नेपालले उठायो डब्लूटीओमा पारवहन अधिकार हनन मुद्दा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष ४/नेपालले भारतले तीन महिनायता लगाएको नाकाबन्दीका कारण व्यापार, पारवहन तथा यातायातका क्षेत्रमा दक्षिणी सिमानामा भोग्नुपरिरहेको समस्या विश्व व्यापार संगठन (डब्लूटीओ) का सदस्य मुलुकलाई जानकारी गराएको छ।
केन्याको नैरोबीमा आयोजित विश्व व्यापार संगठनको दसौं मन्त्रीस्तरीय बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले भारतीय नाकाबन्दीका कारण मानवीय संकट उत्पन्न हुन लागेको बताएका हुन्।भारतले तीन महिनायता नाकाबन्दी लादेसँगै पारवहन प्रभावित हुन गएका कारण नेपालको तेस्रो देशसँगको व्यापार पनि पूर्ण रूपमा प्रभावित भएको छ।
भारत हुँदै समुद्री मार्गमार्फत तेस्रो देशसँग गर्ने व्यापार तथा पारवहन सुविधा नेपालले उपयोग गर्न पाएको छैन । भारतले अन्तर्राष्ट्रिय सन्धि तथा कानुनविपरीत भूपरिवेष्टित मुलुक नेपालको पारवहन अधिकार खोसेको छ। जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा जारी प्रेस वक्तव्यमा जनाएअनुसार मन्त्री पुनले बैठकमा नेपालले विगत केही समयदेखि व्यापार, पारवहन तथा यातायातका क्षेत्रमा दक्षिण सिमानामा भोग्नुपरिरहेको समस्या उल्लेख गरेका थिए।नेपाललले व्यापार र पारवहनका क्षेत्रमा विविध चुनौतीहरूको सामना गर्नुपरिरहेको अवस्थाबारे पुनले बैठकमा जानकारी गराए।
उनले विश्व व्यापार संगठनका सदस्यहरूलाई भूपरिवेष्टित मुलुकको विश्व व्यापारमा अर्थपूर्ण सहभागिताका लागि विशेष ध्यान दिन आग्रह गरे।मन्त्री पुनले अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा भइरहेको व्यवधानले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्नुका साथै मानवीय संकट उत्पन्न हुन लागेको बताए।
मन्तव्यका क्रममा पुनले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीप्रति नेपालको प्रतिबद्धतालाई पुनः अन्तर्राष्ट्रिय समुदायसमक्ष जाहेर गर्दै विश्व व्यापार संगठनलाई अन्तर्राष्ट्रिय व्यापार नियमहरूको तर्जुमा, कार्यान्वयन, व्यापारसम्बद्ध विवादहरूको समाधान तथा दिगो विकास एवं रोजगारीका अवसरहरू सिर्जनामा प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने संस्थाका रूपमा विकास गर्न थप पहल गर्दै जानुपर्ने कुरामा जोड दिएका थिए।
‘वर्तमान विश्वमा नेपाललगायतका अतिकम विकसित मुलुकहरूले विभिन्न भन्सार तथा गैरभन्सारजन्य अवरोधका कारण व्यापारलाई आर्थिक वृद्धि र समावेशी विकासको संयन्त्र बनाउन नसकिरहेको परिप्रेक्ष्यमा दोहा विकास एजेन्डाले अघि सारेका विकासशील र अतिकम विकसित मुलुकहरू सम्बद्ध विकासका एजेन्डाहरूलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक छ’, उनले भने।
विश्व व्यापार संगठनका विकसित सदस्य मुलुकहरूले आवश्यक लचकता र उदारता देखाउन आवश्यक भएको पुनले बताए। विश्व व्यापार संगठनका अतिकम विकसित सदस्य मुलुकहरूको विश्व व्यापारमा हिस्सा बढाउन उनीहरूलाई बजार पहुँचको विशेष सुविधा उपलब्ध गराउनुपर्ने, क्षमता विकासका लागि आर्थिक प्राविधिक सहायता उपलब्ध गराउनुपर्ने र विश्व व्यापार संगठनको सम्झौताहरूमा रहेका विशेष र पृथक् व्यवहारलगायतका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पुनले जोड दिए।
मन्त्री पुनले नेपालमा संविधानसभाबाट भर्खरै जारी लोकतान्त्रिक र समावेशी संविधानले मुलुकमा शान्ति, स्थायित्व समावेशी विकासको नयाँ युग सुरु भएको उल्लेख गरे। उनले विश्व व्यापार संगठनका सबै सदस्यहरू र खासगरी निकट छिमेकी मुलुकहरूलाई नेपालको सानो अर्थतन्त्रलाई विश्व अर्थतन्त्रमा एकीकरण हुन सघाउ पुर्‍याउन आवश्यक सहयोगका लागि आग्रह पनि गरे।
विश्व व्यापार संगठनको दसौं मन्त्रीस्तरीय सम्मेलनका अवसरमा केन्यामा आयोजित भूपरिवेष्टित विकासशील मुलुुकका मन्त्रीहरूको बैठकमा मन्त्री पुनको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्