लहानमा पार्किङ गरेर राखिएको बस र कारमा आगजनी
Advertise Here Book Now

रामभरोसी यादव

सिरहा–सिरहाको लहान नगरपालिका–१ स्थित मनकामना होटल एण्ड लज अगाडि पार्किङ गरेर राखिएको बस र सँगै रहेको मारुती कारमा आज राती आगजनी भएको छ ।
पूर्व–पश्चिम सडक अन्तर्गत लहानको पूर्व बस स्टेण्डदेखि दक्षिणतिर सडकसँगै जोडिएको होटल अगाडि पार्किङ गरेर राखिएको ना.५ ख ८४३७ नं. को बसमा आगजनी हुँदा बसको इञ्जिन, सिटसहित काम नलाग्ने गरी जलेर नष्ट भएको छ । सगरमाथा यातायात व्यवसायी महासंघ सिरहाका अध्यक्ष हरिनारायण यादवको स्वामित्वमा रहेको बस उनको आफ्नै घर अगाडि जलेको हो ।
इलाका प्रहरी कार्यालय लहानदेखि मुस्किलले डेढ सय मिटर पूर्वतिर होटल अगाडि राखिएको बस आगजनी भए लगत्तै राती साँढे ११ बजेतिर वारुण यन्त्र बोलाएर आगो निभाइएको भएपनि बस पूर्ण रुपमा जलेको छ । अध्यक्ष यादवको घरमै रामकुमार गुप्ताले भाडामा संचालन गरेको मनाकामना होटल अगाडि राखिएको बस आगजनी भएपछि आगो निभाउने क्रममा बससँगै नजिकै रहेको गुप्ताको ग.१च ९६३७ नं. को मारुती कारमा आंशिक क्षति पुगेको छ । आगो निभाउने क्रममा कारको पछिल्लो भागको सिसा फुटेको छ भने माथिल्लो भाग कुच्चिएको छ ।
बसमा भएको आगजनीले निस्किएको आगोको मुस्लोले होटलको अगाडिको झ्यालको सिसा चर्किएर फुटेको छ भने धुँवाको मुस्लोले भित्ता कालो भएको छ । बस र घरधनी यादवले बसमा भएको आगजनीको विषयमा बोलेका छैनन् । होटल संचालक यादवले तीन जना युवकहरुमाथि शङ्का रहेको तर, उनीहरु अहिले सम्पर्क बाहिर रहेको बताए । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राम केसीले प्रहरीले आगजनी भएको जानकारी पाए लगत्तै आगो निभाउन गएको र पीडित पक्षको मौखिक सूचनाको आधारमा शङ्कास्पद व्यक्तिहरुको खोजी भईरहेको जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्