मधेसीका नाममा मुठ्ठीभर व्यक्तिहरुलाई अवसरः मन्त्री मण्डल
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन २४ । नेकपा (एमाले)का नेता एवम् युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले मधेस र मधेसीका नाममा मुठ्ठीभर मानिसहरुले सम्पूर्ण पद र अवसर लिइरहेको दावी गरेका छन् ।
मदन भण्डारी फाउण्डेशन सप्तरीद्वारा राजविराजस्थित जिल्ला विकास समितिको सभाकक्षमा सोमबार आयोजित ‘बर्तमान नेपालको संविधानको प्रकाशमा समावेशीकरण र आर्थिक सामाजिक समृद्धि’ विषयक विचार गोष्ठिमा मन्त्री मण्डलले उक्त दावी गरेका हुन् । मन्त्री मण्डलले दुई लाख ३० हजार जनसंख्या भएको मधेसका उच्च जातीहरुले मधेसको नाममा अन्य ८५ प्रतिशत मधेसीहरुको भाग खाई भ्रमको खेती गरेको आरोप लगाए । अतिवादको खेती गर्नेहरुबाट सावधान रहन अपील गर्दै उनले मधेसी मोर्चाको अव्यावहारिक र अवैज्ञानिक माग मधेस र देश दुबैको अहितमा रहेको बताए ।
विभिन्न देशको संविधानको तुलनात्मक अध्ययन गर्नेहरुले नेपालको संविधानलाई उत्कृष्ठ रहेको बताएको मण्डलले जनाए । मधेसलाई कहिले जाती त कहिले भूगोल भनेर भ्रम सृजना गरी सदियौदेखि मिलेर बसेका समुदायबीचको सामाजिक सद्भाव बिगार्ने प्रयास गरेको उनको आरोप थियो ।
फाउण्डेशनका संयोजक रामलखन मुखियाको अध्यक्षतामा सम्पन्न गोष्ठिमा लोकसेवा आयोगका सदस्य अशोक झा, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. कामानन्द देव, एमाले पोलिटब्युरो सदस्य रामप्रित पासवान, केन्द्रीय सदस्य सुमनराज प्याकुरेल र जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले मन्तव्य राखेका थिए ।
यसैबीच खेलकुदमन्त्री मण्डलले खेलकुद विकास समितिको कार्यालय र कभर्ड हलको निरीक्षण गरे । पहिलो पटक गृहजिल्लाको खेलकुद कार्यालय पुगेका मन्त्री मण्डललाई खेलकुद विकास समितिका पदाधिकारी, कर्मचारीहरु, विभिन्न खेलकुद संघका अध्यक्ष एवं खेलाडीहरुले पुष्पमाला लगाएर स्वागत गरेका थिए । कार्यालय र विभिन्न खेलकुद संघका अध्यक्षहरुले जिल्लाको खेलकुदको अवस्था र आवश्यक्ताका बारेमा मन्त्री मण्डललाई जानकारी गराउँदै योजना प्रस्तुत गरे । कार्यालय र समितिका पदाधिकारीहरुले मन्त्री मण्डललाई दोसल्ला ओढाउँदै मायाको चिनो समेत प्रदान गरेका थिए ।