आइजीपी अर्यालको गाउँमा डकैती, अनुसन्धान जारी ।
Advertise Here Book Now
स्थलगत रिपोर्ट
राम नारायण पंडित, सिरहा, ०४ जेष्ठ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको गाउँ जिवामा शुक्रबार भएको डकैती अहिले चर्चाको बिषय बनेको छ । सिरहा जिल्ला अन्तर्गत रहेको मिर्चैया नगरपालिका ७ जिवामा शुक्रबार राती करीब १ बजे १५ जनाको समूहमा आएका नकावधारी डाँकाको समूहले बम विस्फोट गराउँदै डकैती गरेका छन् । डाँकाहरुले मिर्चैया नगरपालिका ७ का राजाराम यादव, रामेश्वर यादव र प्रकाश तिबारीको घरबाट गरी लाखौको धनमाल लुटेर लगेका छन् । डाँकाहरुले नगद, सुनचाँदीका गरगहना, मोबाइल, ल्यापटप, मोबाइल र अन्य जिन्सी सामान गरी अन्दाजी १० बराबरको धनमाल लुटेर लगेको पिडितहरुले बताएपनि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले करीब ३ लाख मोलबराबरको समान लुटेर लगेको बताए । यस सम्बन्धमा अनुसन्धान पनि भईरहेको उनले थपे । डाँकाहरुले प्रकाश तिवारीको घरबाट चार तोला सुन, नागरिकता प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र लगायतका अन्य घरायसी प्रयोजनका सामानहरु लुटेर लगेका छन् । त्यस्तै, राजाराम यादवको घरमा दश हजार रुपियाँ बराबरको सरसामान लुटपाट गरेका छन् भने रामेश्वर यादवको घरबाट नगद, एक थान ल्यापटप, दुई तोला सुन, २४ तोला चाँदी, मोवाइल र अन्य समानहरु लुटेका छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैया घटना स्थल भन्दा मात्र एक किलोमिटरको दुरीमा ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट करीब एक किलो मिटरको दुरीमा घटनास्थल पर्छ । तर, समयमा प्रहरी घटनास्थल नपुगेपछि डाँकाहरु लुटपाट गरी भाग्न सफल भएको स्थानीयवासीहरुले बताए । प्रहरीलाई खबर गरेपनि समयमा नआएकोले प्रहरी माथी पनि शंका उत्पन्न भएको पिडित राजाराम यादबले आरोप लगाए । डकैती भईरहेको जानकारी ईलाका प्रहरी कार्यालयमा गराउँदा पनि ड्यिुटीमा रहेका प्रहरीले अर्को नम्बरमा फोन गर्नुस भन्दै फोन काटेको स्थानियको आरोप रहेको छ । डकैती भईरहेको जानकारी गराएको भएपनि प्रहरी एक घण्टा भन्दा ढिलो गरी मात्र घटनास्थलमा पुगेको पिडितहरुले गुनासो गरे । खबर गरेपछि छिटो किन नआउनु भएको भनेर प्रहरीलाई भन्दा “आफुलाइ पनि ज्यानको डर रहेको भन्दै पन्छिन खोज्यो” स्थानियले थपे । यता, ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीले घटनाको जानकारी पाउने लगते आफु घटना स्थलमा पुगेको बताए । उनले भने “मलाई राती १ बजेर ५२ मिनेटमा फोन आयो र म २ बजे घटनास्थलमा पुगे तर तर डाँकाहरु भगिसकेको थियोे” ।
प्रतिकार गर्दा एक महिला घाइते ।
डाँकाको प्रतिकार गर्दा राजाराम यादबको बहिनी अन्दाजी ३५ बर्षीय ललितादेवी यादव घाइते भएकी छिन् । आफु निन्द्रामा सुतिरहेको बेला डाँकाहरु आएर सुनचाँदी छिटो ल्याउ भन्दै गाली गलौज गर्दै कुटपिट गरेको घाइते महिला ललिताले बताए । आफुसंग केहि छैन् भनेर भाग्न खोज्दा डाँकाहरुले कुटपिट गरि घाइते बनाएको उनले सुनाए ।
बम विस्फोट गर्दै डकैती ः स्थानियबासी ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJ3MZIn1lcYTc0wn8ig2sc4dM9S5iWwmxVCiioDnFpG6PPJu92PQI97ilQFbVpql8L-4Vqm4TDaG6_c_tthPippA89O43eJC2sMvhlm7RmhGiVA0smbSjTaFm4ApkyWaB8mA08aPaOCGQ/s320/13230996_969302769856028_324325682_n.jpg)
प्रहरीको अनुसन्धान फ्तिलो ः पिडित ।
डकैती भएको ३ दिन बिते पनि प्रहरीले अहिले सम्पन्न घटनाको नजिक पुग्न सकेको छैन । “यसबाट प्रष्ट हुन्छ कि प्रहरीको अनुसन्धान कमजोर छ” पिडितले गुनासो गरे । घटनास्थल नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त आर्यालको घर भन्दा करीब २ सय मिटर र ईलाका प्रहरी कार्यालय मिर्चैया भन्दा करिब एक किलोमिटरको दूरीमा मात्र रहेको छ । “आइजिपि आर्यालको घरमा अन्य दिन राती अबेर सम्म डियुटीमा रहने प्रहरी घटना भएको दिन त्यहाँ थिएनन्, यसबाट प्रहरीमाथि शंका उत्पन्न भईरहेको छ” पिडित राजारामले बताए ।
पिडित प्रहरी कार्यालय घेराउको तैयारीमा ।
पिडितहरुले ४ दिन बिते पनि प्रहरीले अनुसन्धानमा तदारुक्ता नदेखाएकोले आफुहरु ईलाका प्रहरी कार्यालय मिर्चैयाको घेराउ गर्ने तयारी गरेको पिडितहरुले बताएका छन् । मिर्चैयाका प्रहरी नायब उपरीक्षक चौधरीले डकैतीको अनुसन्धानलाई सामान्य चोरीको घटना जस्तै अघि बढाएको भन्दै पीडितहरु आक्रोशित भएका छन् ।
अनुसन्धान तीब्र रहेकोले अपराधि छिटो नियन्त्रणमा आउने ः डिएसपी चौधरी ।
शुक्रबार राती मिर्चैया ७ जिवामा भएको डकैतीको अनुसन्धान सुक्ष्म तवरले भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले बताएका छन् । घटनाको अनुसन्धान बिभिन्न किसिमले भईरहेकोले अपराधी छिटो नियन्त्रणमा आउने उनले बिश्वास व्यक्त गरे । घटनास्थलको प्रकृतिको समेत अध्ययन गर्दै अनुसन्धान गरिरहेको उनले थपे । अनुसन्धानको क्रममा केहि ब्यक्तिलाई पक्राउ गरे पनि वास्तबिक अपराधि नजिक नपुगेको र छिटै अपराधि नजिक पुग्ने उनले दाबी गरे । सुरुमा कुकुर ल्याएर अनुसन्धान गर्ने बताएपनि बर्षा भएकोले नल्याएको डिएसपी चौधरीले बताए । उनले घटनाको अनुसन्धान भईरहेको र केहि सामग्री समेत बरामद भएकोले चाडै घटनाको सत्यतथ्य सार्बजनिक गर्ने बताए । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञवाली डकैती नभएर चोरी रहेको बताएका छन.् । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको एसपी ज्ञावालीले बताए ।