‘राजेन्द्र, महन्थ र महेन्द्र जी, तपाईहरुबाट मधेसी समुदायले के पाए ?’
Advertise Here Book Now
एमाओवादी नेतृत्वको गठबन्धन छाडेर सत्तारुढ दललाई समर्थन गर्न पुगेका नेपाली जनता दलका सभासद हरिचरण साह आफ्नो बाटोमा एमाओवादी र फोरम लोकतान्त्रिक पनि आएकोमा यतिबेला निकै खुसी देखिएका छन । उनले संसदको रोष्टममै उभिएर एमाओवादी र फोरम लोकतान्त्रिकलाई स्वागत पनि गरे । कांग्रेस एमालेलाई पनि सवैको अपनत्व हुने गरी संविधान निर्माणमा लाग्न सुझाव दिएका छन । यीनै साहसँगको कुराकानी :
अन्ततः एमाओवादी र फोरम लोकतान्त्रिक पनि तपाईकै बाटोमा आए हैन ?
मैले धेरै पहिला मिल्नुको विकल्प छैन भनेको थिएँ । मिलेर जनतालाई अपनत्व हुने खालको संविधान दिनुपर्छ भन्ने तर्क गर्दै आएको थिएँ । तर एमाओवादी र फोरक लोकतान्त्रिक लगायतका दलहरुले त्यतिबेला मानेनन् । त्यसपछि म उहाँहरुबाट छुट्टिएँ, र संविधान निर्माण गर्ने पक्षमा उभिएँ । आज उहाँहरुले बल्ल कुरा बुझ्नु भएको छ । मैले संसदको रोष्टमबाट पनि स्वागत गरिसकेँ । उहाँहरु जुन बाँडफाँडको लागि आउनुभएको छ । त्यो पनि पुरा होस भन्ने मेरो कामना छ । किनकि लामो समयसम्म मुलुक संक्रमणबाटबाट अघि बढ्न सक्दैन । फरक मत राख्ने अधिकार लोकतन्त्रमा सवैमा छ । तर आफ्नो फरक मत राखिराख्दा अरुलाई बाधा पुग्नु हुँदैन । अहिले फरक मत राख्नेहरु पनि संविधान निर्माणमा सहमत हुनैपर्छ । कांग्रेस–एमालेले पनि सवै अट्ने मार्ग तयार गर्नुपर्छ ।
कसरी तयार पार्ने सवै अट्ने मार्ग ?
कांग्रेस–एमालेले भन्न थालेका छन । ढाडमा टेकेर टाउकोमा हान्नेपनि अब त हामीसँगै छन । अव भुइँमै टेकेर टाउकोमा हान्नेहरुलाई पनि समेट्नु भएन भने स्थिति गाह्रो हुन सक्छ । त्यसैले सवैलाई समेटेर जानुनै हितकारी हुनेछ । सवै समुदायले अपनत्व महसुस गर्ने संविधान निर्माण गरियो भने अहिले कराउने मुख त्यसैदिनबाट थुनिन्छ ।
तर मधेसी मोर्चा त हामी नै सच्चा हिमायती हौँ भन्छन नि ?
मधेसमा राजनीति कसले गरिरहेको छ भन्ने कुरा बुझ्न आवश्यक छ । मैले कहिल्यै पनि मधेसी भनेर राजनीति गरिनँ । मैले देशको लागि राजनीति गरेँ । यो देशमा मधेस पनि छ । मधेस शोषित, पीडित, प्रताडित पनि छन । उनीहरु सवैको पक्षमा हामीले वकालत गर्नैपर्छ । उपेन्द्रजीले आन्दोलन गर्दा म पनि आन्दोलनको मोर्चामै थिएँ । उपेन्द्रजी सडकमा आउन नसक्दा नेतृत्व मैले नै लिएको थिएँ । त्यतिबेला मधेसको आवाज दवाउन राजेन्द्र महत्तो, महन्थ ठाकूर, विजय गच्छदार, महेन्द्र यादवहरु मन्त्रिमण्डलमा बसेका थिए । आउनुहोस, अधिकारको लागि लडौँ भन्दा उहाँहरु आउनु भएन । जव मधेस आन्दोलनले उग्र रुप लियो, तव हतारहतार अरु पार्टी छोडेर मधेसमा राजनीति गर्न आउनुभयो । मधेसीको पीडाको आवाज सुन्नुभन्दा पनि आफ्नो पद सुरक्षित राख्नेतर्फ उहाँहरुको ध्यान गएको छ । तपाईहरु मन्त्री, उपप्रधानमन्त्री हुनुभयो तर मधेसी समुदायले के पाएँ ?
