अव स्वतन्त्र मधेशको विकल्प छैन : डा.सीके राउत(अन्तरवार्ता)
Advertise Here Book Now
डा.सीके राउत, संयोजक– स्वतन्त्र मधेश गठबन्धन
अमेरिकामा कम्प्यूटर वैज्ञानिक भएर राम्रो नाम र दाम आर्जन गरिरहनु भएको तपाइ किन राजनीतिमा आउनु भयो ?
हामी जहाँ रहेपनि शरिर मात्रै हुन्छ, अस्तित्व होइन । आफ्नो पहिचान, परिवार र समाज सबै मिलाएर मान्छेको अस्तित्व हुन्छ । त्यहाँ बसेर धेरै पैसा कमाउन सकिन्थ्यो तर, अस्तित्व रहने थिएन । त्यसैले म आफ्नै समाजको लागि केही गर्नुपर्छ भनेर अमेरिकाबाट फर्केको हुँ ।
स्वतन्त्र मधेशको नारा बोकेर काम गर्दै हुनुहुन्छ, यो कतिको सही हो ?
आजादीको कुरा मात्रै छैन । समग्र मधेशकै हरेक आयाममा पुनरुत्थान गर्नुछ । हाम्रो इतिहास, सँस्कृति, भाषा, भेषभुषा, पहिचान, गौरव र स्तित्व कसरी रहन सक्छ यी सबै आयाममा प्रगति गर्नु छ । यो एकदमै सही हो ।
तपाइले प्रत्यक्ष रुपमा राजनीति गर्न त खोज्नु भो । तर, असफल हुनु भयो नि ?
एकदमै होइन । म जहिले पनि गठबन्धनकै नामले बाहिर आएको हुँ । औपचारिक रुपमा पनि राजनीतिक पार्टीको रुपमा कहिल्यै घोषणा गरिन । मधेशमा एउटा राजनीतिक समस्या मात्रै छैन । मधेशको सम्पूर्ण समस्याको समग्रतामा समाधानको खोजी गर्ने चेष्टा गरिरहेको छु । मधेशकै मुद्दामा राजनीति सुरु भएको त दशकौ भइसक्यो । तर, मधेशको इतिहास आजसम्म किन लेखिएन ?
मधेशको इतिहासबाट मधेशी जनता नै किन परिचित हुन सकेनन् र मधेशीको आफ्नै पहिचानको कुरामा किन लज्जाबोध हुन्छ ? त्यसैले हामी राजनीतिको कुरा मात्रै गर्दैनौ । समग्रतामा मधेशको समस्याको समाधान खोजिरहेका छौं । हामीले मधेशको इतिहास लेखेर आम मधेशीलाई आफ्नै पहिचानमा गौरव गर्न महसुस गराइरहेका छौं । भाषाको क्षेत्रमा शोध गरी काम गरिरहेका छौं ।
तपाइले पहिचान र स्वभिमानको कुरा गर्नुभो । नेपालभित्रै बसेर मधेशको पहिचान बनाउन सकिदैन ?
पहिचान र स्वभिमानको कुरा मात्र हामीले गरेका छैनौं । पहिचान र स्वभिमान पनि हो । हामीले बुझ्न सक्नुपर्छ कि मधेश आफैमा एउटा राष्ट्र छ र प्राचिन राष्ट्र छ । हजारौं वर्ष पुरानो राष्ट्रको इतिहास छ । राजा मनुको कालदेखि मधेशको सभ्यता सुरु भएको हो । विदेह सभ्यता, लुम्बिनी सभ्यता, कपिलवस्तुको सभ्यता हेर्नुस् या विराट सभ्यता हेर्नुस् । मधेश प्राचिन कालदेखि नै समृद्ध राष्ट्र रहेको छ । यसको आफ्नै भूभाग छ । आफ्नै सँस्कृति, भाषा र मनोवैज्ञानिक संरचना छ । यसको आफ्नै आर्थिक गतिविधि पनि छ । त्यसैले एउटा राष्ट्रको परिभाषा अनुरुप मधेश पुर्ण छ । हामीले त्यही पहिचानलाई पुनरुत्थान गर्न खोजेका हौं ।
समग्र नेपालको प्रधानमन्त्री हुँदा तपाइले बढी मान महसुस गर्नुहुन्छ कि मधेशको ?
