कडा सुरक्षाका बीच राउतको कार्यक्रम सम्पन्न, राउतलाई पक्राउ गर्ने प्रहरीको योजना बिफल
Advertise Here Book Now
राजविराज, १६ पुस । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सिके राउतलाई पक्राउ गर्नुका साथै कार्यक्रम विथोल्ने सप्तरी प्रहरीको योजना विफल भएको छ ।
राजविराज स्थित साह धर्मशालामा विहीवार आयोजना गरिएको जिल्ला परिषद्मा डा. राउतलाई नियन्त्रणमा लिएर कार्यक्रम विथोल्ने योजना विफल भएको हो । विहान ११ बजे बोलाइएको उक्त भेलामा करिब एक बजेको समयमा गठबन्धनका संयोजक राउत युवाहरुका साथ मोटरसाइकलमा चढेर सहभागी भएका थिए ।
कार्यक्रम शुरु भएदेखि नै धर्मशाला क्षेत्रमा सादा पोशाकका प्रहरीहरु सूचना संकलनकालागि खटिएका थिए । डा. राउत कार्यक्रममा सहभागी भई स्वराज आन्दोलनको भावी योजना तथा आवश्यक तयारीलगायतका विषयहरुमा विचार गरिरहँदा कार्यक्रम स्थल आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
परिषद्को बैठकमा प्रोजेक्टरको माध्यमले बिस्तुतमा प्रशिक्षण दिईरहेको अवस्थामा करिब तीन बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरज खड्काको नेतृत्वमा करिब एक सयको संख्यामा सशस्त्र तथा नेपाल प्रहरीको टोली आवश्यक तयारीका साथ पुगेका थिए । प्रहरी निरीक्षक खड्काको नेतृत्वमा रहेको टोलीले धर्मशालाको मूल ढोका खोल्ने प्रयास गर्दै ढोकामा हिर्काए पनि गठबन्धनका नेताहरुले भित्रबाटै चुकुल लगाएर कार्यक्रमलाई निरन्तरता दिईरहे ।
डा. राउतले गठबन्धनको आगामी कार्ययोजना सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम सकिएपछि करिब चार बजेको समयमा सयौं कार्यकर्ताहरुका साथ मूल गेटबाट बाहिरिएका थिए । कार्यक्रममा सहभागी गठबन्धनका नेता तथा कार्यकर्ताहरुको सुरक्षा घेरा र कार्यक्रम स्थल बाहिर रहेको जनमानसको बाक्लो उपस्थितिका कारण उनलाई प्रहरीले पक्राउ गर्न सकेनन् । करिब ५० मिटर पैदलै हिडेका राउतलाई गठबन्धनका युवाहरुले मोटरसाइकलमा राजविराज नगरपालिका वडा नम्वर–९ स्थितको घरमा पुर्याएका थिए ।