सरकारको पारा हेर्नुस् त, संविधान नआउँदै दुई दिन विदा, आएपछि सात दिन हो कि
Advertise Here Book Now
हाम्रो सरकार पनि गजब छ हेर्नुस् न। आज मन्त्रिपरिषद्को बैठकै बसेर साउन ४ र ५ गते सोमबार र मंगलबार दुई दुई दिन सार्वजनिक विदा दिने निर्णय ठोक्दियो। दुई दुई दिन विदा दिनु पर्ने कारण चाहिँ के रहेछ भन्नुभा? संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव लिन रे।
यो विदासँगै शुक्रबार बन्द भएका कार्यालयहरु चार दिनसम्म बन्द नै हुने भएका छन्। शनिबार यसै पनि सार्वजनिक विदा भइगयो। आइतबार इदको विदा सरकारले नै घोषणा गरेको छ। ४ र ५ गते अकस्मात् सरकारले सार्वजनिक विदा दिने घोषणा गरिदियो। यो त तिहारमा भन्दा बढी विदा हुने भयो। तिहारमा लगातार तीन दिन मात्रै विदा हुन्छ। अहिले त चार दिन।
नेपालमा बन्द हड्ताल नभएको धेरै भयो, शायद त्यसैले न्यास्रो लागेर पो हो कि, सरकारले दुई दिन सार्वजनिक विदा दिएर सरकारी बन्द गरिदिएको! नत्र हेर्नुस् त भूकम्पप्रभावित क्षेत्रमा यसै पनि भूकम्पका कारण धेरै दिन स्कूल बन्द गर्नुपर्यो। अब के खान दुई दिन ती विद्यार्थीहरुलाई स्कूल जान रोक्नु पर्ने?
दलहरुको सम्झौतामा बनेको संविधानको मस्यौदा भएर यो आइसकेपछि केही होला भनेर सर्वसाधारणलाई खासै चासो छैन। फेरि चार दलको सहमतिमा बल्ल बल्ल मिलेका कुरा जनताको सुझावले परिवर्तन भइहाल्ने पनि होइन। यो जनमत संग्रहमा मतदान गर्नुपर्ने दिन पनि होइन। अनि किन दुई दुई दिन सार्वजनिक विदा दिनु परेको? सभासद्हरु आ-आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भएर सुझाव सङ्कलन गर्ने रे। कति जनाले नै यो मस्यौदा पढेका होलान् र, कति जना नै त्यस्ता कार्यक्रममा उपस्थित होलान् र। अलि सचेतहरुका लागि त पैसा नलाग्ने फोन, वेबसाइटको व्यवस्था छँदैछ। त्यसबाट पनि सुझाव संकलन गर्न सकिहालिन्थ्यो।
एक दिन बन्द भयो भने यति घाटा हुन्छ भन्नेहरुले सरकारी तवरमा दुई दिन बन्द हुँदा कति घाटा हुन्छ भन्ने हिसाब पनि निकाले सरकार सचेत हुन्थ्यो कि। नत्र त सरकारको यो पारा देख्दा त संविधान आएपछि खुसीले गद्गद् भएर सात दिन विदा दिन बेर नलगाउला जस्तो भो। आखिर सात दिनपछि प्रधानमन्त्री चेन्ज हुने पनि भनेकै छ। नयाँ सरकार आएपछि बल्ल काममा जाऊ, मस्त होऊ भनेर सात दिन विदा!