सिरहाको चर्चित एमाले नेता सत्य नारायण यादबले पार्टी छाडे
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम सन्तोष कुमार सिरहा, ५ माघ / नेकपा एमालेका सगरमाथा अञ्चल कमिटी पूूर्व सदस्य तथा यूूवा नेता सत्यनारायण यादबले आज पार्टी परित्यागको घोषणा गरेका छन् । सिरहाको लहानस्थित गोपाल सेवा सदनमा पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । कम्यूूनिष्टको सिद्धान्त विर्सेर एमालेका नेताहरुले उत्पीडिनमा परेका वर्गको विपक्षमा उभिएकोले पार्टी परित्याग गरेको उनले बताए ।
विगत २५ वर्षदेखि एमालेमा निस्वार्थ भावनाले लागेपनि वर्तमान परिस्थितमा एमाले आफ्नै विचार र सिद्धान्तलाई विर्सेको नेता यादबले आरोप लगाए । उनले आफूू कम्यूूनिष्टकै विचार धाराका साथ अगाडी बढ्ने बताएपनि तत्काल कुन पार्टीमा प्रवेश गर्ने विषयमा केही बताएनन् ।
यूूवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष समेत भइरहेका यादब पार्टी परित्याग गर्दा भाबुक देखिए । उनले पार्टी परित्यागका कारण विगत ३/४ दिनदेखि सुत्न नपाएको पनि पत्रकार सम्मेलनमा बताए ।
लहान नगरपालिका २१ घर भएका यादबको सिरहा क्षेत्र नम्बर १ मा राम्रो पक्कड छ । उनले पार्टी परित्याग गरेपछि अगामी निर्वाचनमा एमालेलाई ठूूलो धक्का लाग्नेछ ।
यसकारण एमाले छाडेँ:
– सत्यनारायण यादब
नेपालमा विभिन्न समयमा भएको विभिन्न खाले आन्दोलन र परिवर्तनले देश अहिलेको अवस्थामा आइपुगेको छ । विभिन्न समयमा जनता, राजनीतिक व्यक्ति र राजनीतिक दलले गरेको संघर्षले बर्तमान अवस्थामा नेपाल संघीयता तर्फ उन्मुख भई संघीय गणतान्त्रमक मुलुक बन्न पुगेको छ । तर पनि देशमा सदियौं देखि रहेको विभेद र विभेदकारी नीतीले स्वचालित अवस्थामा समेत फरक फरक तरिकाले सदन, सडक र सत्ताबाट संघर्षहरु भइनै रहेको हामी सवैलाई अवगत भएकै कुरा हो ।
देशमा संचारलाई सरल तरिकाबाट सवै माझ पु¥याउन सक्ने क्षमता भएको पत्रकार मित्रहरु, विभेद र दमनमा परेकाहरुको आवाजलाई वकालत गर्ने मानवअधिकारकर्मीहरुलाई एकै ठाउँमा ल्याएर आफ्ना केही राजनीतिक कुराहरु आम जनता र राजनीति क्षेत्रमा पश्कन चाहन्छु ।
करिव २५ वर्ष देखिको मेरो राजनीतिक यात्रामा विभिन्न आरोह अवरोहहरुलाई चिर्दै यो अवस्थासम्म आईपुगेको छु । मेरो राजनीतिक सिद्धान्त अजेय माक्र्सवाद–लेलिनवाद हो र उक्त सिद्धान्तबाट म कतै पनि विचलित भएको छैन । तथापी नेपालको सन्दर्भमा माक्र्सवादलाई कथित खस आर्य अहंकारवादीहरुले आफ्नो समूदायको हितमा मात्र प्रयोग गर्दै आइरहेको छ । जसको कारण आज वर्ग संघर्ष गौण हुन पुगेको छ । वर्ग संघर्षको नाममा आज शोषित पीडित झनझन पीडित हुँदै गएको छ । त्यसको मूल कारण हो माक्र्सवादको गलत प्रयोग र व्याख्या । मैले बुझेको माक्र्सवादले समाजमा रहेका वर्गीय विभेदहरुलाई अन्त्य गर्दै वर्गविहीन समाजको निर्माण गर्नु हो ।
