ऋतिक रोशन काण्डपछि म नेपालीबाट मधेसी बनेँ – सिके राउत
Advertise Here Book Now

काठमाडौं – स्वतन्त्र मधेस अभियानमा लागेका डा. सिके राउतले आफू सन् २००० को डिसेम्बरमा महिनामा भएको ऋतिक रोशन काण्डपछि नेपालीबाट मधेसी बनेको बताएका छन् । आफूलाई सच्चा नेपाली ठान्ने राउतले त्यस घटनापछि भने आफ्नो विचार बदलिएको बताएका हुन् ।
‘ऋतिक रोशन काण्डअघि म आफूलाई सच्चा नेपाली ठान्थे । तर, त्यो घटनाले भने मलाई नेपालीबाट मधेसी बनायो,’ भारतीय मिडिया
हिन्दुस्तान टाइम्स सँगको अन्तर्वार्तामा राउतले भनेका छन्, ‘ऋतिक रोशनले दिएको कथित नेपालविरोधी अभिव्यक्तिपछि नेपालमा दंगा शुरु भयो जसमा मधेसीलाई निशाना बनाइयो । (पछि ऋतिकले आफूले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्टिकरण दिए) म त्यतिबेला काठमाडौंमा इन्जिनियरिङको विद्यार्थी थिएँ र जाडो बिदामा बसिरहेको थिएँ ।’
राउतले उक्त घटनामा मधेसीहरुलाई कुटिएको र घरसमेत जलाइएको देखेको बताए । ‘यसमा म पनि मेरो एकजना नजिकको साथीहरुबाटै पीडित बनेँ,’ उनले भने, ‘सो घटनाले मलाई मेरो पहिचान र राष्ट्रियता खोज्न बाध्य बनायो । म आफूलाई नेपालको लागि मर्न तयार रहेको ठान्थें जबकी म नेपाली नै रहेनछु ।’
यस काण्डपछि आफू भारतमा आध्यात्मिक भ्रमणका लागि गएको र त्यहीँबाट आफ्नो पहिचानबाट भाग्न नहुने कुराको बोध भएको राउतले अन्तर्वार्तामा बताएका छन् । ‘यो मेरो जीवनको निर्णायक मोड थियो जसपछि म स्वतन्त्रताको वकालत गर्ने भएँ ।’
राउतले मधेसी जनताको दुःख र पीडाका कारणनै क्यामब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेर अमेरिकामा हजारौं डलर कमाउन सक्ने हुँदाहुँदै पनि नेपाल फर्किएको बताए । ‘जब मानिस भौतिक इच्छाहरुबाट माथि उठ्छ ऊ व्यक्तिगत र पारिवारिक आवश्यताभन्दा माथि हेर्न थाल्छ,’ राउतले भनेका छन् ।
राउतले अधिकांश मधेसी जनता अब स्वतन्त्र मधेसको पक्षमा रहेको दाबी गर्दै यसका लागि जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् । ‘यदी जनमत संग्रहमा जनताले स्वतन्त्र मधेसको अवधारणालाई अस्वीकार गर्छन् भने त्यसलाई पनि म स्वीकार गर्छु,’ उनले अन्तर्वार्तामा भनेका छन् ।
२५ वर्षको अन्तरालमा ३० वटा देश स्वतन्त्र बनेको इतिहास सुनाउँदै राउतले नेपालबाट मधेस स्वतन्त्र हुनु असम्भव नरहेको बताएका छन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्