मधेश आन्दोलनलाई समर्थन गर्दै मजदुरको प्रदर्शन
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम माघ ४/संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा भईरहेको आन्दोलनलाइ समर्थन गर्दै मजदुरहरुले वीरगन्जमा जुलुस प्रदर्शन गरेका छन् । संघीय समाजवादी फोरम नेपाल सर्मथीत मधेशी ट्रेड यूनियन महासंघ नेपालको आह्वानमा गरिएको प्रदर्शनमा वीरगन्ज पथलैया कोरीडोरका मजदुर र मोर्चाका नेताहरुको सहभागीता रहेको थियो ।
वीरगन्जको पावर हाउसबाट निस्किएको जुलुस वीरगन्ज परिक्रमा गर्दै नाका स्थित मितेरी पुलमा पुगि सभामा परिणत भएको थियो । नाकामा आयोजित सभालाइ सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका पर्साका अध्यक्ष प्रदीप यादवले लम्बिदै गएको मधेश आन्दोलन माग पुरा नभएसम्म जारी रहने बताउँदै मधेशबाट चुनिएको सभासदहरुको कारण तीन दलले माग पुरा नगरेको आरोप समेत लगाए । कार्यक्रममा केन्द्रिय सदस्य करिमा बेगम मधेशी ट्रेड युनियन महासंघका अध्यक्ष पलटन ठाकुर, जिल्ला अध्यक्ष, मजदुर नेताहरु राधा रैनियार भोज महतो बासुदेव यादव लगायतले सम्बोदन गरेका थिए ।
सरकारसँग पटक–पटकको वार्ता सकारात्मक नभएपछि मोर्चाले पुस २७ गतेदेखि माघ ५ गतेसम्मका लागि आन्दोलनका थप कार्यक्रम घोषणा गरेको थियो । सोही अन्तरगत मधेशी ट्रेड यूनियन महासंघ नेपाल पर्साले जुलुस निकालेको हो । संविधान र त्यसभित्र सीमाङ्कनप्रति असन्तुष्टी जनाउँदै मधेशी मोर्चाले आन्दोलन थालेको आइतबार एकसय ५५ दिन पुगेको छ । त्यसतै वीरगन्ज रक्सोल बिचको सिमा नाकामा जारी धर्नाको भने १ सय १४ दिन पुगेको छ ।