पद र प्रतिनिधित्वसँग जोडिएको कुरै छैन । यद्धपि मात्र राजनीतिक डायमेन्शन त एउटा मात्र कुरो हो । यी बाहेक अरु थुप्रै कुरा छ । हामीले युवाहरुलाई स्वंयसेवक तालिम दिइरहेका छौं । यसले मधेशका बच्चाहरुको स्वास्थ्य स्थिति सबल हुन्छ । राजनीतिको कुरा मात्रै त हुँदै होइन । जहाँसम्म प्रधानमन्त्रीको कुरा छ, पिजडामा राखिएको सुगालाई सुनकै पिजडामा राखिदिए पनि सुगा पिजडामै हुन्छ । मधेश मुलका व्यक्ति राष्ट्रपति त भए तर, कति सम्मान पाए हेर्नुभएन ? पहाडका व्यक्ति प्रथम राष्ट्रपति भइदिएको भए आज हरेक सरकारी कार्यालयमा उनको फोटो हुन्थ्यो । तर, खोइ त रामवरण जीले सम्मान पाएको ? त्यसैले नेपालको प्रधानमन्त्री भन्दा स्वतन्त्र मधेशका समान्य नागरिक हुनुमा बढी गौरव गर्छु ।
समग्र मधेशको एउटा प्रान्त बनाउन त यतिको गाह्रो छ भने स्वतन्त्र मधेशको परिकल्पना दिवास्वप्न होइन ?
हामीले प्रदेश माग्यौ र पाउन गाह्रो भो । देश माग्ने होइन, आफैले बनाउने हो । यसकालागि चाहनाको कुरा मात्रै हो । मधेशी जनताले यो महसुस गर्नसम्म ढिलाइ छ । यद्धपि यो सम्भव छ र अवश्य हुन्छ ।
तपाई नेपाली नागरिक हुनुमा गर्व गर्नुहुन्छ कि मधेशीमा ?
जो मेरो हुँदै होइन, त्यो म भएर पनि कसरी भन्न मिल्छ । मेरो राष्ट्रियता मधेशी हो । त्यसैले नेपाली हुनुमा मलाई कति पनि गर्व लाग्दैन ।
नागरिकता त लिनुभाको छ नि ?
नागरिकता त लिनै प¥यो । यो देशको नागरिकता हो । हामी नेपाली सम्राज्यको नागरिक जरुर हौं । गान्धीजीले पनि बेलायती सम्राज्यको परिचय पत्र बोक्नुभएको थियो ।
जारी मधेश आन्दोलनको समाधान कसरी हेर्नुहुन्छ ?
लक्ष्यबिनाको समाधान सम्भव नै छैन । अँध्यारोमा हथौडा ठोकेर सही ठाउँमा काँटी ठोक्न सक्नुहुन्न । मधेशी नेताले हथौडा ठोक्न कुनै कसर बाँकी राखेका छैनन् । पर्याप्त मिहिनेत गर्नुभएका छन् । तर, लक्ष्य नै छैन । कहिले भन्छन्, सरकार गिराइदिन्छौं, कहिले भन्छ सिंहदरबार घेर्छु । यसरी हुन्छ ? लक्ष्य सही राखेर एकै हथौडाले काँटी ठोक्न सकिन्छ । मधेश आन्दोलनको नेतृत्व सँग लक्ष्य नै स्पष्ट छैन । त्यसैले चार महिना मात्र भयो, चार वर्षमा पनि निक्र्यौलमा पुग्छ जस्तो मलाइ लाग्दैन ।
मधेश केन्द्रित मुद्दामाथि राजनीति गर्ने नेताहरुसँग भेटघाट हुन्छ ?
यो बराबर सम्भव भइरहेको छैन । म प्रयास गरिरहेको छु । केही दिन अगाडी हामीले सबै नेताको नाउँमा ज्ञापनपत्र जारी गरेका थियौं र भेटेरै दियौ । त्यसक्रममा संवाद भएको थियो ।
तपाइको मुद्दामा मधेशी जनताले त साथ दिएको छैन ?
