शान्तिमन्त्री ढकाललाई बर्खास्त गरी कारबाही गर्न हिन्दू युवा संघको माग
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम माघ २१ । शान्तिमन्त्री एकनाथ ढकालले क्रिष्चियन धर्मको प्रचार गरेको भन्दै हिन्दू युवा जनशक्ति संघ नेपालले बर्खास्त गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । नेपाल सरकारका मन्त्री ढकालले सांसदहरूको टोलीलाई विशुद्ध रूपमा क्रिस्चियन धर्मको प्रचार एवं प्रवद्र्धन गर्ने उद्देश्यले विदेश लैजान खोजेको योजना अत्यन्तै निन्दनीय, गैरजिम्मेवार र दण्डनीय रहेको भन्दै युवा संघले आपत्ति जनाएको छ ।
‘यसअघि पनि ढकालले क्रिष्चियन धर्मको प्रचार प्रसारका लागि देशका विभिन्न नेताहरूलाई विदेश भ्रमण गराउन खोजेको, मन्त्रालयमै क्रिष्चियन धर्म गुरुहरुसँग गोप्य भेटभाट गर्ने गरेको र मन्त्रालयको काम कारबाही भन्दा पनि हिन्दु धर्मावलम्बीको धर्म परिवर्तन गराउन क्रिष्चियन धर्मको प्रचारमा सक्रिय रहेको पाइएको छ’ युवा संघका अध्यक्ष विकास कुमार ठाकुरले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । ढकाललाई तत्काल मन्त्री पदबाट बर्खास्त गरी कडा कारबाही गर्न नेपाल सरकारसँग संघले माग गरेको छ ।