हराएको सात लाखको चेक आन्दोलनमा पुगेका मधेशीले जनजातिलाई फर्काए
Advertise Here Book Now
सत्य र इमानदारीको मार्गलाई मधेशीहरुले बडो निष्ठापूर्वक पछ्याउँदै आएको उदाहरण बनेका छन् सूचना प्रविधि विशेषज्ञ सन्तोष साह कसेरा । सङ्घीय गठबन्धनद्वारा आयोजित सिँहदरबार घेरावको कार्यक्रम अवलोकन गर्न पुगेका कसेराले हनुमानस्थान क्षेत्रमा बाटोमा फेला पारेको सात लाख रुपियाँको चेक प्रहरीको रोहबरमा सम्बन्धित व्यक्तिलाई केही बेरअघि फर्काएका छन् ।
साहले बिजुलीबजारस्थित भाटभटेनी अगाडि आन्दोलनकारीहरुको बाक्लो भिड भएको स्थानमा सो चेक फेला पारेका थिए । शिवश्री हाइड्रोपावर प्रालिले जारी गरेको सिटिजन बैंक कमलादी शाखाको सो चेक सुब्बा तामाङको नाउँमा रहेको छ ।
चेक फेला परेपछि साहले तत्काल आन्दोलनरत सदभावना महासचिव मनीष सुमनलाई जानकारी गराएर माइकिङमार्फत चेक लिन सार्वजनिक आव्हान गर्न लगाएका थिए । माइकिङपछि तत्काल चेक लिन आएका हाइड्रोपावर प्रालिका कर्मचारी टेकनाथ ढकालसँग कम्पनीको समेत परिचयपत्र नरहेपछि सम्बन्धित व्यक्तिलाई नै दिने गरी आन्दोलनकारीहरुलाई घेरा हालेर बसेका प्रहरीलाई जिम्मा लगाइएको थियो ।सो चेक बानेश्वर प्रहरी बृत्तका ईन्चार्ज प्रहरी नायब उपरीक्षक नारायण चिमौरियालाई सदभावना महासचिव मनीष सुमनले जिम्मा लगाएका छन् ।
चेक फेला पारेका आइटी प्रोफेसनल कम्प्युटर ईन्जिनीयर साहले नन एकाउण्टपेयी सो चेक संयोगले आफ्नो हातमा परेको र त्यसलाई सम्बन्धित व्यक्ति चिन्तित भइरहेको अनुमान गर्दै आफूले आन्दोलनकारीमार्फत तत्काल खोजीनीति गर्न लगाएको बताए । उनले चेक लिन आएका व्यक्तिको आधिकारिकता प्रमाणित नभएपछि चेक जारी भएको नाउँका व्यक्तिलाई नै दिने गरी प्रहरीलाई नै जिम्मा लगाएको जानकारी दिए । स्रोत :सञ्चारक