उपेन्द्रलाई कसैले खेदेको होइन, जड्याहाले होहल्लामात्रै गरेको होः फोरम
Advertise Here Book Now
काठमाडौं, मंसिर ८– सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राजधानीमा एक कार्यक्रमस्थलबाट खेदिएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि उसले सोको खण्डन गरेको छ । फोरमले एक विज्ञप्ती जारी गर्दै पूर्वाग्रही भई सम्प्रेषण गरिएकोप्रति दुख व्यक्त गर्दै भ्रामक समाचारप्रति संघीय समाजवादी फोरम, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आन्दोलनको १०० दिन पूरा भएको सन्दर्भमा हिजो काठमाडौंको माइतीघर मण्डलामा आयोजित श्रद्धाञ्जली सभामा हुँदै नभएको घटनालाई काल्पनिक ढंगले चित्रण गरी पीत पत्रकारिता गरिएको विज्ञप्तीमा जनाइएको छ । तराई÷मधेश÷थरुहटमा मधेशी, थारु, आदिवासी जनजाति, महिला, मुस्लिम तथा उत्पीडित वर्गको जारी आन्दोलन उत्कर्षमा पुगिरहेको बेला यसरी आन्दोलनका मुख्य अगुवालाई बद्नाम गर्ने उद्देश्यले सरकारको स्वार्थमा यस्तो षड्यन्त्र गरिएको फोमको आरोप छ । फोरमले कार्यक्रम सम्पन्न भइसकेपछि मादक पदार्थ सेवन गरेका राजेन्द्र सापकोटा नामका एक जना व्यक्तिले होहल्ला गर्न थालेपछि प्रहरीले निजलाई नियन्त्रणमा लिएको भने स्वीकार गरेको छ। सोहि घटनालाई बंग्याएर समाचार लेखिएको विज्ञप्तीमा उल्लेख छ ।