राष्ट्रपति भण्डारीले मुख खोले , ‘संघीयता हतार गरी ल्याइयो’
Advertise Here Book Now
काठमाडौं, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयताको मोडलमा छलफल नै नगरी हतारमा ल्याएको बताउनुभएको छ ।
शीतल निवासस्थित आफ्नै कार्यालयमा आज संसदको रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको भेटका क्रममा राष्ट्रपति भण्डारीले संघीयताको सैद्धान्तिक विषयमा गम्भीर रुपमा छलफल नभएको बताउनुभयो ।
‘संघीयताको मोडलमा छलफल नै नगरी ल्याउने काम भयो’, उहाँले भन्नुभयो, ‘सैद्धान्तिक रुपमा संघीयताको विषयमा धेरै गृहकार्य गर्नुपर्ने थियो । हेर्दै जाउँ पछि के हुन्छ हेरौँला ।’
उहाँले संघीयताको सीमाङ्कन गर्दा मुलुकको प्राकृतिक स्रोत साधनलाई ध्यान नदिइ आफू खुसी बनाइएको भन्दै असन्तुष्टि जनाउनु भयो ।
संघीयताको विषयलाई लिएर दलहरूबीच विवाद भइरहेका बेला राष्ट्रपति भण्डारीले सो विषयप्रति चिन्त दुःखाउनु भएको हो । उहाँले संघीयताको विषयमा आफू असन्तुष्ट रहेको संकेत घुमाउरो भाषामा दिनुभएको छ ।
मुलुकमा रहेको विभाजित मनस्थितिलाई मिलाएर लैजानु पर्ने उहाँको भनाइ थियो । ‘राष्ट्रिय एकता खण्डित छ भन्ने त्यस्तो मलाई लाग्दैन’, राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘सबैलाई मिलाएर लैजानु पर्छ । सुतेको मान्छेलाई उठाउन सकिन्छ । तर सुतेको जस्तो गर्नेलाई व्यूझाउन गाह्रो हुन्छ । राजनीतिक सहमति आवश्यक पर्छ ।’
मधेसी मोर्चा र अन्य केही असन्तुष्ट दलहरूप्रति लक्षित गर्दै राष्ट्रपति भण्डारीले सबैलाई मुलुकको परिस्थितिप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
मुलुकमा भइरहेको नाकाबन्दी र आपूर्ति व्यवस्थाका विषयमा सरकारले आफूलाई केही जानकारी नगराएका राष्ट्रपति भण्डारीको भनाइ थियो ।
‘सरकारले नाकाबन्दी र आपूर्ति व्यवस्था असहज भएको विषयमा मलाई जानकारी गराएको छैन’, उहाँले भन्नुभयो, ‘जानकारी भयो भने मैले आफ्नो तर्फबाट गर्ने कुरा गर्नेछु । राष्ट्रपति भण्डारीले अगाडि भन्नुभयो, ‘संविधान संशोधन भएपछि मुलुकमा देखिएको असहजता हट्छ भन्ने जानकारी पाएको छु । हट्छ होला ।’
सरकार र संसद मिलेर कानुन बनाइ नयाँ संविधान लागू गर्ने बताउनुभएकी राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘कानुन बनाउने संसद र सरकारले हो’, उहाँले भन्नुभयो, ‘यसमा सबै दलहरूको पनि सहयोग हुनुपर्छ ।’