सडक बनाउन हरेक दिन सुन्दर अभियानीहरु आन्दोलनमा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम बैशाख २६ । महोत्तरी जिल्लामा विभिन्न रचनात्मक काम गरेर प्रशंसा बटुलिसकेका सुन्दर अभियानी युवाहरुले अबको सम्पूर्ण ध्यान जनकपुर–भिठ्ठामोड सडक निर्माणको कामलाई अविलम्ब प्रारम्भ गर्न दवाव सृजना गर्ने कार्यमा लगाएका छन् । ‘सडक बनाऊ या फाँसी देऊ, किस्तावन्दीमा मृत्यु चाहिंदैन’ नाराका साथ जिल्लाको विभिन्न गाउँका सुन्दर अभियानी युवाहरु अहिले हरेक दिन जनकपुर भिठामोड सडकमा एक घण्टा चक्काजाम गर्दै आएका छन् । महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा यातायात मन्त्रीलाई बैशाख १९ गते एक ज्ञापनपत्र बुझाई तत्कालै हुलाकी सडकको रुपमा रहेको यो सडकलाई बनाउन माग गर्दै एकहप्ता भित्र नबने आन्दोलनमा जाने चेतावनी दिइएको सुन्दर अभियानी मनोज झा मुक्तिले जानकारी दिए । उनले प्रशासनको तर्फबाट कुनै रेस्पोन्स नआएपछि आफूहरु हरेक दिन जनकपुर–भिठामोड सडकको हरेक चोक चोकमा साढे ९ बजेदेखि साढे १० बजेसम्म एक घण्टा चक्काजाम गर्दै आएको बताए । चक्काजामको क्रममा कविता वाचन, विभिन्न व्यक्तित्वहरुका भाषण तथा रचनात्मक कार्यक्रम हुने गरेका छन् । वर्षौंदेखि सो सडक जर्जर भएका कारणले दिनहुँ गाडी दूर्घटना भई मृत्यु हुने, अंगभंग हुने, सडकमा यात्रा गर्ने तथा त्यसको वरपर घर बनाएर बस्ने गरेका व्यक्तिहरुमा धुलोको कारणले विभिन्न रोगको शिकार हुनुपरेको देखिएको छ । सडकको अवस्थाको कारण भारतबाट जनकपुरका लागि आउने तीर्थयात्रीको संख्यामा समेत कमी भएको छ भने यस सडकको मारमा प्रत्यक्षरुपमा भिठ्ठामोड भन्सार परेको छ । विगत चारवर्षदेखि विभिन्न रचनात्मक काम गरेर जिल्लामै राम्रो छवि बनाउन पुगेका सुन्दर अभियानी युवाहरु पोहोर वर्ष पनि आफ्नो गाउँलाई सुन्दर आफै बनाउ भन्ने नाराका साथ जिल्लाको बेला एकडारामा वर्षौदेखि जिर्ण रहँदै आएको सडक मरम्मत गरेका थिए । जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु तथा सुन्दर अभियानका युवाहरु मिलेर २० किलो चिनीको सर्वत बनाएर ५ सय मिटर सडक मरम्मत गरेका थिए । यो कुनै संस्था होइन, न त कुनै कार्यालयले दिएको बजेटबाट चल्छ यो त स्वस्फूत रुपमा महोत्तरीका युवाहरुले केही गर्नुपर्छ र सबैलाई जिम्मेवार बनाउनुपर्छ भन्ने अभिप्रायले अगाडी आएको अभियान रहेको सो अभियानमा संलग्न युवा रोशनसिंह राणाले बताए । पिपराबाट सडक अवरुद्धको कार्यक्रम प्रारम्भ गरेका सुन्दर अभियानीहरु परिकौली, सहोडवा चाँदनी चौक, बिन्ही, पर्सापुल, जलेश्वर जीरो माइल र लादो बेला, जलेश्वर, खैराचोकमा चक्काजाम गरिसकेका छन् । सुन्दर अभियानीहरुले वैशाख २९ गते बुधबार भिठ्ठामोड–जनकपुर सडकखण्डको हरेक चोक साढे ९ बजे देखि साढे १० बजेसम्म सडक ठप्प पार्ने कार्यक्रम रहेको जनाएका छन् । भारत सरकारले निर्माणको जिम्मा लिएको भिठ्ठामोड–जनकपुर सडक हुलाकी राजमार्गमा गाभिएको कारण टेन्डर भई ठेक्का लागेपनि कन्सल्टेन्ट राख्ने विवादमा ठेकदारसँग सम्झौता हुन सकेको छैन । स्थानीयवासीले जसरी भएपनि अविलम्ब निर्माण कार्य प्रारम्भ गर्न सरकारसँग माग गरिरहेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्