विवाह समारोहमा गोली चल्यो
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम जनकपुर, फागुन १६ – धनुषाको सबैला नगरपालिकामा विवाहमा गोली चल्दा दुई जना घाइते भएका छन् । सबैला–८ गोविन्दपुरका दीपनारायण मण्डलकी छोरीको विवाह अन्तर्गत शनिबार राति मटकोर कार्यक्रममा प्रहरी र स्थानीय बासिन्दाबिच विवाद भएपछि प्रहरीले गोली चलाएको हो ।
स्थानीय बासिन्दाले चर्को आवाजमा गीत बजार नाचगान गरेपछि प्रहरीले त्यसो नगर्न आग्रह गरेको थियो । यस विषयमा प्रहरी र स्थानीय बासिन्दाबिच विवाद भएको हो । भिड बढ्दै गएपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर विमल मण्डल र कमलेश मण्डल घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवै जनालाई उपचारको लागि विपी कोइराला विज्ञानप्रतिष्ठान धरान लगिएको छ ।
स्थानीयबासिन्दाले भने रक्सी खाएर नाचेका प्रहरी हबल्दार सुरेन्द्र यादवले दुई राउण्ड गोली चलाएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले भने प्रहरीले एक राउण्ड मात्र गोली चलाएको दाबी गरेको छ ।
रक्सी खाएर नाचगान गरेका दुई पक्षबिच विवाद भएपछि प्रहरी बोलाएको र विवाद रोक्ने क्रममा प्रहरी माथि नै आक्रमणको प्रयास भएपछि जवाफी कारबाही स्वरुप एक राउण्ड गोली चलाएको धनुषाका प्रहरी उपरीक्षक रामदत जोशीले बताउनुभयो ।
स्थानीय बासिन्दाले एक राउण्ड गोली चलाएपछि आत्मरक्षाको लागि आफूले एक राउण्ड मात्र गोली चलाएको हबल्दार यादवले बताउनुभएको छ ।