भ्रष्टाचार नियन्त्रणका लागि दृढ सङ्कल्प गरौँ : प्रधानमन्त्री ओली
Advertise Here Book Now

काठमाडौँ, मंसिर २३: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दृढ सङ्कल्प गर्नुपर्ने समय आएको बताएका छन्।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘भ्रष्टाचार नियन्त्रणका लागि हाम्रो व्यवहारमा सुधार ल्याउनुपर्छ, दिउँसो घन्टी झुन्ड्याउने र राति मुसा खाने बिरालाको प्रवृत्ति अन्त्य नभएसम्म भ्रष्टाचार कम गर्न गाह्रो हुन्छ, मुखले भ्रष्टाचार नियन्त्रणको कुरा गरे पनि व्यवहारमा उतार्न नसक्दा कम हुन सकेको छैन, अब कम गर्ने सङ्कल्प गरौँ’- उनले भने। उनले नेपालमा भ्रष्टाचारविरुद्धको चेत पृथ्वीनारायण शाहको पालादेखि नै आए पनि अझै कम हुन नसकेकाले जसरी पैसा कमाए पनि पैसा हुनेलाई मान सम्मान गर्ने सामाजिक परम्परा तोड्नुपर्छ भने।
भ्रष्टाचारलाई अन्त्यका लागि सामाजिक जागरण ल्याउनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए। भ्रष्टाचार नियन्त्रणका संस्था राजनीतिक अस्त्रका रुपमा प्रयोग हुन नहुने र कानुनी व्यवस्थालाई सहीरुपमा कार्यान्वयनमा ल्याइनुपर्ने उनले बताए।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले नीतिगत, कानुनी र संरचना भए पनि कार्यान्वयनमा समस्या भएकाले भ्रष्टाचार कम हुन नसकेको बताए।
‘सरकारका वार्षिक दस्तावेजमा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकताका साथ राखिएको छ, संविधानसभाबाट जारी भएको संविधानमा पनि सुशासन प्रवद्र्धनलाई उच्च प्राथमिकता दिइएकाले अब कार्यान्वयनमा जोड दिइनुपर्छ’- उनले भने।
मुख्यसचिव डा सोमलाल सुवेदीले भ्रष्टाचार विरुद्धको महासन्धिको व्यवस्था लागू गराउनका लागि कार्ययोजना बनाएर अघि बढ्न लागिएको जानकारी दिए।
निमित्त महालेखा परीक्षक सुकदेव खत्रीले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिको आचरण शुद्धीकरण गरिनुपर्ने धारणा राखे। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष भरतबहादुर थापाले नेपालमा भ्रष्टाचारले सबै क्षेत्रमा प्रभाव पारेकाले यसको न्यूनीकरणका लागि भएका व्यवस्था कार्यान्वनयन गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिए।
संयुक्त राष्ट्र सङ्घले सन् २००३ देखि यो दिवस मनाउन सुरु गरेको हो। दिवसमा यस वर्षको नारा ‘भ्रष्टाचारको जालो तोडौँ’ रहेको छ।
नेपालमा यो दिवस विसं २०६४ देखि मनाउन थालिएको सो अवसरमा जानकारी गराइएको थियो। रासस

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्