निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो– चुनावको लागि पहिले मिति र नीति तय गर्नुहोस्
Advertise Here Book Now

तयारीमा जुट्नुहोस्, सरकारले सबै सहयोग दिन्छ : प्रधानमन्त्री
ऑनलाइन सिरहा डटकम असार १३ । निर्वाचन आयोगले स्थानीय, प्रादेशिक र संसदको चुनाव गराउने हो भने सबैभन्दा पहिला मिति र नीति स्पष्ट हुनुपर्ने शर्त सरकारसमक्ष प्रस्तुत गरेको छ । चुनावको सम्भावित तयारी, निर्वाचन आयोगको अहिलेको अवस्था र स्रोत साधन एवं व्यवस्थापकीय पक्ष लगायतका विषयमा जानकारी लिन आयोग कार्यालय पुगेका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्ति बस्नेत, कानुनमन्त्री अग्नि खरेल र मुख्यसचिव सोमलाल सुवेदीसमक्ष आयोगले उक्त शर्त तेस्र्याएको हो । सरकारले आउँदो मंसिरमा स्थानीय निकायको चुनाव हुनुपर्ने कुरा गरिरहेको छ,’ कायममुकायम प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकान्तरसँग भने, ‘चुनाव गराउन आयोग सधैं तयार नै छ तर मुख्य कुरा स्थानीय निकायको निर्वाचनको मिति र सरकार एवं दलहरूबीच चुनावी मुद्दाको नीतिमा सहमति हुनप-यो भन्ने कुरा हामीले राखेका छौं ।’ निर्वाचनका लागि आवश्यक कानून छिटो पास गर्न, चुनावका बारेमा राजनीतिक दलहरूबीच सहमति कायम गर्न र आवश्यक स्रोत एवं साधन उपलब्ध गराइदिन आयोगले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । ‘निर्वाचनका लागि आवश्यक सबै सहयोग गर्न सरकार तयार रहेको विषयमा प्रधानमन्त्रीले आश्वस्त पार्नुभएको छ,’ यादवले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘तपाईंहरू आवश्यक तयारीमा जुट्नुहोस्, सरकार सबै किसिमको सहयोग उपलब्ध गराउन तयार छ’ । आयोगले चुनावका लागि आवश्यक कानूनको मस्यौदा तयार गरेर गृह मन्त्रालयमा पठाइसकेको छ । आयोगबाट गएका ती कानुनी मस्यौदामा राजनीतिक सहमति जुटाई छिटो पास गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले आउँदो मंसिरमा स्थानीय निकायको, आउँदो वैशाख या जेठमा प्रादेशिक र अर्को वर्षको मंसिरमा संसदको निर्वाचन गराउने कार्ययोजना यसअघि सार्वजनिक गरिसकेको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्