तर नेपालमा केही राजनीतिक व्यक्ति र दलहरुले उक्त सिद्धान्तलाई स्विकार गर्न सकेनन् या चाहिरहेका छैनन् । सदियौंदेखि शोषण उत्पीडनमा रहेका विभिन्न समूदायका जनताहरु विगतमा भएका विभिन्न राजनीतिक र देशको शासन व्यवस्था परिवर्तनको आन्दोलनहरुमा कोही पनि मधेसी, पहाडी, हिमाली भएर अलगिएनन् र सवै नेपाली भएर आन्दोलनलाई सफलता तिर अगाडि बढाए । विगतमा २०३६ सालको जनआन्दोलन, २०४६ सालको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, एकिकृत नेकपा माओवादीको नेतृत्वमा भएको १० बर्षे सशस्त्र द्वन्द, सात राजनीतिक दलको नेतृत्वमा भएको १९ दिने दोस्रो जनआन्दोलन र करिब १ महिनाको मधेश विद्रोहले नेपाललाई संघीय गणतान्त्रिक मुलुक बनाउन सफल भएको छ । तर संघीय गणतान्त्रिक नेपालको संविधान २०७२ घोषणा गर्दा मधेश विद्रोहबाट नेपालको अन्तरिम संविधान २०६३ मार्फत स्थापित भएको संघीयतालाई स्विकार गरेपनि मधेश र मधेसीलाई स्विकार गर्न अहिलेको प्रमुख राजनीतिक दलहरु पछाडि हटेको छ ।
त्यसैले सदियौंदेखि शोषण, उत्पीडन र अधिकारबाट बञ्चितीकरणमा परेका मधेसी, आदिवासी जनजाति, दलित र अल्पसंख्यक मुस्लिमहरु माथी पुनः अन्याय भएको छ । तसर्थ, यी उपेक्षित समुदायहरुको आन्दोलनबाट सदियौंदेखि राज्यसत्तामा रहेका खस आर्यको एकलौटी बर्चस्वलाई अन्त नगरुञ्जेलसम्म वर्ग संघर्षको पुनः थालनी सम्भव नहुने र समाजवाद स्थापना गर्ने कुरा कोरा कल्पना मात्र हुनेछ । त्यसैले मलाई लागेको छ कि आजको आवश्यक्ता कुनै निश्चित जाती, भाषा र संस्कृतिद्वारा गरिएको शोषण र उत्पीडनको अन्त्य गर्दै वर्ग संघर्षको माध्यमबाट वर्गविहिन समाजको निर्माण गर्नु हो ।
मैले आफ्नो २५ बर्षको राजनीतिक यात्रामा धेरै अनुभव र अनुभव बटुल्न साथ दिने साथीहरु बनाउने अवसर प्राप्त गरे । त्यसलाई म अगामी दिनको राजनीतिक यात्रामा समेत कायम राख्न चाहन्छु । संघर्षका रुपहरु परिस्थिति अनुसार परिवर्तन हुन सक्छ । कार्ल माक्र्सको द्वन्दात्मक उपागम (सिद्धान्त) ले समेत द्वन्द विनाको समाज हुन नसक्ने भनेका छन् । द्वन्दको कारणहरु फरक फरक हुने गर्दछ । समाज र राष्ट्रको रुपान्तरण पनि नयाँ र पूरानो वीचको द्वन्दबाट नै हुने भएकाले पुरानो परिपाटी, विचार आदिको तुलनामा नयाँ विचार राजनीति, परिपाटी आदिबाटै बर्तमान अवस्थाको बास्तविक्ता बाहिर आउने र त्यसको विश्लेषण समेत हुने मेरो विश्वास छ ।
कार्ल माक्र्सकै सिद्धान्तलाई हेर्ने हो भने समाजमा भएको भिन्न भिन्न समूहहरु बीच आ–आफ्नै उद्देश्यहरु पूरा गर्न उत्पन्न हुने वेमेल, टकराव, अन्तरविरोध हुने गर्दछ र त्यसैले राज्य व्यवस्थाको परिवर्तन, व्याप्त रहेको विभेद, दमन र शोषणलाई अन्त्य गर्न सकिन्छ । जुन विभेद, दमन र शोषणलाई अन्त्य गर्दै राज्यको शासन व्यवस्थालाई समानुपातिक समावेशी बनाउन चलिरहेको संघर्षको बाटोलाई अंगिकार गर्न लागेको छु ।
अन्तमाः माक्र्सबाद, लेलिनबाद र कार्ल माक्र्सको द्वन्दात्मक सिद्धान्त बमोजिम बर्तमान परिपेक्ष्यमा भइरहेको द्वन्दलाई आत्मसात गर्न नेपाल कम्यूनिष्ट पार्टी एमालेले नसकि व्यक्तिबाद र खसआर्यको विकासलाई मात्रै प्राथमिकतामा राखेकाले नेपाललाई संघीयता तर्फ उन्मुख गराउन २०६३ साल माघ ५ गते सिरहा जिल्लाको लहानमा पहिलो पटक ज्यानको आहुती दिनुहुने शहिद रमेश कुमार महतो लगायतका शहिदहरुको बलिदानी दिवसको दिन (आज) को मितिदेखि नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेको छु ।