कडा प्रतिकार गर्न मातृका यादवको आग्रह
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन ३,संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका प्रसाद यादवले वर्तमान सत्ता साझेदार दलले पञ्चायती शैलीको संविधान जबरजस्ती लाद्न खोजेकोले मधेशी जनताले आ–आफ्नो स्तरबाट वहिष्कार गर्नुपर्ने बताएका छन् ।
जिल्ला विकास समिति सप्तरी सभाकक्षमा शनिवार राजविराजमा आयोजित दोस्रो संविधान सभा र मधेशीको अधिकार विषयक बिचार गोष्ठिमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । संविधानको मस्यौदा मधेशी आदिवासी, जनजाती, दलित एवम् उपेक्षित उत्पीडित समुदायको हित विपरित रहेको प्रष्ट पार्दै उनले भने– सत्ता साझेदार दलले पञ्चायती शैलीको संविधान लाद्न खोजिरहेकोले छलफलका लागि जिल्लाहरुमा लगिने संविधानको मस्यौदालाई मधेशी जनताले आ–आफ्नो स्थानबाट बहिष्कार गरी जलाउनु जरुरी छ ।
अन्तरिम संविधानमा निर्दिष्ट गरेका मधेशी जनताका हक अधिकारका कुराहरु हटाएर मधेशी जनतालाई चुनौती दिएकोले त्यस्तो पञ्चायती शैलीको संविधानको आवश्यकता नरहेकोले सम्पूर्ण मधेशवादी शक्तिहरु बीच कार्यगत एकता आवश्यक रहेको उनले बताए । मधेशवादी दलहरुले आफूलाई जमिन्दार बुझ्ने गरेको आरोप लगाउँदै प्रमुख अतिथि यादवले भने– मधेशबाट संविधान सभामा प्रतिनीधित्व गर्ने सभासद्हरु कुपन र भत्ता खान गएका छन्, उनीहरु जनताप्रति उतरदायी छैन । मधेशवादी दलहरुले संविधानको मस्यौदा मधेश विरोधी रहेको कुरा स्वीकार गरिसकेको अवस्थामा सडक संघर्षमा आउनुको विकल्प नरहेको उनले आवश्यकता औंल्याए ।
एक मधेश एक प्रदेश हुनुपर्नेमा जोड दिँदै उनले भने– एक मधेश एक प्रदेशको ठाउँमा दुईटा प्रदेशमा सम्झौता गरिसकेको तथा आत्मनिर्णय र अलग हुने अधिकार समेत कटौती गरिसकेको छ,  यस्तो अवस्थामा अधिकार विहिन मधेशीहरु एकतावद्ध भएर सशक्त आन्दोलन गर्नुको अर्को विकल्प छैन । उनले अन्तरिम संविधानको विषयमा सत्ता साझेदार दलले संशोधन गर्ने, सुधार गर्ने जस्ता जतिसुकै मीठो कुरा गरे पनि अहिलेको मस्यौदामा सुधार होइन, पुनरलेखनको आवश्यकता औंल्याए ।
नेपालमा राजा फाल्ने काम भए पनि अहिले पनि विभिन्न रुपका राजाहरु रहेको प्रष्ट्याउँदै राष्ट्रपति जस्तै हो, शब्द मात्र परिवर्तन भएको छ–प्रमुख अतिथि यादवले भने– जनताबाट निर्वाचित व्यक्ति तथा सरकारको तलब खानेहरु जनताको मालिक होइन नोकर भएको बताउँदै उनले भने– जनताका नोकरहरुले आफूलाई मालिक सम्झिने गरेका छन् ।
मधेशका जनताहरुले अहिले पनि देशभित्रै मधेश खोजिरहेको चर्चा गर्दै अब पनि त्यसलाई स्वीकार नगरे मधेशमा अर्को आन्दोलन हुने उनले दावी गरे । कार्यक्रममाआदीवासी जनजाती महासंघका केन्द्रिय नेता ज्योती दनुवार, मधेशी बुद्धिजिवी विष्णुकुमार मण्डल, सञ्चार यात्रा नेपालकी संस्थापक अध्यक्ष करुणा झा, भागवत मण्डल, समितिका प्रवक्ता बलराम यादव, मो. हासिम अन्सारी, नेकपा माओवादीका केन्द्रिय महेश यादवलगायतले बिचार व्यक्त गरेका थिए ।  छेदी यादव ‘रञ्जित’को अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन युवा नेता भगवती यादवले गरेका थिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्