सरकार आफै कालोबजारी गर्दैछ : महन्थ ठाकुर
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम पुष २६/तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफै कालोबजारी गरिरहेको आरोप लगएका छन् । ठाकुरले शनिबार विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै मधेशको माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । नयाँ पत्रिकामा छापिएको छोटो अन्तरवार्ता ।
वार्ता सकारात्मक भएको भनिरहेका वेला फेरि आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुभयो नि ?
वार्ता सकारात्मक ढंगले अघि बढेको छ, तर ठोस परिणाम आएको छैन । त्यसैले आन्दोलनको स्वरूप परिवर्तन गर्ने वा स्थगित गर्ने कुरा आएन । बल तीन दलको कोर्टमा छ । हामी कुन हदसम्म लचिलो हुने उहाँहरूको प्रस्ताव आएपछि छलफल हुन सक्छ । तर, अहिलेसम्म औपचारिक रूपमा उहाँहरूले प्रस्ताव लिएर आउनुभएको छैन । कांग्रेस नेता महेश आचार्य बाहिर भएकाले कार्यदलको बैठक बस्न सकेको छैन ।
नाकामा धर्ना, आमहडताल र कर अहसयोग आन्दोलन जारी राख्नुभएको छ । यसको असर जनतालाई परेको देखिए पनि सरकारलाई परेको देखिन्न नि ?
मधेसका जनता झन् दोहोरो मारमा परेका छन् । नाकामा धर्ना भए पनि सामान त आइरहेको छ नि । त्यो सामान कहाँ गएको छ ? कसले पाएको छ ? सरकार आफैँ कालोबजारी गरिरहेको छ । कालोबजारी नियन्त्रण गर्न सबैले जोड दिनुपर्छ ।
तपाईंहरू वार्तामा कुन हदसम्म लचिलो हुन सक्नुहुन्छ त ?
पहिला तीन दलको धारणा आउनुपर्यो, त्यसपछि मात्रै हाम्रो धारणा बन्छ । पहिलो चरणमा हामीले आफ्ना धारणा ११ बुँदेमा उल्लेख गरिसकेका छौँ । अहिले संसद्मा पुगेको विधेयक कुन रूपमा संशोधन हुन्छ, त्यसबाट पनि एउटा धारणा बन्न सक्छ । संविधान संशोधनका लागि २४ वटा परिमार्जन प्रस्ताव दर्ता भएका छन् । तीमध्ये कुन पास हुन्छ, त्यसपछि मात्रै हामी केही भन्न सक्छौँ ।
कहिले खुल्छ त नाका ?
त्यो सरकारको हातमा छ । जहिले माग पूरा हुन्छ, त्यसपछि नाका खुलिहाल्छ नि । सरकार नै जिम्मेवार भएन ।