नेपाल टुक्राएर अर्को नयाँ देश बनाइदिने अमरेश सिंहको चेतावनी
Advertise Here Book Now
काठमाडौं, ३ साउन । कांंग्रेसका नेता एवम् सभासद् अमरेशकुमार सिंहले चार दलले अहिले ल्याएकै मस्यौदाले संविधान बने देश टुक्रिने चेतावनी दिएका छन् । वीरगन्जमा शनिवार आयोजित ‘मधेश र संविधानको मस्यौदा’ मन्थन कार्यक्रममा सत्तारुढ दल कांंग्रेसकै नेता सिंहले यस्तो चेतावनी दिएका हुन् । ‘यही मस्यौदाका आधारमा संविधान बन्यो भने निश्चितरुपमा देश टुक्रिन्छ’, उनले भने, ‘नेपालबाट छुटटै नयाँ राष्ट्रको जन्म हुन्छ ।’ मधेशका नेताले भने देश टुक्रेको हेर्न नचाहेको उनको जिकिर थियो । ‘यस्तो कदापि चाहेका छैनौ’, उनले थपे, ‘राज्यसत्तामा रहेका शासक वर्गले नै मुलुकलाई विखण्डनको खाडलमा धकेलिरहेका छन् ।’ उनले अब मधेशका नेताहरुले काठमाडौं र मधेशबीचको सम्बन्ध तोड्ने बेला आइसकेको बताए । ‘शासकहरुले सधै मधेशीलाइ विखण्डनवादीको आरोप लगाउछन्’, उनले भने, ‘यस्तै रवैया रहिरहने हो भने मधेशमा १० सिके राउत जन्मिछन् ।’ भुटानबाट नेपालीभाषी लखेटिएजस्तै मधेसबाट मधेसीहरु लखेटिने खतरा बढेको दाबी गरे । ‘जसरी भुटानबाट सबै नेपाली भाषी लखेटिनु प¥यो, त्यसैगरी मधेसीहरु पनि मधेस छाडेर भाग्नुपर्ने दिन आउदैछ’, उनले भने, ‘त्यसैले अहिलेको मस्यौदाको विरोधमा सबै मधेसी सडकमा आउनु जरुरी छ ।’ सिंहले चार नेताले राजनीतिक स्वार्थपूर्तिका लागि हतारमा मधेसविरोधी संविधान जारी गर्ने षडयन्त्र गरिरहेको आरोप लगाए । चार दलले गरेको १६ बुँदे सहमति मधेसविरोधी रहेको उनको भनाइ थियो । ‘मधेसविरोधी १६ बुँदे सहमतिको आधारमा ल्याइएको मस्यौदा पनि मधेसी, संघीयता, समावेशीता र अन्तरिम संविधान विरोधी छ’, उनले भने, ‘अहिलेको मस्यौदा चार दलका नेतालाई राजा बनाउने नियतले ल्याइएको छ ।’ ‘चार दलका चार नेताले सार्वभौम संविधानसभालाई रबर स्टाम्प बनाए’, उनले भने, ‘यदि चार नेताले मात्रै संविधान बनाउने हो भने अर्बौको खर्च गरेर दुई पटक संविधानसभाको चुनाव किन गरियो त ?’ अन्नपूर्ण पोष्टमा समाचार छ ।