मधेशका जनताले जति चाँडो बुझ्छन्, त्यति मधेश फायदामा हुन्छ । जति ढिलो हुन्छ, घाटा बढ्दै जान्छ । तपाइ हेर्दै हुनुहुन्छ सम्प्रदायिक दंगा बढ्न थालिसकेको छ । भर्खरै सप्तरीमै प्रहरीमाथि आक्रमण भयो । यसले हिंसा बढ्न थालेको देखाउँछ । हामी चाहन्छौं, शान्तिपुर्ण रुपमै मधेशको आजादी होस् ।
सप्तरीमा प्रहरीको हत्या भयो, यसलाई कसरी लिनुहुन्छ ?
जब आशा निराशामा बदलिन्छ, मानिस उग्र हुनु स्वभाविक हो । त्यो उग्रतालाई निकास दिने कि झन् उक्साउने हो त्यो नेतृत्वमा भर पर्छ । तर, दूर्भाग्य हो, मैले भन्नै पर्छ । मधेशी नेतृत्वले पनि खुल्ला भाषणमै अब हतियार उठाउँछौं भनिरहेका छन् । यो गलत हो । नेताले नै यस्तो आह्वान गरे जनताले त्यही बुझ्ने हो । त्यसैले जनतालाई गलत दिशामा जान दिनु हुन्न । शान्तिपुर्ण आन्दोलन गर्न सबैलाई आह्वान गर्नुपर्छ । सशस्त्र समूहरुले पनि बुझ्न सक्नुपर्छ, कठिन होला तर, अन्तिम निष्कर्ष शान्तिपुर्ण आन्दोलनबाटै सम्भव छ ।
तपाइको नाउँमा मधेशी युवाहरु पनि संगठित हुँदैछ । उनीहरुले पनि हतियार उठाउने हल्ला छ त ?
एकदमै होइन । मैले त सशस्त्र समूहहरुलाई पनि शान्तिपुर्ण आन्दोलनको मार्गले मात्रै मुक्ति सम्भव छ भन्न चाहन्छु । विगत एक सय वर्षमा ३ सय २३ वटा आन्दोलनको अध्ययन गरी निष्कर्ष निकालिएको छ । त्यसबाट के देखिन्छ भने सन् १९४० सम्म हिंसात्मक आन्दोलन देखिएपनि त्यसयता ७० प्रतिशत सफलता शान्तिपुर्ण आन्दोलनबाट भएको छ । हिंसात्मक आन्दोलनबाट मात्र १० प्रतिशत सफलता भएको देखिन्छ । त्यो पनि टिकाउ हुँदैन भन्ने सिद्ध भइसक्यो ।
हिंसाबाट तत्कालको लागि प्राप्त गरिहाले पनि टिकाउन सकिदैन । श्रीलंकाको तमिल टाइगर्सलाई हेर्नुस् । नेपालकै माओवादीलाई हेर्न सक्नुहुन्छ । आज मधेशीले भन्छन्, बन्दुक उठाउँछु । माओवादीले त बन्दुक मात्र उठाएन, नेपाल प्रहरी र सेनामाथि पनि जीत हासिल गरिसकेको थियो । तर, गणतन्त्र ल्याउन पनि जनआन्दोलनकै बुइँ चढ्नुप्यो । हतियारले सम्भव भएन ।
जहाँसम्म मधेशको कुरा छ । मधेशको जियोलोकेशन नै यस्तो छ, जहाँ हिंसाको कुनै गुञ्जायस नै छैन । विगतको सशस्त्र समूहहरुको हविगत नै हेर्नु भयो । अर्को, हिंसा जहाँ हुन्छ समस्या त्यही समुदायमा बढ्छ । मधेशमा सशस्त्र द्वन्द्व भयो भने सबभन्दा ठूलो घाटा मधेशले नै भोग्नुपर्छ । हामीले शान्त र समृद्ध मधेश चाहेका छौं भने शान्तिपूर्ण आन्दोलनबाटै अगाडी बढ्नुपर्छ ।
मधेशमा सिमित हुनुभन्दा त तराईको खाद्यान्न, पहाडको पानी र हिमालको जडिबुटीको सदुपयोग गरी नेपाललाई नै विश्वको नमूना देश बनाउन सकिन्छ । यसको नेतृत्व लिनुभो भने पो महानता झल्किन्थ्यो त ?
