नाकाबन्दी खुला गरेको हल्ला मात्र तर बीरगंज भन्सारमा आयात निर्यात ठप्प
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम १८ असोज / मुलुककै प्रमुख भन्सार नाका वीरगन्जवाट आज पनि आयात निर्यात ठप्प रहेको छ । यो नाका सञ्चालन नभएसम्म मुलुकमा इन्धनको आपूर्ति सहज हुने सम्भावना न्यून देखिएको छ । मुलुकमा खपत हुने कुल इन्धनको ७० प्रतिशत पेट्रोल डिजेल यही नाका भएर भित्रिने गरेका छन् ।
त्यस्तै खाना पकाउन प्रयोग हुने एलपी ग्यासको ८० प्रतिशत र हवाई इन्धनको ९० प्रतिशत यही नाकाबाट भित्रिने गरेको नेपाल आयल निगम अमलेखगन्ज डिपोले जनाएको छ । डिपोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानका लागि आवश्यक पर्ने इन्धन पनि रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)को डिपोबाट मात्र आपूर्ति हुँदै आएको छ ।
पोखरा, सिमरा र जनकपुरका विमानस्थलमा चाहिने हवाई इन्धन पनि यही नाका भएर आपूर्ति हुने गरेको छ । काठमाडौँको आवश्यकतालाई धान्ने सम्पूर्ण इन्धन यही नाका भएर आपूर्ति हुने गरेको छ । तर नाका बन्दका कारण सीमावर्ती रक्सौल डिपोबाट इन्धन ढुवानी हुन नसक्दा काठमाडौँलगायत सिङ्गो मुलुकको जनजीवन प्रभावित भएको छ ।
नेपाल–भारत द्विपक्षीय भन्सार अधिकारीबीच वार्ता भएपछि आइतबार साँझदेखि विराटनगर–जोगवनी भन्सार नाका सञ्चालन भए पनि सबैभन्दा बढी इन्धन भित्रिने वीरगन्ज रक्सौल नाका आज पनि सञ्चालन हुन सकेको छैन । विगत ११ दिन दिनयताको नाकाबन्दीले दुई हजारभन्दा बढी मालवाहक ट्रक सुरक्षा जाँच नभएकै अवस्थामा सीमावर्ती भारतीय सहर रक्सौलतर्फ अड्किएका छन् ।
इन्धन आपूर्ति सहज बनाउनका लागि छलफल गर्न रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको कार्यालयतर्फ जानेक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रका प्रमुख अशोक साहलाई नेपाल भारत सीमामा पर्ने मितेरी पुलबाट आफ्नो नियन्त्रणमा लिई केही बेर धर्नामा बसाएर छोडिएको छ ।
ना.३ प ७१६६ नम्बरको मोटरसाइकलमा चढेर एक सहयोगीसहित रक्सौलस्थित आइओसीका पदाधिकारीसँग छलफलका लागि जाने क्रममा आफूलाई नियन्त्रणमा लिई जबर्जस्ती धर्नामा बसाएको केन्द्र प्रमुख साहले बताउनुभयो ।
भारतबाट इन्धन ढुवानी गरेर काठमाडौँ पठाउन खाजेकाले प्रमुख साहलाई सम्मानपूर्वक धर्नामा बसाएर केही बेरपछि छोडिएको मोर्चाका नेता प्रदीप यादवले बताउनुभयो । नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै आन्दोलनकारी धर्नामा बसेपछि यस नाकावाट विगत ११ दिनदेखि आयात निर्यात ठप्प रहेको छ ।
मधेस केन्द्रित राजनीतिक दलको नाका ठप्प पार्ने आह्वानसँगै असोज ७ गतेदेखि मितेरी पुलमै आन्दोलनकारीले धर्नामा बसेको कारण उद्योगजन्य कच्चापदार्थ र इन्धन लगायतका कुनै पनि मालवाहक गाडी नेपाल भित्रिन पाएको छैन ।
बन्दका कारण सीमावर्ती भारतीय सहर रक्सौलतिर औद्योगिक कच्चापदार्थ बोकेका ट्रक तथा कन्टेनर, इन्धन र ग्यास बोकेको बुलेट तथा दैनिक उपभोग्य वस्तु बोकेका ट्रकको लाइन २०÷२२ किलोमिटरसम्म पुगिसकेको छ । बन्दले ६०० भन्दा बढी खाना पकाउने एलपीजी ग्यास बोकेको बुलेट पनि सीमावर्ती भारतीय सहर रक्सौलदेखि १० किलोमिटर टाढा लक्ष्मीपुरमा थन्किएको अवस्थामा रहेको छ ।
