मधेसी नेताको दिल्ली दौडाहा, मातृका यादवलाई भयो औडाहा
Advertise Here Book Now

मधेसी नेताको दिल्ली दौडाहा, मातृका यादवलाई भयो औडाहा


काठमाण्डु, २१ मंसिर– नेकपा (माओवादी) का संयोजक मातृका यादवले आन्दोलनरत मधेसी मोर्चा र मधेसी गठबन्धन आवद्ध दलका नेता दिल्ली दौडाहामा लागेकामा तीव्र असन्तोष प्रकट गरेका छन् ।



यादवले आफूलाई मधेसी जनताको ठेकेदार ठान्ने मधेसी मोर्चा आवद्ध चार दलले दिल्लीमा मधेसको बेहितमा सम्झौता गर्न सक्ने खतरा रहेको औंल्याए ।





‘यदि उनीहरुको दाबीअनुसार मधेसी जनताप्रति बेइमानी नहोस् भनेर खबरदारी गर्न दिल्ली गएका हुन् भने ठीकै छ’, यादवले काठमाण्डु टुडेसँग भने, ‘आफूलाई ठेकेदार ठानेर मधेसी जनताको अधिकार कटौती हुने गरी दिल्लीमा सम्झौता भयो भने जनता मान्नेवाला छैनन् ।’



जारी आन्दोलनको सम्बोधन मधेसी जनताको भावनाअनुसार नभए आन्दोलन नरोकिने उनको भनाइ थियो ।



पहाडी शासक, मोर्चा अर्धशासक !
यादवले मधेसी मोर्चासँग मधेस समस्या समाधानको स्पष्ट मार्गचित्र र योजना नभएको दाबी गरे ।



मोर्चामा रहेका दल मधेसमा पहाडी नेताले ‘लुटेको बेठीक र आफूले लुटेको ठीक’ भन्ने मानसिकताको शिकार भएको आरोप उनको थियो ।



‘मधेसी मोर्चाका नेतालाई मधेसी जनताको माया छैन’, यादवले भने, ‘मधेसमा हामीले एकछत्र लुट्न पाउनुपर्नेमा पहाडी नेताले लुटे भन्ने मात्र चिन्ता उनीहरुको हो ।’



यादवले पहाडी नेतालाई शासक र मधेसी मोर्चाका नेतालाई अर्धशासकको उपमा दिए । यद्यपि शासकहरुले अर्ध शासकबाहेक अरुलाई नगन्ने भएकाले आन्दोलनको वैधानिकता र स्वामित्व मोर्चासँगै रहेको टिप्पणी उनको छ ।



दिल्लीलाई चेतावनी
यादवले दिल्लीले मधेसी जनताको अधिकार कटौती हुने गरी मधेसी मोर्चालाई सम्झौतामा जान दबाब दिएको उल्लेख गरे । दिल्लीले मधेसीको अधिकार छिन्ने गरी सम्झौता गराए त्यो ऊ स्वयंका लागि घातकसिद्ध हुने चेतावनी उनले दिए ।



‘नेपालको इतिहासमा सबै कुराको छिनोफानो दिल्लीले नै गर्दै आएको छ’, यादवले भने, ‘यसपटक पनि मधेसी जनताले मुक्ति पाउँछन् भन्ने मैले सोचेको छैन ।’

दिल्ली मधेस आन्दोलन मधेसी मोर्चा र संयुक्त गठबन्धनको पकडमा रहेको यादवले बताए ।



‘दिल्लीका नेताले मधेसी जनतालाई अधिकार नपाउने गरी ‘कन्भिन्स’ गर्न खोजेको सुन्नमा आएको छ’, यादवले भने, ‘आम मधेसी जनताले आफ्नो अधिकार कटौती गरेर चार दलले दिल्लीमा गरेको सम्झौता मान्दैनन् ।’



कमल थापा राजावादी
संयोजक यादवले राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान र परराष्ट्रमन्त्री कमल थापालाई राजावादीको आरोप लगाए ।



थापाले भारतमा राजतन्त्र फर्काउने एजेण्डामा छलफल गरेर फर्किएको दाबी उनले गरे ।



‘कमल थापाले गणतान्त्रिक सरकारको प्रतिनिधिका रुपमा गएर राजतन्त्र फर्काउने साँठगाँठ गरेर आएका छन्’, यादवको आक्रोश थियो, ‘दिल्लीमा के–के बाचा गरेर आएको हो त्यो जनतालाई भन्नुपर्दैन ?’                                                                     स्रोत:काठमाडौँ टुडे 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्