यति समृद्ध भएर पनि मधेश किन पछाडी प¥यो ? मधेशलाई अन्नको भण्डार भनिन्थ्यो । आज यहीँ भोकमरी फैलिसक्यो । किन ? एउटै कारण हो –यहाँ औपनिवेशिक शासन छ । सम्पति त हाम्रो हो तर, त्यसको उपयोग हामीले गर्न पाइरहेका छैनौं । त्यसैले हो अन्नको भण्डार भएर पनि भोकमरी फैलिएको । हामीले ठूलो समृद्धिको सपना त देखिरहेका छौं तर, सम्भव भइरहेको छैन । यसको मुख्य जड मधेशीको पहुँच शासन व्यवस्था र साधनस्रोतमा नहुनु नै हो । राजस्वकै कुरा गर्नुस् । मधेशमा तीन चौथाइ उठ्ने राजश्व खर्चको कुरा हुँदा एक चौथाइ पनि पाउँदैन । यो उपनिवेशको सिकारले हो ।
यो अभियानमा जनताको साथ त पाउनु भएको छैन नि ?
जनता आउँछन् । अहिले दिग्भ्रमणमा परेका छन् । अहिलेकै आन्दोलनमा हेर्नुस्, केका लागि आन्दोलन भनेर सबैले बुझेका छैनन् । तर, अधिकारको आन्दोलन भनेर सबै हिँडेका छन् । ढुंगामुढामा लागिरहेका छन् । जनता किन हाम्रो अभियानमा आउँछन् नै भनेर दावी गर्छु भने, मधेशका जनतासामु विकल्प छैन । अहिलेको दिग्भ्रमण टुट्दै छ । त्यसपछि सबै यो अभियानमै सहभागी हुन्छन् । र, यसमा राज्यले मलाई सघाउँदै छ । अन्तरिम संविधानमा लेखिसकेको अधिकार पनि पुर्ण संविधानबाट खोसिएपछि हाम्रो अभियानमा मधेशीको सहभागीता बढ्न थालेको हो ।
संविधान संशोधनको प्रक्रिया अगाडी बढ्दैछ । यसपछि त आन्दोलन साम्य हुन्छ र सबै प्रगतितर्फ उन्मुख हुन्छ नि ! सँधै आन्दोलनमै लागेर हुन्छ ?
आन्दोलन साम्य हुन्छ जस्तो मलाइ लाग्दैन । औपनिवेशिक समस्या छ । खुट्टामा घाउ हुन्छ, हातको अप्रेशन गरेर हुँदैन । ९५ प्रतिशत सेना मधेशमा छ । मधेशीको प्रतिनिधित्व कति ? संविधानमा जेसुकै लेखिए पनि जसको हातमा सेना हुन्छ, शासन उसैको हुन्छ । संविधानसभामा सेनाको मार्शल प्रयोग भएको हेर्नु भएन । त्यसैले संविधान संशोसधन गरेर अथवा संघीयता र मधेश अनुकुल सीमांकन गरेर मात्रै हुनेवाला छैन । स्वशासन र आत्मनिर्णयको अधिकार महत्वपुर्ण हो । जुन संविधान संशोधन गरेर दिन्छ जस्तो लाग्दैन मलाइ ।
यो बिनाको अधिकार दिनु र नदिनुमा के फरक छ ? अहिले पनि प्रधानमन्त्रीले मधेशीको नागरिकता छानबीन गर्नुपर्ने भन्दै हुनुहुन्छ, मन लागेको बेला जो कोहीको नागरिकता खारेज गर्न सक्छन् । त्यसैले समस्याको जडलाई केलाएर ठोस समाधान नगरेसम्म मधेशको आन्दोलन साम्य हुन्छ भनेर दावी गर्न मिल्दैन ।
जनकपुरका पत्रकार सुरेश यादवले केही दिनअघि गरेको कुराकानीको सम्पादित अंश