सदभावना पार्टीद्वारा अलग्गै आन्दोलन घोषणा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष १८/ मधेसमा आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले मोर्चा भन्दा बाहिर अलग आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सद्भावनाले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर पुस १९ देखि २७ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा पुष १९ गते धार्मिक वा सार्वजनिक स्थलमा प्रार्थना सभा गर्ने, २० गते एक घन्टा मौन व्रत, २१ गते भित्ते लेखन, २२ गते साइकलदेखि ठेलासम्ममा कालो झण्डा राख्ने र हातमा कालो पट्टी बाँध्ने र २३ गते शहिदको सम्झनामा मैनवत्ती बाल्ने उसको कार्यक्रम छ । त्यसैगरी पुष २४ गते भारतसहित विश्वभर रहेका आफन्तलाई मधेस आन्दोलनबारे इमेल, फेसबुक म्यासेजमार्फत जानकारी दिने, २५ गते अन्य दलका सांसदलाई पार्टी छाडेर आउन दबाव दिन हस्ताक्षर संकलन गर्ने, २७ गते मधेस आन्दोलन १५० दिन पुगेको दिन एक दिन उपवास बस्ने कार्यक्रम छ । पत्रकार सम्मेलनमा सद्भावना पार्टीका महासचिव मनिष सुमनले आफूहरु मोर्चाबाट अलग नभएको स्पष्ट पार्दै मोर्चासँगको समन्वयमा नै आन्दोलनको कार्यक्रम तय गरिएको दावी गरे । पत्रकार सम्मेलनमा नयाँ दिल्लीमा उपचार गरिरहेका अध्यक्ष राजेन्द्र महतोको हस्ताक्षर छ । मोर्चाभित्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुरवीच लामो समयदेखि मतभेद रहँदै आएको छ । यादवले सार्वजनिक रुपमै महतोको आलोचना गर्दै आएका थिए । सद्भावनाका अलग आन्दोलन कार्यक्रम उसको मोर्चा छाडेर मधेस आन्दोलनको नेतृत्व लिने योजनामा आएको बताईएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्