“इन्धन भर्न वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल पुगेकामध्ये ६३ वटा ट्याङ्कर सीमामा जारी अवरोधका कारण नेपाल भित्रिन सकेको छैन्,” नेपाल आयल निगम अमलेखगन्ज डिपोका क्षेत्रीय प्रमुख भानु खनालले भन्नुभयो– “आन्दोलनकारीले नेपाल भारत सीमामा अवरोध गर्नुअघिसम्म रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)को डिपोमा इन्धन भर्न पुगेका २०० ट्याङ्करमध्ये ६३ वटा ट्याङ्कर रक्सौलमै अड्किएको छ ।”
प्रमुख खनालका अनुसार सामान्य अवस्थामा यो नाकाबाट दैनिक ६०० केएल पेट्रोल, ५०० हवाई इन्धन र एक हजार ६०० देखि एक हजार ८०० केएल डिजेल नेपाल भित्रिने गरेका थिए । तीमध्ये अधिकांश इन्धन काठमाडौँ पु¥याउँदै आएको छ ।
यसअघि बन्दका कारण सुरक्षा स्कर्टिङ्गमा दैनिक पेट्रोलियम पदार्थसहित ८०÷९० वटा मालवाहक गाडी यहाँबाट निस्कने गर्दथ्यो तर आन्दोलनकारीले सीमामा पर्ने मितेरी पुलमै धर्नामा बस्न थालेपछि यस नाकाबाट हुने आयात निर्यात पूर्ण रुपमा ठप्प भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशीलप्रसाद शर्माले बताउनुभयो ।
नाका ठप्प हुँदा मुलुककै सर्वाधिक राजस्व सङ्कलन गर्ने यो भन्सारको राजस्व असुलीसमेत गम्भीर रुपमा प्रभावित भएको छ । सामान्य अवस्थामा दैनिक रु ३० करोड राजस्व असुली गर्ने यो भन्सार नाकाबाट अहिले सरदर दैनिक रु सात लाख राजस्व असुली मात्र भइरहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
त्यस्तै ५१ दिनदेखिको जारी बन्द र हडतालले गन्तव्यसम्म जान नपाएपछि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा आयातीत सामान ठूलो परिमाणमा थन्किएका छन् । भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एक मात्र यो सुक्खा बन्दरगाहमा भारतबाट मालवाहक रेलमार्फत आइपुगेका सामान बन्दका कारण गन्तव्यसम्म जान नपाएपछि थन्किएका हुन् । विगत डेढ सातादेखि यो बन्दरगाहबाट निकासी पूर्ण रुपमा ठप्प भएको हो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार अहिले बन्दरगाह परिसरमा एक लाख ५० हजार मेट्रिक टनभन्दा बढी सामान थन्किएका छन् । यसरी थुप्रिएका मालवस्तुमा फलाम उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ, बोराबन्द सामान र कन्टेनर रहेका छन् ।
“सामान गन्तव्यसम्म जान नसकेपछि बन्दरगाह परिसरमै थन्किएका छन्”, बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले भन्नुभयो– “आयातीत मालसामानले बन्दरगाह परिसर भरिएका छन्, अब भित्रिने मालसामान राख्नका लागि खाली ठाउँ छैन ।”
“दैनिक रु पाँच करोड राजस्व सङ्कलन गर्ने यो बन्दरगाहमा भारतबाट आएक कन्टेनर फिर्ता जान नसक्दा दैनिक रु एक करोड अतिरिक्त घाटा व्यहोर्नुपरेको छ” सुक्खा बन्दरगाह कार्यालयका भन्सार प्रमुख देवी भण्डारीले बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्