तर अहिले त उनीहरु नै मधेसको प्रतिनिधि हामी मात्र हौँ भन्छन, अनि संविधानको मस्यौदा पनि च्यातिरहेका छन नि ?
त्यस्तो तरिकाले राजनीति गर्नुहुँदैन । संविधान त आइसकेकै छैन । मधेसी मोर्चाले पनि फरक मत राखेको छ । हाम्रो पार्टी ९नेपाली जनता दल० ले पनि फरक मत राखेको छ । मधेस आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलन लगायतका विषयमा मैले संशोधन प्रस्ताव दर्ता गराएको छु । जनताले अव कसको कुरालाई विश्वास गर्छन त्यो हेर्न बाँकी नै छ । आएको सुझावलाई इमान्दारीपूर्वक कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा पनि खवरदारी गर्न आवश्यक छ । मेरो शब्दकोशमा जम्मा एक जात छ त्यो हो नेपाली । त्यसैले सवैलाई हक अधिकार स्थापित हुने गरी नयाँ संविधान बनाइनुपर्छ ।
मधेसी मोर्चालाई तपाईको के सुझाव छ ?
नेपाली जनताको संविधान भर्खर आउँदैछ । जनप्रतिनिधिहरु सवै जनताको सुझाव संकलनका लागि गएका छन । सीमाङ्कन र नामाङ्कनको जुन कुरा छ । त्यो पहिला नै हुनुपर्छ भन्नेमा मैले पनि संशोधन हालेको छु । यसमा सवैको सहमति छ । तर कसरी सीमाङ्कन र नामाङकन गर्ने भन्नेमा सहमति जुट्न सकेको छैन । हामीले के बुझ्नुपर्छ भने जनताले अहिले खोक्रो आश्वासन भन्दा पनि विकास निर्माण र रोजगारी चाहेका छन । जसले यी विषय संबोधन गर्छ, जनताले उसैलाई भोट हाल्छन । संविधान सभाको चुनावमा पनि त्यही देखियो ।
तराई–मधेसका ठेकेदार नै हामी हौँ पनि भन्छन नि ?
जनतामा सेन्टिमेन्ट चाहिँ छ । नागरिकताको विभेद, विकासमा विभेद छ । स्वास्थ्य सेवा अझै पाउन सकेका छैनन । मधेसी जनताको त्यही सेन्टिमेन्टमा ठालु शासकहरुले खेलिरहेका छन । तर अहिलेको बजेटले त्यो सेन्टिमेन्टलाई सम्बोधन गर्ने प्रयास गरेको छ । मधेसी जनताले सेन्टिमेन्ट होइन, विकास चाहेका छन ।
विजय गच्छदार, राजेन्द्र महत्तो, महन्थ ठाकूर, महेन्द्र राय यादव मधेसी समुदायको अधिकारको पक्षपाती वा ठेकेदार होइन, उनीहरु त केवल पुराना शासक वर्ग मात्र हुन । उनीहरु सत्तामा बसेर हालिमुहालि गरे । अहिले सत्तामा नभएपछि फेरि सत्तामा पुग्न यस्तो गर्दैछन । त्यसकारण उनीहरुले मधेसी समुदायको प्रतिनिधित्व गर्न सक्दैनन् । अव कांग्रेस, एमाले र एमाओवादीले खासखास ठाउँमा उपस्थिति जनाउनुपर्छ । योजनावद्ध रुपमा मधेसका दलित, जनजातिहरुको विकास गर्ने कार्यक्रम ल्याउनुपर्छ । - नेपालपाटी