हड्तालका कारण सिरहामा खुल्ला दिसामुक्त लक्ष्य प्रभावित....
Advertise Here Book Now
. लहान, १८ असोज / संयुक्त मधेसी मोर्चा र थारु सङ्घर्ष समितिले करिब दुई महिनादेखि गरेको आम हड्तालका कारण सिरहा जिल्लालाई यसै वर्षभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान बीचमै रोकिएको छ । सन् २०१५ सम्ममा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानलाई जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय र स्थानीय सङ्घसंस्थाले तिव्रता दिएपनि लामो आमहड्तालले उक्त अभियान बीचमै रोकिएको हुनाले लक्ष्य पूरा हुने सम्भावना नरहेको जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय सिरहाका इन्जिनियर कृष्ण साहले बताउनुभयो । आम हड्तालका कारण यातायात सञ्चालन नहुँदा शौचालय बनाउने सामग्रीको अभाव, स्थानीयको सहभागितामा कमी आउनु र समन्वयकारी कार्यालय बन्द हुँदा खुल्ला दिसामुक्त अभियान सञ्चालन गर्न समस्या भएको इन्जिनियर साहले जानकारी दिनुभयो । विगत तीन वर्षदेखि सञ्चालित खुल्ला दिसामुक्त अभियानअन्तर्गत आम हडताल हुनु अघिसम्म सिरहाका १० गाविस, लहान नगरपालिकाका दुई वडा र दुई वटा टोललाई खुल्ला दिसामुक्त घोषणा गरिसकिएको छ । गाढा, इटहर्वा, भोक्राहा, लगदीगडियानी, मझौलिया, लगदीगोठ, चतरा, औरही र हकपारा गाविस खुल्ला दिसामुक्त गाविस घोषणा भईसकेका छन् भने लहान नगरपालिकाको पड्रिया टोल र ब्रहमाण गोर्छारी टोललाई खुल्ला दिसामुक्त घोषणा गरिसकिएको छ । यस्तै, लालपुर गाविसको वडा नं ९ लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको छ । यसबाहेक एक महिनाभित्रै जिल्लाको पोखरभिण्डा, कविलाशा, मझौरा, सखुवा ननकारकट्टी गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने अन्तिम तयारी भइसकेपनि हडतालका कारण पूरा हुन नसकेको इन्जिनियर साहले बताउनुभयो । सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने राष्ट्रिय लक्ष्य रहेकाले सन् २०१५ सम्ममा सिरहा जिल्लालाई खुल्ला दिसा मुक्त घोषणाका लागि तयारी तीव्र पारिएको थियो । यसैबीच, सरसफाइको दृष्टिले सिरहा मुलुकमै ७४ औं स्थानमा रहेको राष्ट्रिय तथ्याङ्कले देखाएको छ । जिल्लामा सरसफाइको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यसमा सुधार ल्याई २०१५ भित्रमा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको थियो । पाँच नगरपालिका र ७६ गाविस रहेको सिरहामा अघिल्लो आव २०७०÷०७१ सम्ममा २७ दशमलव ४३ प्रतिशतमा मात्र शौचालयको पहुँच रहेकामा गत आर्थिक वर्ष २०७१÷०७२ मा ४७ दशमलव ३६ प्रतिशतमा शौचालयको पहुँच पुगेको छ । करिब ५३ प्रतिशतले अझै खुल्ला रुपमा शौच गर्दै आएका छन् । इकार्डस र सिर्जना सामुदायिक विकास केन्द्रले जिल्लाका ३० गाविस, आइडिइ नेपाल र सप्रोस नामक संस्थाले १८ गाविस, एसएनभी नामक संस्थाले ११ गाविस, नेवा संस्थाले २३ गाविस तथा युनिसेफ र रेडक्रसले ६ गाविसमा खुल्ला दिसामुक्त अभियान सञ्चालन गर्दै आएका छन् ।