरुले एकसाथ सहादत प्राप्त गरेका थिए ।
यसपटक फेरि जनकपुरले आफनो क्रान्तिकारीता प्रदर्शन गरेको हो । युवाहरुको नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले बर्बर दमन गरेको छ । साना साना स्कुले बालबालिकामाथि क्रूरतापूर्वक लाठी प्रहार गरिएको छ । गत सोमबार (साउन ४) र मंगलबार (साउन ५) जनकपुर नगरक्षेत्रमा ५०० भन्दा बढी नागरिकहरुमाथि लाठी प्रहार भएको थियो । २५० बढी घाइते भएका थिए । लगभग ८० जना अस्पताल भर्ना हुनुपरेको थियो । दर्जनौंलाई हिरासतमा लिइएको थियो । प्रहरीहरुले आन्दोलनकारीहरुलाई जथाभावी साम्प्रदायिक शब्द प्रयोग गरेर गालीगलौज गरेका थिए ।
जनकपुरमा मानवअधिकारको घोर उल्लंघन भएको छ । काठमाडौंका कुनै मानवअधिकारवादीहरु यसबारेमा बोलेका छैनन्, अपवादबाहेक । प्रहरी दमनबारे आज हामी तीन जना विजयकान्त कर्ण, दीपेन्द्र झा र म जनकपुरका सिडियोलाई भेटेर विरोध गरेका छौं । जनकपुर घटनाको न्यायिक छानविनको माग गर्दछौं । -ईसमता