सर्लाही प्रहरीले फोरम जिल्ला अध्यक्ष यादवलाई पक्राउ गर्याे
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन २३ । संघीय समाजवादी फोरम नेपालका सर्लाही जिल्ला अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही सदरमुकाम मलंगवामा रहेको गोरखकाली प्रहरी चौकीमा चन्दा माग्न पुगेका यादवलाई प्रहरीले शनिबार राति साँढे ११ बजे पक्राउ गरेको हो ।
सोमबार पार्टीले सर्लाहीको लालबन्दीमा गर्ने भनेको आमसभालाई सहयोग गर्न भन्दै यादव चिठ्ठी बोकेर प्रहरी चौकीमा चन्दा माग्न पुगेका थिए । त्यसैक्रममा यादवले चौकीका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक प्रेम यादव माथि हातपात समेत गरेकाले नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए ।
फोरम अध्यक्ष यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ । मधेस आन्दोलनका बेला पनि जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेको भन्दै प्रहरीले यादवलाई एक हप्तासम्म हिरासतमा राखेपनि व्यापक जनप्रदर्शनले दवाब बढेपछि छाडेको थियो ।
संघीय समाजवादी फोरम नेपालले सोमबार लालबन्दीमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव लगायतका नेताको उपस्थितीमा सभा गर्दैछ । पार्टीका जिल्ला अध्यक्ष नै पक्राउ परेपछि सभाको तयारी नै प्रभावित भएको नेताहरुले बताएका छन् ।